प्रदेश २ का मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेसशभामा आज विश्वासको मत लिनुहुने भएको छ । 

मुख्यमन्त्री राउतले प्रमुख सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) विभाजन भएका कारण संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिन लाग्नुभएको हो  ।

संविधानको धारा १८८ को उपधारा २ अनुसार दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

मुख्यमन्त्री राउतले दल विभाजन भएको महिना दिनपछि बित्दा पनि विश्वासको मत नलिएको भन्दै विरोध हुँदै आएको थियो। 

प्रदेश सरकारको सिफारिसमा झण्डै दुई महिनापछि आज विहान ११ बजेका लागि प्रदेशसभा बैठक डाकिएको छ ।  उक्त बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिने प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिनुभयो ।

प्रदेशसभामा जसपाका ३९, कांग्रेसका १९, एकीकृत समाजवादीका १३, माओवादी केन्द्रका आठ र रिजवान अन्सारी नेतृत्वको नेपाल सङ्घीय समाजवादी पार्टीका एक गरी जम्मा ८० सदस्यको मुख्यमन्त्री राउतलाई समर्थन रहने बताइएको छ  । लोसपा र नेकपा (एमाले) प्रदेश सरकारको विपक्ष रहेका छन् ।

 

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ८ : ३८ बजे