प्रचण्डले एमालेसँग निहुँ नखोज्नु : महेश बस्नेत

​​​​​​​भक्तपुर – नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री,सांसद एवं राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एमालेसँग निहुँ नखोज्न चेतावनी दिनु भएको छ ।

विजया दशमी, दिपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा राष्ट्रिय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीले आज भक्तपुरमा  आयोजना गरेको शुभकामना, चियापान तथा साँस्कृतिक कार्यक्रममा बोल्दै उहाँले यस्तो चेतावनी दिनु भएको हो । हिजो भक्तपुरमा आयोजित एक कार्यक्रममा नेता बस्नेतको विरुद्ध अध्यक्ष प्रचण्डले संशोधनवादी तथा डनवादी भन्दै देशैभरबाट लखेट्नुपर्ने र त्यसको शुरुवात भक्तपुरबाट गर्नुपर्ने भन्दै अभिव्यक्ति दिनुभएको सोही अभिव्यक्तिलाई काउण्टर जवाफ दिँदै नेता बस्नेतले यस्तो चेतावनी दिनु भएको हो ।

युवा संघका कार्यकर्तालाई इशारा मात्रै गरे पनि गाउँगाउँबाट उनीहरुलाई लखेट्ने सकिन्छ तर एमाले लोकतन्त्रमा विश्वास गर्ने भएकोले त्यस्तो इशारा दिएका छैनौँ भन्दै नेता बस्नेतले भन्नुभयो, “प्रचण्डको ज्यादती बिरुद्ध लड्ने व्यक्ति महेश बस्नेत हो, कस्ता कस्ता कहाँ गए, मुसाको छोरा दरबार । बिचरा प्रचण्ड र तिनको सुन्ड, मुसुंडले मलाई लखेट्ने रे, प्रचण्डले इतिहास फर्केर हेरे हुन्छ, ठाउँ ठाउँमा युथ फोर्सले, युवा संघले लखेटेको सम्झे हुन्छ, फेरी पनि धेरै निहुँ खोजे भक्तपुर छिर्न त के मनोहरा फाँटबाटै लखेट्न नपरोस् ।”

जनयुद्धका नाममा हत्या, हिंसा, धम्की, अपहरण, लुटतन्त्र मच्चाएर देश कब्जा गर्न गठन गरेको वाईसिएससँग पहिलो पटक प्रतिवाद गर्ने तत्कालिन युथ फोर्स र महेश बस्नेत हो भन्दै पूर्वमन्त्री एवं प्रतिनिधिसभा सांसद बस्नेतले प्रचण्डतर्फ संकेत गर्दै भन्नुभयो, “इतिहास नकोट्याउनुस्, तपाईका सुन्ड, मुसुंडलाई बनेपाबाट टुपी ठाडो पारेर भगाएको बिर्सनु भयो, राजन दाहाललाई तह लगाउने यहीँ युवा संघ, हो, युथ फोर्स हो, रातोमाटेबाट लखेटेको बिर्सनु भो, रामेछापमा भीरबाट ढुङ गुडाएर तामाकोशी खसालेर हत्या गर्न खोज्न काठमाडौँबाट युथ फोर्स गएर तह लगाएको बिर्सनु भो, इतिहास हेर्नुहोस्, हामीले लखेटेका दिन सम्झनुहोस् ।”

एमालेमा आएको जनताको लहर देखेर तिरमिराएको प्रचण्डले अहिले केपी ओली र महेश बस्नेतलाई गाली गर्न बाहेक केही नजाने भन्दै उहाँले परिवार, छोरी, ज्वाई र आफन्तको फाइदा मात्रै हेर्ने प्रचण्डले शहिद, घाइते परिवारलाई धोका दिएर बनाएको साम्राज्य जनताले नै ध्वस्त पार्ने टिप्पणी गर्नुभयो ।

एमालेमा आएको जनलहरलाई हेर्न आग्रह गर्दै नेता बस्नेतले भन्नुभयो, “भक्तपुरमा मात्रै होइन, जिल्ला जिल्लामा, तराईमा हजारौ जनताको एमालेप्रतिको लहर मेरो फेसबुकमा गएर हेर्नुस्, अबको चुनावमा पनि भक्तपुरमा प्रचण्डको पार्टी शून्यमा झर्छ, यहाँका ३८ वटा वडामै माओवादीको जमानत जफत गराइदिन्छौँ ।”

भक्तपुरमा अहिले एमाले पहिलो पार्टी हो भन्दै उहाँले अब पनि एमालेनै पहिलो पार्टी बन्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “बिरालो र बाघ हेर्दा उस्तै देखिन्छ, तर बिरालोले म पनि बाघ जस्तै छु, भन्ने ठानेर बाघसँग जोरी खोज्यो भने, बाघको एकै झप्पुले उठ्नै नसक्ने गरि बिरोलो पछारिन्छ, एमाले बाघ हो, बिरालोले जोरी नखोजेकै राम्रो ।”

भक्तपुरमा पाँच गठबन्धन बनाएर प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउवा जो आएर लडेँ पनि एमालेलाई फरक नपर्ने भन्दै उहाँले कहिले एमालेलाई सिध्याउन सकिएन, कहिले अब त मरौँ मरौँ लाग्यो भन्ने, कहिले पाटी नै खारेज गरौँ जस्तो लाग्यो भन्ने प्रचण्डका अहिलेका हर्कतले लगनखेलको मानसिक अस्पतालमा भर्ना गर्ने दिन आउने उहाँले टिप्पणी गर्नुभयो ।

जनादेशको आँडमा बनेको वर्तमान् सरकार कति दिन टिक्छ, कति महिना टिक्छ, चार महिना ? भन्दै नेता बस्नेतले भन्नुभयो, “त्यसपछि फेरी पनि एमालेनै आउँछ, एमालेको जनलहर देखेर प्रचण्ड तिरमिराएका छन्, बिचलित भएका छन्, उनलाई कि आश्रम, कि जेल पठाउने र केपी ओली फेरी सिंहदरबार पस्ने दिन आउँछ ।”

भक्तपुरको विगत तीन वर्षको समय विकासमा स्वर्ण युग भएको भन्दै उहाँले भन्नुभयो, “भक्तपुरले कयौँ वर्ष विकास पाएन, विकास गर्ने नेतानै पाएन, मन्त्री बन्ने नेतानै पाएन, पाए पनि विकास नगर्ने र कहिले मन्त्री पनि नखाने नेता पायो, तर अहिले तीन वर्ष भक्तपुरको लागि स्वर्ण युग हो, इतिहासमै नभएको विकास अहिले भक्तपुरले पायो ।”

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय अध्यक्ष किरण पौडेलले देशमा भइरहेको षडयन्त्रका बिरुद्ध युवा संघ चनाखो हुनु पर्नेमा जोड दिदै शुभकामना व्यक्त गर्नुभयो । राष्ट्रिय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीका अध्यक्ष पुष्पराज बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिभिन्न कलाकारहरुले गीत गाउँनुका साथै नृत्य प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  १० : ४५ बजे