आवश्यकता महिला उद्यमशीलताको

उद्यमशीलता वस्तु तथा सेवाको उतपादन तथा वितरण गरेर मुनाफा आर्जन गर्ने र त्यसलाई कायम राख्न व्यक्तिगत र समूहगतरुपमा गरिने उद्देश्यमूलक क्रियाकलाप हो ।दूरदृष्टि, अभियान, परिवर्तन र सिर्जनाको एउटा गतिशील प्रक्रिया हो । प्रगति र समृद्धिको माध्यम हो । देशको आर्थिक विकास, रोजगारी सिर्जना र गरिबी उन्मूलनमा उद्यमशीलताको महत्वपूर्ण भूमिका हुन्छ । व्यवसायको सिर्जना वा नवप्रवत्र्तन गर्ने, त्यसैमा अहोरात्र खट्ने, जोखिम वहन गरेर प्रतिफल प्राप्त गर्ने जस्ता कुरा उद्यमशीलता विकासका आधारभूत पक्षहरु हुन् । अभ्यास र अनुभव मार्फत सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने काम नै उद्यमशीलता हो ।  

कुनैपनि देशको आर्थिक विकास तथा सामाजिक प्रगतिमा महिलाको सक्रिय सहभागिता अनिवार्य हुन्छ । महिला समाजका आधा हिस्सा हुन् । उनीहरुलाई समान महत्व तथा अवसर प्राप्त भयो भने मात्र समाज, देश र समग्र विश्वको सर्वाङ्गिण विकास सम्भव हुन्छ । त्यसो गर्न उनीहरुलाई परिवार, समाज र सरकारबाट सहयोग, समर्थन, हौसला र प्रेरणा चाहिन्छ । 

के हो महिला उद्यमशीलता ?
भारतका भूतपूर्व प्रधानमन्त्री जवाहरलाल नेहरुले भनेका छन्–“जब महिला अघि बढ्छन्, परिवार अघि बढ्छ, गाउँ अघि बढ्छ र सारा देश अगाडि बढ्छ ।” अर्थात् विकास भूँइतहबाट हुँदै आउनुपर्छ ।
महिला उद्यमशीलता भनेको ती महिला तथा उनका क्रियाकलापहरु हुन्, जसले व्यक्तिगत आवश्यकता पूरा गर्न तथा आर्थिक रुपमा आत्मनिर्भर बन्नका लागि चुनौतिपूर्ण भूमिका स्वीकार गर्छन् । मुनाफा अर्थात् पुरस्कारको लागि जोखिम वहन गरेर नवप्रर्वत्तन तथा कुशल व्यवस्थापनद्वारा महिला तथा महिलाहरुको समूहद्वारा सिर्जना गरिने नयाँ व्यवसायलाई महिला उद्यमशीलता भनिन्छ । यो पूर्णत महिलाहरुको सहभागितामा आधारित हुन्छ । उद्यमशीलता महिला सशक्तिकरणको एउटा प्रमुख आयाम हो । महिला उद्यमशीलता देशको दिगो आर्थिक विकास तथा समृद्धिको प्रमुख आधार हो । उद्यमशीलताले महिलाको आर्थिक पहुँच सुनिश्चित गर्छ र  व्यवसायमा हुने लैंगिक विभेद हटाएर उनिहरुलाई आत्मनिर्भर बनाउँछ । 

विश्वभर महिला उद्यमीको संख्यामा उल्लेख्य वृद्धि हुदै गएको छ आजकाल । संयुक्त राज्य अमेरिकाको वाणिज्य विभागले सन् २०१०मा सार्बजनिक गरेको प्रतिवेदनले महिला उद्यमीहरुको संख्या पुरुषहरुको तुलनामा दोब्बर हिसाबले बढ्दै गरेको तथ्याङ्क प्रकाशित गरेको छ । उनिहरुले अमेरिकामा मात्र तीन खरब  (ट्रिलियन) भन्दा बढीको योगदान गरि करिब साढे दुई करोड व्यक्तिका लागि प्रत्यक्ष रोजगार सिर्जना गरेका छन् । हाम्रो जस्तै विकासोन्मुख देशहरुमा पनि उद्यमी महिलाहरुको संख्यामा उल्लेख्य वृद्धि हुदै गएको छ । कम्तिमा पनि एक करोड दर्ता भएका साना तथा मझौला उद्यमहरुका मालिक महिला छन् । बंगलादेशमा ७० प्रतिशत महिला उद्यमीले आफनै सिप र पौरखमा व्यवसाय सञ्चालन गर्ने गरेको तथ्य विश्वबैंकको प्रतिवेदनमा उल्लेख छ । त्यहाँ जम्मा ४४ प्रतिशत पुरुषहरु मात्र व्यवसायका मालिक छन् । 
कम्तिमा पनि ५१ प्रतिशत  लगानीमा आफनो स्वामित्वमा व्यवसाय वा उद्यम सञ्चालन गरि कम्तिमा ५१ प्रतिशत  महिलालाई रोजगार दिने गरी उद्यम/व्यवसाय सञ्चालन गरेका महिलालाई महिला उद्यमी भनिन्छ ।

कस्ता लाभ प्राप्त हुन्छन् महिला उद्यमशीता मार्फत ?
१. सहयोग–पारस्परिक सहयोग उद्यमशीलताको एउटा अनुपम लाभ हो । महिलाहरुले साथीहरुको साथमा मिलेर काम गर्न रुचाउँछन् । यसरी काम गर्दा असल सम्बन्ध बन्छ  । प्रभावकारी साझेदारी सिर्जना हुन्छ । 
२. कर्पाेरेट संस्कृति–महिला उद्यमीहरुले कम्पनी संस्कृतिमा रहेर काम गर्न रमाइलो मान्छन् । यसो गर्दा काम बोझिलो नभई आनन्दमा परिणत हुन्छ ।
३. अन्तज्र्ञान÷अन्तरदृष्टि–अन्तरमनबाट ज्ञान हासिल गर्ने अभूतपूर्व क्षमता अन्तज्र्ञान हो । महिलामा तुलनात्मक रुपले अन्तज्र्ञानको संवेग बढी हुन्छ । यस्तो गुणले उद्यमीलाई सफलताको शिखरमा पु¥याउँछ । 
४. दृढता–महिलामा दृढता अर्थात तप गुण धेरै हुन्छ । उनिहरु दिनभर काम गर्छन्, घर आउँछन् र घरायसी क्रियाकलापमा पनि उत्तिकै जिम्मेवारी निर्वाह गर्छन् । उच्च धैर्यता र आँटका साथ काम गर्छन् । देखेको सपना साकार पार्न दृढताका साथ काम गर्छन् । 

महिला उद्यमशीलताको विकासक्रम
सन् १९००–१९२९ सम्म युरोप र अमेरिकामा चलेको प्रगतिशीलवाद आन्दोलन, नारीवादी आन्दोलन, उपभोक्तावाद र आप्रवासन समस्यालाई महिला उद्यमशीलताको प्रस्थान बिन्दु मानिन्छ । उक्त समयमा महिला उद्यमको बजार महिला नै हुने गर्थे अर्थात् महिलाले महिलाका आवस्यकताका वस्तुमात्र उत्पादन गरेर विक्रिी वितरण गर्थे । यसपछी सन् १९४०–१९५९ सम्मको विश्वयुद्ध पछिको समयमा महिलाहरुको व्यवसायमा संलग्नतामा उल्लेख्य वृद्धि भएको ऐतिहासिक तथ्य पाईंन्छ । कारण थियो पुरुषहरु युद्धमा सहभागी हुनु । घर व्यवहार चलाउन वाध्यात्मक अवस्था सिर्जना भएपछि महिलाहरु आयआर्जनका कार्यमा सरिक हुन बाध्य हुनुपरेको थियो । त्यसपछी सन् १९६०–१९७०को दशकमा विश्वव्यापीरुपमा उठेको नागरिक आन्दोलन, महिला आन्दोलन र सशक्तीकरणको लहरले महिलाहरुमा थप चेतना विस्तार भयो । उनिहरुमा घरपरिवारको चौघेरा तोडेर स्वतन्त्र हुनुपर्छ र समानताको लागि आर्थिकरुपमा सवल हुनुपर्छ भन्ने उन्नत चेतना विकास भयो ।

सन् १९८० देखि १९९९ को समयमा महिला व्यवसायको स्वामित्व सम्बन्धी ऐन, ऋण पाउन श्रीमानको हस्ताक्षर/सहमति चाहिने व्यवस्थाको अन्त्य भयो । सन् २००० पछि आजसम्म अमेरिकामा ३० प्रतिशत भन्दा बढी महिला उद्यमीको संख्या पाईंन्छ ।  भारतमा करिब १० प्रतिशत महिला उद्यमी छन् भने  नेपालमा महिला उद्यमशीलताको अवस्था समय गतिशिल छ । विश्वव्यापी व्यवसायिक प्रभाव नेपालमा पर्नु स्वभाविक कुरा हो । व्यवसायिक वातावरण क्रमशः महिला मैत्री बन्दै गएको छ । महिलाले विभिन्न विषयमा उच्च शिक्षा हासिल गर्दै गएका छन् । प्राविधिक तथा पेशागत क्षेत्रमा तालिम लिएर दक्ष भएका छन् । आफनो पेशा छनोट गर्न सक्षम बन्दै गएका छन् । पुरुष सरह काम गर्न सक्ने स्थितिमा पुग्दै छन् । योे नेपाली महिला उद्यमशीलताको विकास हुदै गएको प्रष्ट संकेत हो । नेपालमा महिला उद्यमशीलताले विस्तारै गति लिदै गरेको अवस्था भएतापनि देशको आर्थिक विकास तथा गरिबी न्यूनीकरणमा महिला उद्यमशीलताको महत्वपूर्ण योगदान रहेको छ । महिला वास्तवमा विकासको विषय हुन् , वस्तु होइनन् । उनिहरु परिवर्तनका वाहक शक्ति हुन् । मात्र हितग्राही (वेलफेयर रिसिपियन्ट) होइनन् भन्ने मान्यता स्थापित हुदै गएको छ । परम्परागत महिला उद्यमशीलताको रुपमा ३ पी अर्थात् पिकल (अचार), पाउडर (मसला), पापड लाई लिने गरिन्छ । तर आजकाल यसको क्षेत्र निकै बिस्तार भैसकेको छ । वर्तमान महिला उद्यमशीलता ३ ई– ईञ्जिनियरिङ्ग, इलेक्ट्रोनिक्स र इनर्जी तर्फ अघि बढेको पाईंन्छ । 

महिलाको भूमिकालाई परम्परागत मान्यता अनुसार प्रजननमा मात्र सिमित गरिएको छ । अब उनिहरुलाई पनि उत्पादनमा जोड्नुपर्छ । आर्थिक विकासको मूलधारमा जबसम्म महिलाको सहभागिता हुन्न देशको विकास र समृद्धि सम्भव हुन्न भन्ने विश्वव्यापि मान्यतालाई हामीले पनि आत्मसात गर्नुपर्छ । उद्यमशीलता मार्फत महिलाहरु आर्थिक स्वतन्त्रता, आत्मविश्वास र केही नयाँ गर्ने सोंच/सिर्जनशीलता चाहन्छन् । त्यो कसरी प्राप्त गर्ने, एक्लै वा सहकार्य मार्फत…….? आफू स्वरोजगार हुँदै अरुलाई रोजगारका अवसरको सिर्जना गरेर व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा सन्तुलन कायम गरेर अगाडि बढ्नुपर्दछ । स्थानीय स्तरमा रहेका कच्चा पदार्थलाई स्रोतको रुपमा परिचालन गरेर अगाडि बढ्न सकिन्छ ।  

एउटा निकै पुरानो चिनियाँ उखान छ– ‘एउटा व्यक्तिलाई माछा समाएर दिइयो भने उसले एकदिन मात्र खान पाउँछ । तर माछा कसरी मार्ने भनेर सिकाइयो र बल्छी, प्रविधि र सीप सिकाइयो भने उसले जीवनभरी माछा खान पाउँछ ।’ तसर्थ अब हामिले महिलालाई पालनपोषण गर्नुपर्ने आर्थिक बोझको रुपमा मात्र बुझनु हुन्न । उद्यमशीलताको बाटोमा हौसला र प्रेरणा दिनुपर्छ । खास गरेर महिलाहरु दुई मुख्य कारणले उद्यमशीलतातर्फ  आकर्षित भएको पाईंन्छ । पहिलो हो पुल फ्याक्टर अर्थात्वा स्वतस्फूर्त रहर र आत्मनिर्भर÷स्वतन्त्र रहने चाहना । दोश्रो हो पुस स्वतस्फूर्त अर्थात् पारिवारिक र व्यक्तिगत बाध्यताहरु ।
नेपालमा महिला उद्यमशीलता प्रवद्र्धनको सन्दर्भमा थुप्रै समस्या र चुनौती विद्यमान छन् । पूँजीको पहुँच (अभाव), कच्चा पदार्थको अभाव, कडा प्रतिस्पर्धा, सिमित गतिशीलता (घर, परिवार, बालबच्चाको स्याहारमा व्यस्त हुनुपर्ने लैङ्गिक भूमिका), शिक्षामा कमी, पुरुष प्रधान समाज/मनोविज्ञान, जोखिम मोल्न सक्ने क्षमतामा कमी हुनु महिला उद्यमशीलता मुख्य बाधक हुन् । भने सम्भावना/अवसरको रुपमा निम्न क्षेत्र रहेका छन् । गार्मेण्ट र टेक्सटाइल, कस्मेटिक्स/ब्युटीपार्लर, सजावट, हस्तकला, ड्राइभिङ्ग, नर्सरी, ग्रामीण पर्यटन, शिक्षा र तालिम, मिनरल वाटर,फलफुल/तरकारी, हर्बल क्षेत्र, फोटोग्राफी/भिडियोग्राफी, प्लाष्टिकजन्य सामाग्री उत्पादन आदि नेपालमा सम्भव लघुउद्यमका क्षेत्रहरु हुन् । 

नेपालमा महिलालाई उद्यम र व्यवसायमा आकर्षित गर्न सरकारी तवरबाट थुपै्र नीतिगत र कानूनी व्यवस्था गरिएको छ । औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा २७ मा महिला उद्यमीका लागि विशेष व्यवस्था गरिएको छ । परिच्छेद ५ मा उद्योगि महिलाका लागि प्रदान गरिने  प्रोत्साहन, छुट, सोधभर्ना र सहुलियत सम्बन्धि व्यवस्था छ । राष्ट्र बैंकले हालसालै सार्बजनिक गरिएको यस आर्थिक बर्षको मौद्रिक नीतिमा पनि महिला उद्यमशीलतालाई प्रवद्र्धन गर्ने व्यवस्था गरिएको छ । थुप्रै यस्ता सहुलियत र छुटले महिला उद्यमशीलता प्रवद्र्धन गर्नका लागि नेपालमा विशेष अवसर र सम्भावना उजागर गरेका छन् । खाँचो मात्र अग्रसरताको छ । 

(लेखक : लुम्बिनी वाणिज्य क्याम्पसमा प्राध्यापन  गर्नुहुन्छ)

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  १० : ४५ बजे