बडा दसैँ : मातृशक्तिको सम्मान र नेपाली मौलिकताको चाड ! 

आज अर्थात् असोज शुक्ल पक्षको प्रतिपदादेखि नवदुर्गा सुरु भयो । यसलाई नवरथा, नवरात्रि—नवरात्र पनि भनिन्छ । आजदेखि दसैँ मान्ने नेपालीका घर घरमा घटस्थापना गरिन्छ । दसैँको टिकाको दिन(दशमी) का दिन माता दुर्गाको प्रसाद स्वरूप अक्षतासँग लगाइने जमरा राख्ने दिन पनि आजै हो । यद्यपि, जमरामा गहुँ, जौ, मकै आदि मिसाइएको हुन्छ तथापि यसलाई संस्कृत भाषामा यवाङ्कुर भनिन्छ । ‘यव’ भनेको जौ र ‘अङ्कुर’ भनेको टुसा वा आँकुरा हो । यसरी ‘यवाङ्कुर’ शब्द बनेको छ । यही ‘यवाङ्कुर’ शब्दको अपभ्रंश जमरा हो भन्ने भनाइ पनि रहेको छ । ‘यवाङ्कुर’ औषधि हो । यो एउटा कृषि बालीको स्वरूप हो ।  

यहाँ ‘नव’ र ‘दुर्गा’ शब्दको संयोजन पनि अत्यन्त महत्वपूर्ण रहेको छ । ‘नव’ भनेको नौ हो र नयाँ पनि हो । मानिसको शरीरमा नौ वटा प्वाल हुन्छ । यसलाई नवरन्ध्र भनिन्छ । बाँसुरीका नौवटा प्वाल पनि यसैका आधाररमा बनाइएको भनिन्छ । भक्तिका प्रकार पनि नौ नै मानिन्छ । मानिसको जीवनमा साह्रै ठूलो प्रभाव पार्ने भावरस शृङ्गार, वीर, करुण, अद्भुत, हास्य, बीभत्स, भयानक, रौद्र, शान्त गरी नौ वटा नै हुन्छ । यो ‘नव’ शब्दले मानिसको जीवनमा सुख होस् वा दुःख, नयाँ नयाँ रूपमा प्रकट हुन्छन्, मानिसले सफलताका लागि गर्नुपर्ने संघर्ष पनि नयाँ नयाँ नै हुन्छ भन्ने आसय वहन गरेको छ । 

‘दुर्ग’ भनेको किल्ला हो । शब्दको अर्थका हिसाबले दुःखपूर्वक पुग्न सकिने ठाउँलाई ‘दुर्ग’ भनिन्छ । यो युद्ध विज्ञान अनुसार सत्रुबाट सुरक्षित रहन बनाइएको स्थान हो । जीवन संघर्षमा सफलता प्राप्त अत्यन्त कठिन छ । जस्तोसुकै उपलब्धि वा सफलताका लागि मानिसले दुःख गर्नैपर्ने हुन्छ । असफलताबाट जोगिन विभिन्न सुरक्षित बिसौनीहरूमा सुरक्षित हुनुपर्दछ भन्ने आसय यस ‘दुर्ग’ शब्दले वहन गरेको देखिन्छ । 

कुनै पनि शब्दको अर्थ सधैभरि एकनासको हुँदैन । शब्दको अर्थ फरक फरक अवस्थामा फरक फरक लाग्दछ । यसका अनेकौँ उदाहरण छन् । अहिलेका युद्धमा सुरक्षित ‘दुर्ग’ सुरुङ् आदिका रूपमा प्रयुक्त भए पनि प्राचीन कालमा अग्लो—उच्च स्थानमा हुने गरेको देखिन्छ । यहाँ माता विशेषलाई दुर्गा भनिएको सन्दर्भको खास अर्थ छ । दुर्गा भनेको दुर्गमा बस्ने नारी भनिएको हो । आमाहरूले सन्तानको सुरक्षा, पालन—पोषण आदिका लागि असाध्यै धेरैथरि, नयाँ नयाँ संघर्ष गरेको, कष्टसाध्य काम गरेको, संघर्षमा सुरक्षित रहन अनेकौँ कठिनतम उपायहरू अपनाएको पुष्टि हुन्छ । 

यसरी नवदुर्गा, नवरात्र, नवरथा बहुअर्थी शब्द र बहुआयामिक सन्दर्भको पर्व हो । नौ भनेको अंकका हिसाबले सबैभन्दा ठूलो अंक पनि हो । यस अर्थमा पनि नवदुर्गाको विशेष अर्थ र महत्व रहेको बुझ्न सकिन्छ । 

शास्त्रमा वर्णित नवदुर्गा यी हुन् — 
‘प्रथमं शैलपुत्री च द्वितीयं व्रह्मचारिणी । तृतीयं चन्द्रघण्टेति कुष्माण्डेति चतुर्थकम् । पञ्चमं स्कन्दमाते तु षष्ठं कात्यायिनीति च । सप्तमं कालरात्रीति महागौरीति चाष्टकम् । नवमं सिद्धिदात्री च नवदुर्गा प्रकीर्तिता अर्थात् पहिलो शैलपुत्री, दोस्रो व्रह्मचारिणी, तेस्रो चन्द्रघण्टा, चौथो कुष्माण्डा, पाँचौँ स्कन्दमाता, छैठौँ कात्यायनी, सातौँ कालरात्रि, आठौँ महागौरी, नवौँ सिद्धिदात्री हुन् । यिनै नवदुर्गाको नामले प्रसिद्ध छन् ।’ यी नौवटी दुर्गा र  यिनका नाम देवीका नाम मात्र होइनन्, यी जीवनमा हामी सबैका लागि काम लाग्ने गुणविशेषता पनि हुन्, अर्थात् यी माताहरू र यिनका नाम फरक फरक गुणयुक्त छन् । 

आजकै दिनदेखि दसैँ सुरु भयो । दसैँ नेपालीहरूको निकै ठूलो चाड हो । परम्परादेखि नै यसलाई पाली समाजले निकै ठूलो महत्व दिँदैआएको देखिन्छ । टाढा टाढा रहेका जेष्ठ श्रेष्ठ जनलाई भेटेर वहाँहरूबाट देवीको प्रसाद स्वरूप टिका—जमरा थाप्ने र आशीष लिने यस चाडलाई निकै रमाइलो गरी मनाउने गरिन्छ । योे चाड धार्मिक, आध्यात्मिक र सांस्कृतिक दृष्टिले पनि साह्रै महत्वको चाड हो । यसलाई हाम्रो तराई—मधेसतिर दसहरा भन्ने गरिन्छ । यसले दिने अनेकौँ शिक्षा, ज्ञान र प्रेरणाले दसैँलाई महत्वपूर्ण बनाएको हो । 

हाम्रो चलन चल्तीमा दसैँ असोज शुक्ल पक्षको प्रतिपदादेखि प्रारम्भ हुन्छ । यसमा घटस्थापना गरी जमरा राखी नवदुर्गा स्थापना गरी यसको सुरुआत गरिन्छ । नेपालको कतिपय क्षेत्रमा असोज शुक्ल पूर्णिमासम्म पन्ध्र दिनसम्म मनाउने गरिन्छ । टाढा टाढादेखि मान्यजनका हातको टिका जमरा र अशिर्वाद थाप्न पुग्न समय लाग्ने भएको हुनाले पूर्णिमासम्म दसैँको विस्तार भएको हुन सक्दछ । 

यस पर्वलाई धार्मिक दृष्टिले हिन्दुहरूको पर्व मानिन्छ । तर, नेपालीहरूले मान्ने दसैँ र अन्यत्रका—गैरनेपालीले मान्ने दसैँमा ठूलो भिन्नता रहेको हुन्छ । यसको ऐतिहासिकतामा पनि ध्यान दिने हो भने नेपालबाहिर (खासगरी भारत)का हिन्दुहरूले यसलाई विजया दशमी भनेर मनाउने गर्दछन् । यो प्रसङ्ग अयोध्याका राजा मर्यादा पुरुषोत्तम रामले लङ्काका राजा  महाप्रतापी, महाविद्वान् रावणको वध गरी लङ्कामाथि विजय प्राप्त गरेको अवसरका रूपमा मनाइने गरेको देखिन्छ । 

यथार्थमा, यो पर्व युग गणनाका हिसाबले राम—रावण युद्धको त्रेता युगभन्दा पहिलेको सत्य युगको सन्दर्भ हो । विजया दशमीभन्दा हाम्रो नवदुर्गा पूजा गरेर मनाउने दसैँ पुरानो हो । बडा दसैँले नेपाली मौलिकतासँगै ऐतिहासिक उच्चता पाउनुको अर्को सन्दर्भ हो, मातृशक्तिको महत्व । नवरात्र, नवदुर्गा, नवरथाले आमाको पराक्रम, विश्वास र विजयको गाथा बोकेको छ भने विजया दशमीले रामको (पुरुष) पराक्रमको कथा बोकेको छ । मानव समाजको इतिहास अध्ययन गर्दा पाइने तथ्य पनि पुरुषप्रधानताको सामन्ती राजा—महाराजको युगभन्दा मातृसत्तात्मक समाज पहिलो हो । यो सन्दर्भ विजया दशमीले नभई बडा दसैँले वहन गर्दछ । 

के छ त भिन्नता ?
सबै हिन्दुहरूले नवदुर्गा स्थापना गर्ने गर्दछन्, तर सबैले जमरा राख्दैनन् । देवीको प्रसाद सबैले लगाउँछन्, तर सबैले निधारभरि अक्षता लगाउँदैनन् । मन्दिरका पुजारी—पण्डितको हातबाट टिका लगउने र आशिर्वाद लिने चलन अन्यत्र पनि हुन्छ, तर परिवारका ठूला—बडाको हातबाट टिका थाप्ने र आशिर्वाद लिने काम नेपालीले मात्र गर्दछन् । मनाउने विषयमा भिन्नता हुनु भनेको नेपाली मौलिकता हो । यसलाई हिन्दुहरूको भनेर पुग्दैन, दसैँ नेपाली विशेषताको पर्व हो, जसलाई हामीहरू दस दिनसम्म मनाउने गर्दछौँ । 

शास्त्रका जानकारहरूका अनुसार गुप्त र खुला गरी चारवटा नवरात्र हुन्छन् । साउन र पुसका नवरात्र गुप्त मानिन्छन् भने चैत र शरद (असोज)को खुला मानिन्छ । यी सबैमध्ये यो शारदीय(शरद ऋतुको) नवरात्रलाई हामी दसैँ—बडा दसैँ भनेर मनाउँछौँ । चैतमा ‘चैतेदसैँ’ मनाइए पनि अन्यको विषयमा खासै थाहा हुँदैन । यी ४ वटामध्ये ठूलो भएको हुनाले, नौ दिनसम्म मनाइने भएको हुनाले, कृषि प्रधान क्षेत्र भएकोले कृषिजन्य विशेषता हुने भएको आदि कारणले यो असोजको शुक्ल पक्षको दसैँलाई ‘बडा दसैँ’ (ठूलो दसैँ) भनिएको हो ।

दसैँ सुरु भएपछि गाउँभरिका मानिसहरू मिलेर घरनजिकको बाटो सफा गर्ने चलन हो । ठाउँ ठाउँमा लिँगेपिङ्, चर्खेपिङ् बनाउने चलन हो । कोट र नजिकका देवीका मन्दिरहरूको सरसफाइ, लिपपोत गर्ने र सामुहिक पूजा स्थलका रूपमा नवदुर्गाको पूजा गर्ने व्यवस्था गरिने हो । आफ्ना घरहरू पनि सेतो, रातो र कालो माटोले मिलाएर लिप्ने चलन हो । नेपाली समाज मांसाहारीको संख्या बढी भएको समाज हो । यस कारण खसी, बोका, च्याङ्ग्रा, राँगा, हाँस, कुखुरा आदिको जोहो गर्ने चलन हो । सकेसम्म नयाँ लुगा लाउने चलन हो । 

ध्यान दिनैपर्ने पक्ष के हो भने पाखण्ड र अन्धविश्वासले संस्कृति धमिलिन्छ । यथार्थता र सत्यबोधले संस्कृति समुन्नत हुँदै जान्छ । यो क्रम चलिरहेको छ, चलिरहन्छ । विशेषतः यो क्रम चाडपर्वमा बढी मुखरित हुन्छ । सबैभन्दा बढी अन्धविश्वास चाडपर्वमा देखिन्छ र सबैभन्दा सत्यबोधको अवसर पनि चाडपर्व नै हो ।

यो पर्व पारम्परिक हो, सांस्कृतिक हो, धार्मिक हो, पारिवारिक हो । अहिले विस्तारै दसैँमा त्यो आत्मीयता घट्दो छ । त्यो मान—सम्मान र मान्यता घट्दो छ । त्यो दायित्वबोध र विश्वास घट्दो छ । यो घट्ने विषयलाई कसै—कसैले आधुनिकता आदि भन्दछन्, विकास मान्दछन् । तर कुनै आधुनिकताले, विकासले संस्कृतिलाई कमजोर पार्न नहुने हो । संस्कृतिले उच्च विकल्प स्थापित गर्नुृपर्ने हो । यसो नहुनुलाई हामीले आधुनिकता र विकास भन्यौ भने हामीले आधुनिकता र विकासबारे बुभm्न बाँकी रहेछ, संस्कृतिको महत्व नबुझिएको रहेछ, संस्कृति निर्माण र विकासबारे पुस्ता साह्रै कमजोर रहेछ भनेर बुझ्नपर्छ । नेपाली संस्कृतिको सार नबुझी दसैँ बुझिन्न, दसैँ नबुझी संस्कृतिको सार बुझिन्न । 

‘…संस्कृति छन् विशाल…’ भनेर राष्ट्रगान गाउनेहरू सबैले नेपाली संस्कृतिको वैशिष्ट्यको रूपमा मनाइँदै आएको दसैँको सांस्कृतिक सार ठम्याउनै पर्छ । नेपाली संस्कृतिका विशाल पक्ष के के हुन् ? यसको जवाफ भेट्टाउन कम्तीमा दसैँ बुझनुनैपर्छ । 

दसैँ युद्धसँग जोडिएको छ, शान्ति र प्रतिबद्धतासँग जोडिएको छ । यो त्याग र समर्पणसँग जोडिएको छ । यो स्वास्थ्यसँग जोडिएको छ । यो कृषिसँग जोडिएको छ । अहिले त यसको जोडाइ देशको अर्थतन्त्रसँग छ । सबैभन्दा बढी व्यापार हुने, यातायातका साधनको सदुपयोग हुने हुनाले यो अर्थतन्त्रको महत्वपूर्ण पक्षका रूपमा रहेको छ ।

वास्तवमा दसैँ हिन्दु धार्मिक समुदायले मान्ने भएकोले ‘हिन्दुहरूको’ भनिएको भए तापनि यो नेपाली विशेषताको चाड हो । सबैभन्दा धेरै हिन्दु त भारतमा छन्, तर नेपालमा जसरी भारतमा दसैँ मनाइँदैन । यस्ता अनेकौँ विशेषताको बडा दसैँ पर्व समानता, सद्भाव, सम्मान र सकारात्मक सोचका साथ मनाऔँ । यसलाई अझ बढी न्यायिक र सबैका लागि सहज हुने गरी मनाउन ध्यान दिऔँ । 

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ११ : ०५ बजे