साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सन्दर्भ विश्व मुटु दिवस  : गाउँ पस्यो मुटु रोग

चितवन ।  सहरियामा बढी देखिने गरेको मुटु रोग सहरीकरणसँगै गाउँमा भित्रिएको छ । 

यातायात सञ्जालसँगै तयारी खानेकुरा गाउँ पुगेपछि यो समस्या भित्रिएको हो । स्थानीय उत्पादन घट्दै जानु र गाउँमा पनि तयारी खानेकुरा खाने प्रचलन बढ्दै गएपछि मुटु रोगको समस्या गाउँ गाउँमा देखिन थालेको विज्ञहरूले बताएका छन् ।

मुटु रोग विशेषज्ञ डा प्रकाशराज रेग्मी यातायात सञ्जाल पुगेका ठाउँमा तयारी खानेकुरा, धुमपान, मद्यपानजस्ता चिजले जीवनशैली बिगारेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चाउचाउ, कोकाकोला, दालमोठजस्ता तयारी खानाले पहाडी क्षेत्रमा पनि जीवनशैली बिगारेको छ, जसले मुटु रोग निम्त्याइरहेको छ ।” सहरियाहरूले स्वास्थ्यप्रति ध्यान दिन थालेकाले सहरमा समय–समयमा परीक्षण गर्ने प्रचलन बढेको छ । गाउँमा यसप्रति कसैको ध्यान छैन ।

स्थानीय तहमा उत्पादन भएका न्यून गुणस्तरका मदिरा सेवन गर्ने, तयारी खाना खाने, व्यायाम नगर्ने, धुमपान र सुर्तीजन्य पदार्थको सेवनले गर्दा ग्रामीण क्षेत्रका युवामा मुटु रोगको समस्या बढ्दै गएको नेपाल हर्ट फाउण्डेशनका पूर्व अध्यक्षसमेत रहनुभएका रेग्मीको भनाइ छ । सहरमा नियमित स्वास्थ्य परीक्षणसँगै व्यायाम गर्ने क्रम बढेको उहाँ बताउनुहुन्छ । मुटु रोगको खासै लक्षण नहुने हुँदा नियमित स्वास्थ्य परीक्षण आवश्यक हुने उहाँ बताउनुहुन्छ ।

“पहिले–पहिले पहाडका मानिस लामो बाटो हिँड्नुपर्ने, कडा मेहेनत गर्नुपर्ने भए पनि आजभोलि गाउँ गाउँमा ट्र्याक्टर, मोटरसाइकल, गाडीको सुविधा हुँदा शारीरिक परिश्रम घटेको छ”, उहाँले भन्नुभयो, “युवा वर्ग काम गर्दैनन्, विषादी भएका तरकारी फलफूल प्रयोग गर्छन् ।” ग्रामीण क्षेत्रमा समस्या आइसकेपछि मात्रै उपचारको खोजी गरिँदा त्यतिन्जेल ढिलो भइसकेको हुने उहाँ बताउनुहुन्छ ।

मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिल ग्रामीण क्षेत्रबाट पनि बिरामी आउने गरेको बताउनुहुन्छ । अन्य कारणसँगै आवेगमा आउने कारणले मुटुको समस्या देखिने गरेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “कुनै पनि जोखिम नदेखिएका व्यक्तिमा पनि रिसका कारण हृदयाघात भएर मृत्यु हुने गरेको छ”, उहाँले भन्नुभयो, “रिसाहा व्यक्तिलाई मुटुको धड्कन, रक्तसञ्चार र क्लटिङ टेन्डेन्सीमा असर गर्छ ।” रिसाहा व्यक्तिलाई धेरै समस्या आउने जनाउँदै उहाँले यसलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

सकारात्मक सोच राख्नु मुटुका लागि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नकारात्मक कुरा दिमागमा हाबी हुँदा हाम्रो शरीरमा त्यसले विभिन्न किसिमका हर्मोन उत्पादन गर्छ, त्यसले रक्तसञ्चार प्रणालीमा असर गर्दछ ।” 

चितवन मुटु अस्पतालका मुटु रोग विशेषज्ञ डा शङ्कर लौडारी प्रत्येक वर्ष विश्वमा १७।९ मिलियन मानिसले मुटुका कारण ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क रहेको बताउनुहुन्छ । विश्वमा नसर्ने रोगका कारण मृत्यु हुनेमध्ये ३२ प्रतिशत मुटु रोगका कारण मृत्यु हुने गर्दछ । मुटु रोगका कारण मृत्यु हुनेमा ८५ प्रतिशत हृदयाघात हो । अन्य मुटुको बाथ, हट्फेलर पर्दछन् ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क उद्धृत गर्दै उहाँले भन्नुभयो, “मुटु रोगीमध्ये ७५ प्रतिशत गरिब र निम्न मध्यम आय भएका नागरिक पर्दछन् ।” विश्वमा सबैभन्दा बढी प्रभावित हुने देशमा क्रमशः चीन, भारत, रसिया र अमेरिका पर्दछन् । सन् १९९० मा २५० मिलियनमा देखिएको यो समस्या सन् २०२१ सम्म आउँदा ५२३ मिलियनमा पुगेको छ ।

नेपालमा नसर्ने रोगका बिरामीमध्ये २७ प्रतिशत मुटुका हुने गर्दछन् । लौडारीको भनाइमा मुटुरोगीमध्ये १२ प्रतिशतले रोगकै कारण रोजगारी गुमाउने गरेका छन् । नेपालमा एक लाख जनसङ्ख्यामा ५६९ पुरुष र ४७९ महिला प्रभावित भएको तथ्याङ्क रहेको उहाँले बताउनुभयो । मुटु रोगका कारण पुरुष बढी प्रभावित हुने गरेका छन् ।

लौडारीका अनुसार मुटुरोगीमध्ये १६ प्रतिशतलाई हृदयाघात, छदेखि १० प्रतिशतलाई मुटुको बाथ रोग हुने गरेको छ । यस्तै चारदेखि १० प्रतिशत धड्कनसम्बन्धी र चारदेखि सात प्रतिशतलाई मुटुको जन्मजात रोग हुने गर्दछ ।

मुटु रोगको प्रमुख कारणमा २५ देखि ४० प्रतिशतमा उच्च रक्तचाप, छदेखि १० प्रतिशतमा मधुमेह, २० प्रतिशतमा खराब एलडिएल कोलेस्ट्रोल, २० देखि २५ प्रतिशत धुमपान, १५ देखि २० प्रतिशत मोटोपन रहेको छ । दक्षिण एशियामा मुटु रोगको समस्या धेरै भएका देशमा नेपाल तेस्रो हो । 

उहाँले खानपान र जीवनशैलीमा परिवर्तन गर्न सके धेरैजसो मुटु रोगबाट बच्न सकिने बताउनुभयो । उहाँका अनुसार शरीरको तौल नियन्त्रण गर्ने, नियमित व्यायाम गर्ने, तारेको भुटेको खानेकुरा सकेसम्म नखाने, कार्बोहाइड्रेट बढी हुने भात, आलु गुलियो पदार्थ कम खान सुझाव दिनुभयो । 

यसैगरी, मधुमेह र कोलेस्ट्रोललाई नियन्त्रण गर्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “चिल्लो र बोसोजन्य खाना अनि मासु कम खानुपर्छ ।” उहाँले समयमै सुत्न, विषादीरहित फलफूल र तरकारी खान तथा धुमपान र मद्यपान नगर्न सुझाव दिनुभयो । अस्पतालमा पछिल्ला वर्षमा ग्रामीण क्षेत्रबाट मुटुका बिरामी आउन थालेको उहाँको भनाइ छ ।

विज्ञका अनुसार छातीको बीचको भाग दुख्नु, दम बढ्नु, खुट्टा सुनिनु, घाँटीको रक्त नली फुल्नु, ओठ, जिब्रो र औँलाका टुप्पा निलो हुनु, औँलाका टुप्पा बाक्ला, चाक्ला हुनु, टाउको दुख्ने समस्या देखिएमा मुटु रोग लक्षण हुन् सक्छन् ।

यस्तै मुटुको धड्कन रोकिने वा छिटो चल्ने, कफमा रगत देखा पर्ने, जोर्नी दुख्ने, सुन्निने र ज्वरो आउने हुने गर्दछ । हातखुट्टा ओठ आदि झट्का दिँदै अनियन्त्रित रूपमा चल्नु र छातीमा हात राख्दा धर्केको महसुस हुने भएमा मुटु रोग लागेको हुनसक्ने विज्ञहरूको भनाइ छ । रासस

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  १० : ५५ बजे