उम्मेदवारको शुल्क लिएर काग्रेंसका निर्वाचन अधिकृत ‘टाप’, अधिवेशन अनिश्चित

बझाङ । नेपाली कांग्रेस बझाङको अधिवेशनका लागि खटिएका निर्वाचन अधिकृत नगदसहित ‘टाप’ भएका छन्  ।  अधिवेशनका क्रममा उम्मेदवारी दर्तावापतको शुल्क लिएर निर्वाचन अधिकृत सम्पर्कविहीन भएका हुन् । निर्वाचन अधिकृत नै बेपत्ता भएपछि बझाङ कांग्रेसको अधिवेशन अनिश्चित बनेको छ । 
केन्द्रीय निर्वाचन समितिबाट जिल्ला मतदान अधिकृतका रुपमा खटिएका डडेलधुराका चेतराज भट्ट निर्वाचन नगराई सम्पर्कविहीन भएका हुन् । उनको साथमा अधिवेशनमा उम्मेदवारी शुल्कवापत उठेको करिब ७ लाख रकम थियो । 
बझाङमा असोज १५ गते जिल्ला अधिवेशन उद्घाटन भएको थियो भने असोज १६ गते शनिबार जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दर्ता भएको थियो । २५ जना महाधिवेशन प्रतिनिधिका लागि ७५ जनाले ५ हजारका दरले शुल्क बुझाएर उम्मेदवारी दर्ता गरेका थिए । त्यस्तै जिल्ला सभापतिका उम्मेदवारहरु खडबहादुर बोहरा र रमेशबहादुर भण्डारीले १०–१० हजार रुपैयाँ उम्मेदवारी शुल्क बुझाएका थिए । निर्वाचन समितिले जिल्ला उपसभापति र सचिवका लागि ७ हजार तथा सहसचिवका लागि ६ हजार रुपैयाँ शुल्क लिएको थियो । बझाङमा संस्थापन पक्षकै दुई उम्मेदवार सभापतिको प्रतिस्पर्धामा थिए ।

खडगबहादुर बोहरालाई संस्थापनइतर समूहका नेताहरुको पनि सहयोग रहेको थियो । निर्वाचन अधिकृत सम्पर्कविहीन भएपछि एक पक्षले तत्काल अर्को निर्वाचन अधिकृत तोकेर मतदान गराउन माग गरेको छ भने अर्को पक्ष दसैँपछि चुनाव गराउनुपर्ने बताउँदै आइरहेको छ ।

 

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ३ : २३ बजे