लेखा समितिको सभापतिमा एमालेको दाबी

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा दाबी गरेको छ ।

लेखा समितिको आइतबारको बैठकमा एमाले सांसद गोकुल बास्कोटाले संसदीय परम्परा अभ्यासले लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताउनुभयो ।

हाल लेखा समितिको सभापति नेपाली कांग्रेसका भरत शाह हुनुहुन्छ । नेकपा सत्तामा भएका बेला विपक्षले सभापति पाएको हो । वर्तमान सत्तारुढ गठबन्धनले लामो समयसम्म पनि लेखा समिति विपक्षका लागि नछाडेको भन्दै बास्कोटाले साहलाई मार्ग प्रशस्त गर्न सुझाउनुभयो ।

बास्कोटा भन्नुहुन्छ, ‘लोकतन्त्रको राम्रो पक्ष भनेकै लेखा समिति विपक्षलाई दिने हो । नेकपा एमाले सत्तामा भएको बेला सधैँ विपक्षलाई दिइरहेकै हो । त्यसैले नैतिकताको आधारले पनि सत्तापक्षले लेखा समितिको सभापति छाड्नुपर्छ ।’

नेपालको इतिहासलाई हेर्ने हो भने माओवादीका जनार्दन शर्मा मतदानबाट सत्तापक्षकै तर्फबाट लेखा समितिको सभापति हुनुभएको बाहेक सधैँ विपक्षीले पाएको उदाहरण समेत बास्कोटाले पेस गर्नुभयो । त्यसबेला विपक्षी एमालेका पशुपति चौलागाई शर्मासँग पराजित हुनुभएको थियो ।

बास्कोटाको कुरालाई सहमत जनाउनुहुँदै एमालेकै अर्का सांसद राजेन्द्र गौतमले पनि समर्थन जनाउनुभपछि सभापति साहले आफूले राजीनामा दिन नमिल्ने भन्नुहुँदै आफ्नो हातमा नरहेको जवाफ दिनुभएको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ४ : ४० बजे