८८ दिनपछि मन्त्रिपरिषद्ले पायो पूर्णता, को कुन मन्त्री (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ८८औँ दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्।

देउवाले आज मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाएका छन्। देउवाको सचिवालयका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गजेन्द्र हमाललाई दिइएको छ।

यस्तै देउवाले स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीकै रुपमा तानेका छन्। देउवाले कांग्रेसबाट हाल कानुनमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि, दिलेन्द्र बडुलाई कानुन न्याय तथा संसदीय मामिला, उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, मिनेन्द्र रिजाललाई रक्षा, उमाकान्त चौधरीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन्।

कांग्रेसबाट यसअघि बालकृष्ण खाण गृह, नारायण खड्का परराष्ट्र मन्त्री भइसकेका छन्। त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)बाट रेणु यादव भौतिक पुर्वाधार तथा यातायात मन्त्री, राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, रामसहाय यादव वन तथा वातावरण मन्त्री र प्रमोद साह कृषि तथा पशुपन्छी विकास मन्त्री नियुक्त भएका छन्।

नेकपा एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा विरोध खतिवडाले पाएका छन्। स्वास्थ्य राज्यमन्त्रीमा समाजवादीकै भवानीप्रसाद खापुङ नियुक्त भएका छन्। प्रेम आले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री, कृष्णकुमार श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, रामकुमार झाँक्री सहरी विकास मन्त्री बनेका छन्।

त्यस्तै माओवादीबाट देवेन्द्र पौडेललाई शिक्षा विज्ञान तथा प्रविधि, शशी श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महेश्वर गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन्। माओवादीबाट यसअघि अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुषाल छन्। देउवाले ५ बजे मन्त्रीलाई शपथ खुवाउने कार्यक्रम तय गरेको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ३ : ३९ बजे