एमालेले भन्यो- आगामी चुनावमा सरकारको नेतृत्व लिनेगरी तयारीमा जुट्नुपर्छ

काठमाडौं । नेकपा एमालेले पार्टीको तर्फका संभावित उम्मेदवारहरूलाई सुरुदेखि नै जनताका बीचमा स्थापित गराउन त्यसका लागि सम्बन्धित तहको नेतृत्वले विशेष ध्यान दिनुपर्ने बताइएको छ । 

प्रथम विधान महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले पेस गर्नु भएको सांगठनिक प्रतिवेदनमा अबको छ महिनापछि स्थानीय तह, त्यसपछि संघ र प्रदेशको निर्वाचन हुने भएकाले जनताका बीचमा स्थापित गराई निर्वाचनमा सफलता हासिल गर्न सकिने भएकाले त्यसका लागि सम्बन्धित तहको नेतृत्वले विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभएको छ ।

‘पार्टी अनुशासनको पालना गर्न सक्ने, वैचारिक र राजनीतिक रूपमा स्पष्ट, आफू निर्वाचित भएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्न सक्ने क्षमता भएका व्यक्तिलाई उम्मेदवारका रूपमा अघि सार्नुपर्छ’, प्रतिवेदनमा भनिएको छ ।

यस्तै, उम्मेदवार बन्ने नाममा अस्वस्थ प्रतिस्पर्धा नहोस् भन्नका लागि संस्थागत सिफारिसको प्रक्रियामा जोड दिनुपर्ने प्रतिवेदनको प्रस्तावमा उल्लेख छ । ‘पार्टीको उम्मेदवार बनेर चुनाव लड्ने र चुनाव जितेपछि पार्टीविरुद्ध घात गर्ने प्रवृत्तिबाट पार्टीलाई जोगाउनुपर्छ', प्रतिवेदनमा भनिएको छ ।

चुनाव जित्ने र चुनाव जितिसकेपछि पार्टीको योजनामा पार्टीको पक्षमा दृढतापूर्वक उभिने जनप्रतिनिधि निर्वाचित गराउने कुरामा पार्टीले ध्यान दिनुपर्ने बताइएको छ । पार्टीले आफ्नो शक्तिलाई एकताबद्ध रूपमा परिचालित गर्न र पार्टीको नेतृत्वको सरकारले गरेका राम्रा कामहरू जनताका बीचमा लगेर स्थापित गर्ने हो भने आउने चुनाव अनुकूलतामा परिणत हुने प्रबल संभावना रहेको प्रतिवेदनमा उल्लेख छ । 

‘पार्टीको राजनीतिक कार्यदिशालाई सफल बनाउनका लागि आगामी निर्वाचनमा सरकारको नेतृत्व गर्ने गरी हाम्रो पार्टीले बहुमत हासिल गर्नु आवश्यक छ । त्यसका लागि अहिलेदेखि नै तयारीमा जुट्नुपर्छ’, प्रतिवेदनमा भनिएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ९ : ४२ बजे