अनेरास्ववियू क्रान्तिकारीको बन्दसत्रमा नाराबाजी र तोडफोड, पत्रकार माथि दुर्व्यवहार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको बन्दसत्रमा झडप भएको छ ।

माइतीघर स्थित कार्की बैंक्वेटमा अनेरास्ववियू क्रान्तिकारीको नयाँ नेतृत्व घोषणा गर्ने भनेर मिडियालाई साढे ३ बजे कार्की बैंक्वेटमा बोलाएको थियो । तर साँझ सात बजेसम्म नयाँ नेतृत्व घोषणा गर्न नसकेपछी हलभित्र विवाद,नाराबाजी र तोडफोड समेत भएको छ ।

प्रचण्डले अनेरास्ववियू क्रान्तिकारीको अध्यक्ष पद तोक्ने हो भने केन्द्रीय सदस्य पनि प्रचण्डबाट छानिनुपर्ने माग गरेका छन् ।  क्रान्तिकारीको अध्यक्ष पदमा पञ्चा सिंह र महासचिवमा दिपेश पुन चयन भएका छन् तर घोषणा भने अझै हुन सकेको छैन ।

प्रेसकर्मीमाथि दुव्यवहार

बन्दसत्रमा पञ्चा सिंहलाई अध्यक्ष  नमान्ने भन्दै विवाद भएपछि उक्त विवादको दृष्य प्रत्यक्ष प्रसारण गरिरहेका नेपालप्रेसका उमेश कार्कीको मोबाइल र क्यामेरा क्रान्तिकारी नेताले खोसेर फोटो तथा भिडियो डिलिट गरेका थिए ।

क्रान्तिकारी नेताले पत्रकार कार्कीको परिचयपत्रको फोटो समेत खिचेर समाचार प्रकाशन गरेमा जे पनि गर्ने धम्की समेत दिएका छन् । साँझसम्म पनि विवाद बढ्दै गएपछि बैठकमा कुर्सी हानाहान भएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ९ : ३५ बजे