सुनको मूल्यमा नयाँ कीर्तिमान

जहाजहरूमा प्राविधिक समस्या देखिएपछि सरकारी समिति गठन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पछिल्लो समय विभिन्न हवाई कम्पनीका जहाजमा देखिएको समस्याबारे अध्ययन गर्न समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

प्रधानमन्त्री तथा पर्यटनमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा भएको मन्त्रीस्तरिय निर्णयले छानबिन समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी नेपालको आकाशमा उड्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेपालमा दर्ता भएका हवाईजहाज र हेलिकोप्टरको अवस्था परीक्षण गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारीसहित छानबिन समिति गठन गरिएको जनाएको छ ।

समितिको सदस्यमा नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल क्षेत्री, मन्त्रालयलेकै एयर ट्राफिक कन्ट्रोल एसोसिएसनका प्रमोद नेपाल, प्राधिकरणका प्रबन्धक लक्ष्मण देवकोटा रहेका छन् ।

यही ११ असोजमा काठमाडौंबाट ७७ जना यात्रु लिएर उडेको बुद्ध एयरको विमानमा खराबी देखिएको लगायत पछिल्लो समय विभिन्न कम्पनीका जहाज र हेलिकोप्टरमा प्राविधिक समस्या देखिएकाले यस्तो समस्या समाधानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ छानबिन समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता अधिकारीले बताए ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  १० : २५ बजे