माझण्डहरू नेकपा एमालेलाई दक्षिणपन्थी भन्दै नेपाली काङ्ग्रेसलाई शिरमा बोकेर हिंड्दैछन् । काङ्ग्रेस प्रगतिशील अनि एमाले दक्षिणपन्थी कसरी भयो ? कार्यकर्ताहरू उत्तर खोज्दैछन्। यतिखेर माझण्डहरू आफ्ना विभिन्न कार्यक्रमहरूमा जसरी एमालेका विरूद्ध तथानाम बोल्दैछन्, त्यसले उनीहरूको पराजित मनोविज्ञानलाई चिनाएको छ। त्यसैले त उनीहरू एमालेलाई चुनावमा हराउन काङ्ग्रेसको नेतृत्वमा महागठबन्धनको परिकल्पना गर्दैछन्। तर नेपाली काङ्ग्रेस भने माझण्डहरूसँगको चुनावी गठबन्धनका सवाल मौन देखिएको छ। किनभने कम्न्युनिष्टहरू विभाजित भएको बेलामा त्यसको प्रत्यक्ष लाभ आफ्नो पार्टीलाई हुने काङ्ग्रेसका नेताहरूको विश्लेषण छ।
वैचारिक रूपमा नेपाली काङ्ग्रेसले प्रगतिशील लोकतन्त्रको पक्षपोषण गर्न सक्तैन भन्ने जान्दा जान्दै पनि केपी ओलीसँगको व्यक्तिगत रिसवीले माझण्डहरू शेरबहादुर देउवालाई गठबन्धनको नेता बनाउनमा तयार भएका हुन्। यो खालको आत्मघाती राजनीतिक बाटो लिन माझण्डहरूलाई बुर्जुवा शक्तिहरूले विभिन्न तरिकाबाट उत्प्रेरित गरेको देखिन्छ। फेरि केपी ओलीले पनि आफू र पार्टीलाई बलियो बनाउन वामपन्थीहरूलाई नजिक र विरोधीहरूलाई सके आफ्नो पक्षमा ल्याउने नसके तटस्थ राख्ने प्रभाकारी रणनीति अख्तियार गर्न सकेनन्। परिणामस्वरूप माझण्डहरू नेपाली काङ्ग्रेसको राजनीति बलियो बनाउने गरी क्रियाशील हुन पुगे। तर माझण्डहरूको गतिविधिहरूलाई जनताहरूले स्वभाविक ठानिरहेका छैनन्। जनताको बहुदलीय जनवाद जबजे को विचारबाट दिक्षित नेता तथा कार्यकर्ताहरूले भन्दैछन्, नेपाली काङ्ग्रेसलाई अघि लगाएर समाजवादको यात्रालाई प्रभावकारी बनाउन सकिंदैन्।
माधव नेपालको नेतृत्वमा नयाँ पार्टी बनाउन नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगको अघोषित मोर्चा नै बन्यो। जसको नेतृत्व गर्ने काम पुष्पकमल दाहाल प्रचण्डेले गरेका थिए। दल विभाजन सम्बन्धि अध्यादेश ल्याएर एमाले फुटाएपछि अध्यादेश फिर्ता लिने काम पनि भइसक्यो। यसबाट स्पष्ट हुन्छ एमालेइतर राजनीतिक दलमात्र होइन, स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुपर्ने संस्थाहरू पनि एमाले फुटाउन सहयोगी बन्न पुगे। सर्वोच्च अदालतले पनि फुटलाई सहयोग पुग्नेगरी फैसलामा ढिलाइ गर्दैछ। मूलधारका भनेर चिनिएका मिडियाहरूले पनि विभाजनको पक्षमा भूमिका खेलेको उनीहरूको अभ्यास र व्यवहारले प्रमाणित गरेको छ।
माधव नेपाल गर्वका साथ भन्दैछन्, “केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन विश्वासको मत दिएनौं र एमाले फुटाउन १० बुँदे सहमति मानेनौं।” अहिले नेकपा एमालेको यति खेदो खन्न सक्ने पात्र माधव नेपाल उहिले १५–१५ वर्ष एमालेको महासचिव कसरी भएछन् ? यो प्रश्नको उत्तर नखोजी नेकपा एमालेका नेता तथा कार्यकताहरूले पार्टीलाई बलियो बनाउन सक्दैनन्। त्यसैले प्रत्येक नेता तथा कार्यकर्तालाई वैचारिक रूपमा स्पष्ट र सांगठनिक रूपमा व्यवस्थित गर्न सकिएन भने माधव नेपाल प्रवृत्ति फेरिपनि एमालेभित्र नदेखिएला भन्न सकिन्न।
वाग्मती नदि प्राकृतिक रूपमा कहिल्यै अशुद्ध थिएन र सधैं पवित्र अनि सुन्दर थियो। तर हामीले वाग्मती सभ्यतालाई नबुझ्दा र हाम्रा अभ्यासहरू सभ्य नहुँदा आज वाग्मती दुर्गन्धित भएको छ। अहिले वाग्मतीको सुन्दरता पुनः कायम गर्न मुहानदेखि प्रयास भइरहेका छन्। वाग्मती दुर्गन्धित भयो भनेर यसको सभ्यता र सुन्दरता मास्ने होइन जोगाउने अभियान सुरू गरिएको छ। त्यस्तै कम्न्युनिष्ट आन्दोलनमा पनि माझण्ड प्रवृत्ति देखियो भनेर सच्चा जबजवादीहरू विचलित हुँदैनन् बरू जबजको झण्डा वरिपरि गोलबन्ध हुँदै कम्न्युनिष्ट आन्दोलनलाई अझ प्रगतिशील र लोकतान्त्रिक बनाउन प्रतिबद्ध भएर क्रियाशील भइरहन्छन्। आज माझण्डहरूका कारणले आन्दोलनमा पुगेको क्षतिलाई न्युनिकरण गर्दै र कमजोरीहरू सुधार्दै विचारमा दिक्षित नेता तथा कार्यकर्ताको बलियो जग र न्यायप्रेमी प्रगतिशील जनताको साथमा आन्दोलनलाई माथि उठाउन अग्रसर हुनेछन्।
नेकपा हुँदै नेकपा एमालेमा आएको विभाजन वैचारिक राजनैतिक जगमा भएको होइन। माझण्डहरूले केपी ओलीको रिसमा विभाजनको बाटो रोजेका हुन। जुन दिन यो यथार्थलाई कार्यकर्ताहरूले बुझ्छन्, त्यो दिन आज तिनका पछि लागेकाहरू आन्दोलनको मूलधार नेकपा एमालेमा फर्कने छन्। किनभने नेकपाको लिगेसी नेकपा एमालेले बोकेको छ। पुरूषोत्तम पौडेलको एमालेमा फर्किने घोषणाले त्यसको संकेत गर्छ। पौडेल भन्छन्, “राजनीति विचारको आधारमा गरिने गर्दछ। राजनीतिलाई विधिले निर्देशित गर्नुपर्छ। विचार र विधिको आधारमा चल्ने नेतृत्वले मात्र असल राजनीतिक संस्कार बसाउन सक्छ।” यो भनाईले माझण्डहरूलाई ठूलो व्यङ्ग्य गरेको छ।
जबजले विचारमा आधारित कार्यकर्ता, कार्यकर्तामा आधारित पार्टी र जनतामा आधारित पार्टीको राजनीति हुनुपर्छ भन्ने परिकल्पना गरेको छ। नेकपा एमाले जबजको मार्गदर्शनबाट अघि बढेकाले जनप्रिय पार्टी बनेको हो। तर घनश्याम भुसाललगायतका केहि नेताहरू यो तथ्य बिर्सिएर जबजको उपादेयता सकियो भनेर अनावश्यक रूपमा तर्कहरू गर्दैछन्। जबकि स्वतन्त्रता र सामाजिक न्यायसहितको लोकतन्त्रलाई जबजले अंगिकार गरेको छ। प्रा. डा. बद्रीविशाल पोखरेल भन्नुहुन्छ, “ जबजको सार वा लक्ष्य क्रान्तिकारी छ भने रूप चाहिं लोकतान्त्रिक छ। जनवादी लक्ष्य यसको सार हो। बहुदलीय प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नु यसको स्वरूप हो।”
नेपालको राजनीतिमा मात्र होइन, विश्व राजनीतिमा एकदलीय शासन प्रणालीलाई अबका दिनमा स्थापित गर्न सकिन्न किनभने २१ औं शताब्दीको जनचेतनाले एकदलीय शासन प्रणालीलाई साथ दिदैन्। यो पक्षलाई बुझेर जननेता मदन भण्डारीले आजभन्दा २९ वर्ष अघि नै विश्व परिवेश, जनमनोभावना र कम्न्युनिष्ट शासन व्यवस्थाको कमजोरीलाई मनन गरेर जबजमार्फत नेपालको राजनीतिमा कम्न्युनिष्ट पार्टीलाई जनताको लोकप्रिय मतबाट सत्तामा पुर्याउने र सत्ता सञ्चालनमा श्रेष्ठता हासिल गर्दै जनमतको बलमा पुनः सत्तामा पुग्ने बाटो तय गर्नु भएको हो। तर माझण्डहरूले घात गर्दा पार्टी सत्ताबाट बाहिरिनु मात्र परेन विभाजनसम्म व्यहोर्नु पर्यो। यो विभाजनबाट परेको क्षति कम गर्न एमालेका नेता तथा कार्यकर्ताहरूले हिजोभन्दा आज बढी त्याग र योगदान गर्ने मनस्थितिका साथ क्रियाशील हुनुपर्छ। नेता तथा कार्यकर्ताहरूको मनोविज्ञान किङ मेकर बन्नुपर्छ।
आवधिक निर्वाचनमा भाग लिने भएपछि पार्टीले चयन गर्ने उम्मेदवार वैचारिक रूपमा स्पष्ट, पार्टीप्रति प्रतिबद्ध र व्यावहारिक रूपमा इमानदार हुनुपर्छभने कार्यकर्ताहरूले पनि इमानका साथ पार्टीको उम्मेदवारलाई जिताउने भूमिका निर्वाह गर्दै पार्टी र जनताबीचको सम्बन्ध सुमधुर बनाइ राख्नुपर्छ। अन्यथा माझण्ड प्रवृत्ति दोहोरिन सक्छ। जीवन्त पार्टीमा अन्तरसंघर्ष भइरहन्छ तर त्यसलाई मित्रतापूर्ण बनाउन नेता तथा कार्यकर्ताहरू सधैं सचेत हुनुपर्छ। हिजोको तिक्तता र मतभेदहरूबाट पाठ सिकेर देशको भविष्य सुन्दर बनाउने सर्तमा एकजुट भएर क्रियाशील भइरहनु पर्छ।
पार्टी भित्रको अन्तरसंघर्षमा मित्रताको पाटो बलियो बनाए एकता सुदृढ र सहकार्य विश्वसनीय हुन्छ भने शत्रुताको पक्ष बलशाली भए विवाद बढेर विग्रहमा पुग्छ। यति सामान्य पक्षलाई एमालेका नेता तथा कार्यकर्ताहरू ध्यान नदिंदा नेकपा हुँदै नेकपा एमालेमा विभाजन ल्याउन माधव नेपालले सत्ताको आडमा कैफियतपूर्ण बाटो रोजे र ओलीलाई भन्दा देउवालाई क्रान्तिकारी देखे। त्यसैले १० बुँदेलाई भिमबहादुर रावलहरूले जडतामा बुझ्नु हुँदैन् अन्यथा त्यसले पार्टीलाईमात्र होइन उनीहरूलाई पनि कमजोर बनाउने छ।
माझण्डहरूको साथ लिएर दक्षिण–पश्चिमले एकतिरले दुई सिकार गर्यो। एक, केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउने र दुई, एमाले फुटाउने अनि कालो धनलाई सेतो बनाउने नीति ल्याउन र विधि बनाउन लगाएर नेपालमाथि आफ्नो दबाव र प्रभाव विस्तार गर्ने। प्रम शेरबहादुर देउवाले अर्थमन्त्रीको त्यो बदनियतपूर्ण प्रस्तावलाई रोक्नु पर्थ्यो तर प्रमको पद जोगाउने लोभमा देशमाथि घात हुँदा पनि मौन बसि दिए। प्रम देउवाको त्यो मौनतालाई नेपाली कांग्रेसले साथ दिएको देखिन्छ। यसले अन्ततः नेपाली कांग्रेस व्यावहारिक रूपमा लोकतान्त्रिक मुल्यमान्यतामा चल्ने र देशको हित हेर्ने पार्टी नभएको पुष्टी गरेको छ। यतिविधि हुँदा पनि डबलीवाला बुद्धिजिवी र नागरिक अगुवाहरू मौन व्रतमा छन्। बुर्जुवा मिडियाहरू आफ्ना मालिकको स्वार्थमा बाधा पुग्ला भनेर समाचार बनाउँदैनन्।
जबजअनुसार प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्न नेता तथा कार्यकर्ताहरूको बोली र व्यवहार वैचारिक मान्यता र आदर्शबमोजिमको हुनुपर्छ। अनिमात्र जनताले आवधिक रूपमा हुने निर्वाचनमा एमालेलाई जिताउने छन्। तर जबज नमान्ने नेता तथा कार्यकर्ता जम्मा गरेर एमाले बलियो बन्दैन भन्ने चेत अझै पनि नेतृत्वमा आएको देखिएन। यसर्थ सचेत कार्यकर्ता तथा शुभचिन्तकहरूले पार्टीको हितमा नेतत्वको सहि आलोचना गर्न पनि सक्नुपर्छ। नेतृत्वलाई मान्नु र नेतृत्वको दास बन्नु फरक कुरा हो। जबज मान्ने नेता तथा कार्यकर्ताहरू पार्टीको अनुशासनमा बस्छन्, नेतृत्वलाई मान्छन्। यसको मतलब नेतृत्वको दास बन्छन् भन्ने होइन। विचारले दिक्षित नेता तथा कार्यकर्ताहरू स्वतन्त्र भएर दासताका विरूद्ध लडिरहन्छन् तर स्वछन्द हुँदैनन्। अन्तरसंघर्षलाई विधिवत र मित्रतापूर्ण बनाउन सधैं तयार हुन्छन्।
जबजवादीहरूले क्रान्तिकारी हुँदा लोकतान्त्रिक चरित्र त लोकतान्त्रिक हुँदा क्रान्तिकारी चरित्र छोड्नु हुँदैन् किनभने यी दुवै चरित्रविना जबजले पूर्णता पाउँदैन्। जबज मान्ने नेता तथा कार्यकर्ताले लोकतान्त्रिक र क्रान्तिकारी चरित्रलाई एकअर्काको परिपुरक ठान्नु पर्छ। यहि मान्यताबमोजिम जबज मान्ने नेता तथा कार्यकर्ताहरू नेकपा एमालेको राजनीतिमा सक्रिय हुनुपर्छ। अहिले चलिरहेको विधान महाधिवेशनले वैचारिक र व्यावहारिक रूपमा पार्टीलाई लोकतान्त्रिक र क्रान्तिकारी बनाउने नीति लिन र विधि तय गर्न सक्नुपर्छ।
प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार ११ : २७ बजे
प्रतिक्रिया