एनपीएलको ट्रफी सार्वजनिक

कोशी कोरिडोर विद्युत प्रसारणलाइन सम्पन्न, २ हजार मेगावाट विजुलीको सहज वितरण हुने

काठमाडौं । २२० केभी डबल सर्किट क्षमताको कोशी कोरिडोर विद्युत प्रसारणलाइन (इनर्वा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार) को निर्माण सम्पन्न भएको छ । धनकुटाको हिलेमा बुधबार एक समारोहको आयोजना गरेर नेपाल विद्युत प्राधिकरणलाई उक्त विद्युत प्रसारणलाइन हस्तान्तरण गरिएको छ ।

१०६ किमि लामो कोशी कोरिडोर विद्युत प्रसारणलाइन १०.४ अर्ब रुपैयाँ (८६.८ मिलियन अमेरिकी डलर) लागतमा निर्माण भएको हो । भारत सरकारले नेपाललाई एक्जिम बैंकमार्फत उपलब्ध गराएको ५५० मिलियन अमेरिकी डलर ऋण सहयोगअन्तर्गत प्रसारण लाइनको निर्माण भइरहेको छ ।

भारतको कलपत्रु पावर ट्रन्समिसन लिमिटेडले नेरु ४.५ अर्ब (३७.३ मिलियन अमेरिकी डलर) लागतमा परियोजनाको पहिलो प्याकेजको निर्माणको जिम्मा लिएकोमा उक्त प्याकेजको सफलतापूर्वक निर्माण सम्पन्न भई प्राधिकरणलाई हस्तान्तरण गरिएको हो । बाँकी दुईवटा प्याकेजको निर्माण सम्पन्न भएपछि सिंगो परियोजनाले अरुण र तमोर नदीका जलविद्युत परियोजनाबाट उत्पादन हुने करिब २ हजार मेगावाट विजुलीको सहज वितरणलाई सुनिश्चित गर्नेछ ।

कलपत्रु पावर ट्रन्समिसन लिमिटेड र भारतको एक्जिम बैंकले भारतीय दूतावासका नियोग–उपप्रमुख नामग्य खम्पाको उपस्थितिमा प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सो परियोजना हस्तान्तरण गरेको छ । खम्पाले नेपालमा विद्युत परियोजनाको विकास गर्न, नेपालभित्र र दुई देशबीच विद्युत प्रसारणलाइनको निर्माण गर्न र दुई देशबीच विद्युत व्यापार विस्तार गर्न भारत प्रतिबद्ध रहेको बताइन् ।

समारोहमा धनकुटा र हिले प्रशासनका प्रतिनिधि, कलपत्रु पावर ट्रन्समिसन लिमिटेडका अधिकारीका साथै स्थानीय समुदायका प्रतिनिधिको उपस्थिति थियो ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ६ : ०५ बजे