भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

पार्टीभित्र कसैको पनि फरक मत छैन : उपमहासचिव पौडेल

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव विष्णु पौडेलले पार्टी भित्र फरक मत नरहेको बताउनुभएको छ ।

पार्टीका संगठन विभाग प्रमुख समेत रहनुभएका उपमहासचिव पौडेलले पार्टी विचार, संगठनसहित सबै हिसावले एकतावद्ध रहेको दावी गर्नुभयो । पार्टीको विधान महाधिवेशनमा पार्टी भित्र फरक मत कसैले पनि दर्ज नगरेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टीको औपचारिक, आधिकारिक निकायमा, कमिटीमा होला, महाधिवेशनमा होला । ती ठाउँहरुमा व्यक्तिले आफ्नो विचार व्यक्त गर्छ । कमिटीले अथवा अधिवेशनले निर्णय गर्छ । त्यो निर्णयमाथि कसैको असहमति रह्यो भने उसले औपचारिक रूपले बैठकको माइन्यूटमा दर्ज गर्नुपर्छ । औपचारिक रूपमा दर्ज भयो भने त्यसलाई फरक मत मानिन्छ ।’

उहाँले थप्नुभयो, ‘यदि कसैले औंपचारिक रुपमा फरक मत राखेन भने देखिन उ पार्टीको निर्णयसँग सहमत भयो भन्ने मानिन्छ । हामीले यो प्रणाली नै विकास गरेका छौं । औपचारिक रुपमा माइन्युटमा कसैले मेरो मत यो हो भनेर दर्ज नगर्दासम्म पार्टीमा फरक मत छ भनेर मानिँदैन ।’

उपमहासचिव पौडेलले विधान महाधिवेशनले पार्टी विभाजन नभएको पुनर्पुष्टि गरेको बताउनु भयो । विधान महाधिवेशनको उपस्थितिले, त्यहाँ भएको छलफलले र रिर्पोटिङपछि पार्टी विभाजन नभएको आफूहरुको निष्कर्ष सही सावित भएको उहाँको तर्क छ । उहाँले माधव नेपालप्रति संकेत गर्दै स्वार्थवश, कुण्ठावश, इस्र्यावश केही साथीहरु अलग भएको र भ्रममा परेर पार्टी छोडेकाहरू पुनः फर्किने क्रम सुरु भएको पनि बताउनुभयो ।

उपमहासचिव पौडेलले एमालेको राष्ट्रिय महाधिवेशन निर्धारित समयमै हुने र त्यसले राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई अझ बढी प्रभावकारी बनाएर लैजाने विश्वास समेत व्यक्त गर्नुभयो ।

आइतबार सम्पन्न एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते बुटवलमा हुने घोषणा गर्नुभएको थियो । उपमहासचिव पौडेलले महाधिवेशन तोकिएकै मितिमा सफलतापूर्वक सम्पन्न हुने बताउनुभयो ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  २ : १६ बजे