मन्थली विमानस्थलमा पानी पस्यो

कमला भासिन, जसका गीतले महिलालाई आन्दोलनमा लाग्‍न प्रेरित गरिरहे

कमला भासिन आफ्नै मानकमा बाँचिन्। आफ्नै शर्तहरु लागू गरिन्। केही वर्षदेखि क्यान्सरसँग जुद्धै आएकी भासिन  शनिबार ७६ वर्षको उमेरमा सधैंका लागि धरतीबाट गइन्। तर उनले युवामाझ नारीवादी आन्दोलनको इतिहास छोडेकी छन्। 

भासिनलाई नजिकबाट बुझ्ने नारीवादी कार्यकर्ता कविता श्रीवास्तव मृत्युसँग जुधिरहँदा पनि भासिनले आफ्ना गीत, दोहोरी र कवितामार्फत मानिसलाई ऊर्जा दिइरहेकी बताउँछिन्। भन्छिन्, ‘जुन महिनामा नै उनलाई लिभर क्यान्सर डिटेक्ट भएको थियो। तीन महिनाको अन्तरालमा उनले संसार छोडिन्। के भनौं र यो सबैभन्दा ठूलो बिरामी रहेछ।’ 

जीवनको अन्तिम दिनमा पनि उनले हार मानेकी थिइनन्। दुई–तीन पटक अस्पतालमा भर्ना भएकी थिइन्। यस्तो परिस्थितिमा पनि भासिनले गीत र कविताको तागतबाट ऊर्जा संप्रषेण गरिरहेकी थिइन्। अस्पतालमा भेटिने आफूजस्तै बिरामीलाई हँसाउने, ठट्टा गर्ने, योगा गर्ने र डाक्टरसँग खुलेर आफ्नो उपचारका बारेमा सोधीखोजी गर्थिन्। 

भारतीय चर्चित अभिनेत्री शबाना आजमीले भासिनलाई यसरी सम्झिएकी छन्– ‘मलाई सधैं लाग्थ्यो, भासिन अजेय थिइन् र अन्तिमसम्म अजेय नै रहनेछिन्। उनको बोली र काम गराइमा कुनै विरोधाभास थिएन।’ 

पत्रकार तथा विश्लेषक नलक गुणर्धन लेख्छन्, ‘दक्षिण एसियाले कमला भासिनसँगै प्रकाशको एक किरण र एक भावुक आवाजलाई गुमाएको छ। उनका शब्दले हामीलाई सधैं प्रेरित गर्नेछन्।’  

कमला भासिन दक्षिण एसियाको नारीवादी आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेकी नारी हुन्। उनले आफ्ना गीतहरुमार्फत सरल भाषामा दुनियाँलाई आफ्ना कुराहरु बुझाउन सक्थिन्। 

गाउँदेखि सहरसम्मका महिलालाई उनले भारतीय नारीवादी आन्दोलनमा एक हुन महत्वपूर्ण भूमिका निभाइन्। उनले बोल्ने शैली, अन्तरक्रिया गर्ने शैली सधैं सकारात्मक र प्रभावकारी थियो।  

महिला आन्दोलनलाई उभ्याउन सधैं नेतृत्वदायी भूमिका खेलेकी थिइन् भासिनले। आन्दोलनको सिलसिला पनि निकै यादगार छ। भारतको संसदीय समितिको स्थितिको लागि सन् १९७५ बाट सुरु भएको यात्रा, मथुरा बलात्कार मुद्दा, कानुनमा संशोधन, दाइजो प्रथाको विरुद्ध जस्ता आन्दोलन भारतभर चर्किएको थियो। उनले ४५ वर्षदेखि महिला आन्दोलनलाई हाँक्दै आएकी थिइन्। मानव अधिकारको क्षेत्रमा पनि उनले निकै काम गरिन्। मानव अधिकारवादीको बलियो समर्थन थियो उनलाई। 

दक्षिण एसियामा नारीवादी आन्दोलनको धुरी उनलाई नै मानिन्छ। उनले कुनै सीमा हेरिनन्। बरु सीमा वारि र पारि (बंगलादेश तथा पाकिस्तान) का महिलाहरुलाई सधैं प्रेरित गरिन्। श्रीवास्तव भन्छिन्, ‘दक्षिण एसियाका नारीवादी आन्दोलनका लागि जुन नारा कन्हैया कुमारको मुखबाट सुनियो, त्यो स्वतन्त्रताको नारा कमला भासिन र पाकिस्तानका हाम्रा साथी निखतले बनाएका थिए। यस नाराको सुरुवात यसरी हुन्थ्यो– मेरो बहिनीले मागिन् स्वतन्त्रता, मेरी छोरीले मागिन् स्वतन्त्रता, मेरी आमैले मागिन् स्वतन्त्रता। भोकबाट मागिन् स्वतन्त्रता।’

सन् १९७५ देखि आन्दोलनमा होमिएकी भासिन तत्कालिन नारीवादी आन्दोलनको एउटा अहम् अनुहार बनेर देखिएको थियो। उनले लेखेका गीत नै त्यो उपलब्धि हो। कुनै पनि महिला कुनै आन्दोलन वा मोर्चा जाँदा उनको गीत अनिवार्य गाउँथे। 

एउटा गीत– बन्धन तोडेर बहिनीहरु आउँछिन्। हेर मान्छे दिदीबहिनी आइन्, अत्याचार मेटाउन्। उनीहरु नयाँ युग ल्याउन्। 

भासिनको बाल्यकाल राजस्थानमा बितेको थियो। ६ दिदीबहिनी भएका परिवारमा जन्मेकी भासिन सामाजिक स्थान, महिलाहरुको स्थान र चुनौतीलाई नजिकबाट देख्न र बुझ्न पाएकी थिइन्। राजस्थान विश्वविद्यालयबाट स्नातक पढेकी भासिन पछि जर्मनी गइन्। त्यहाँ समाजवादी विकास अध्ययन गरिन्। पढाइ सकेर उनी भारतमै आएर संघर्ष गर्न थालिन्। संघर्षको थालनी राजस्थानमा सेवा मन्दिर संगठन नाम दिएर आफ्नै भूमिमा काम गरेकी थिइन्। यही क्रममा उनको भेट कविता श्रीवास्तव जस्ता नारीवादी आन्दोलनकारीसँग भएको थियो। श्रीवास्तव भन्छिन्, ‘जिन्दगी र ओजले भरिएकी महिला थिइन् उनी। उनी यति सहज थिइन् कि सबै किसिमका मानिस उनीसँग काम गर्न सहज महशुस गर्थे। उनी सबै पिँढीका मानिसका लागि लोकप्रिय हुनेछिन्।’ 

कविता कृष्णन भन्छिन्, ‘नारीवादी आन्दोलनसँग जोडिएकी प्रभावशाली महिला भासिनजस्ती न पहिला थिए न पछि हुने सम्भावना छ।’

नारीवादी आन्दोलनका लागि कमलाको जति भूमिका र अनुभव साथै युवा नारीवादी आन्दोलनप्रति पनि प्रेमभाव देखाउने गर्थिन्। व्यक्तिगत जीवनमा उनले धेरै दुःख पाइन्। तर उनले बाँच्ने चाहमा कमी ल्याइनन्। किनकि उनी समाजका लागि कुदिरहिन्। उनी जस्तो भाषामा बोल्थिन् बालबालिकालाई पनि प्रभाव पर्थ्यो। 

१९९० को दशकमा नारीवादी आन्दोलनमा महिलाहरुको शोषणका विरुद्ध भासिनले आवाज उठाइन्। दलित महिला, समलिंगी महिलाको पक्षमा काम पनि गरिन्। यी मुद्दा उनका गीतमा पनि पाइन्छ। हामीले ‘गली ब्वाय’ फिल्ममा सुनेको स्वतन्त्रताको गीत भारतमा सबैभन्दा पहिला कमला भासिनले गाएकी थिइन्। 

उनले महिलाहरुको स्वतन्त्रताका लागि विभिन्न संघसंस्था तथा विदेशबाट पनि सहयोगी हात जुटाइन्। महिलाहरुलाई संगठित गरिन्। आफ्ना पक्षमा वकालत गर्न र विद्रोही बनाउने भूमिका खेलिन्। यतिसम्म कि पछिल्लो समय भारतमा भएको वन बिलियन राइजिङ नामको आन्दोलनमा पनि कमला भासिनको अनुहार देख्न सकिन्थ्यो।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  १ : ४२ बजे