अखिल क्रान्तिकारीको सम्मेलनमा कुर्सी हानाहान

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको जारी २२औँ राष्ट्रिय सम्मेलनमा विधानविपरीत सदस्य संख्या थप्न खोजेपछि नाराबाजी र कुर्सी हानाहान भएको छ।

बबरमहलस्थित कार्की पार्टी प्यालेसमा पदाधिकारी र केन्द्रीय कमिटीको नाम घोषणा गर्ने तयारी भए पनि विधानविपरीत सदस्य संख्या थप्न खोजिएको तथा किस्ताबन्दीमा पदाधिकारी चयन गर्न खोजेको भन्दै प्रतिनिधिले नाराबाजी र कुर्सी हानाहान गरेका हुन्। विरोध र नाराबाजीपछि अध्यक्षबाहेक केन्द्रीय कमिटी घोषणा हुन नसकेको विद्यार्थी नेताहरुले बताएका छन्।

निरन्तर नाराबाजीका कारण अध्यक्ष पञ्चा सिंहको नाममात्र घोषणा गरिएको उनीहरुको भनाइ छ । फ्याक्सन इन्चार्ज हितमान शाक्यले अध्यक्षको घोषणा गरेपछि अन्य पदाधिकारीमा सहमति जुटाएर घोषणा गर्ने बताएका थिए। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलमा क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहलाई बनाउने निर्णय भएको थियो। महासचिवमा दीपेश पुनको नाम घोषणा गर्न लाग्दा प्रतिनिधिहरुले त्यसमा पनि विरोध जनाएका थिए। पुन यसअघि उपाध्यक्ष रहेका थिए।

अखिल क्रान्तिकारीको विधानमा २५ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको विद्यार्थी नेताहरुले बताएका छन्। 

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ९ : ४६ बजे