साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

भीमदत्त नगरपालिकाको प्रोफाइल निर्माण

​​​​​कञ्चनपुर । भीमदत्त नगरपालिकाले नगर प्रोफाइल निर्माण गरेको छ । 

नगरपालिकाले नगरका सबै तथ्याङ्कलाई अनलाइन अभिलेखीकरण गर्न सङ्घीयता सहयोग साझेदारी कार्यक्रमसँगको सहकार्यमा प्रोफाइल निर्माण गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत विनय कलौनीले बताउनुभयो ।

उहाँका अनुसार नगर र नगरवासीसँग जोडिएका सबै सूचनाको अनलाइन अभिलेखीकरणका लागि नगर प्रोफाइल तयार गरिएको छ । प्रोफाइललाई नगर डाटा बैंकका रूपमा प्रयोग गरिने उहाँले बताउनुभयो । 

देशभरिका ७५३ स्थानीय तहमध्ये १२ वटाले मात्रै हालसम्म नगर प्रोफाइल निर्माण गरेका छन् । प्रोफाइल निर्माणका लागि सबै वडामा गणक खटाइएको थियो । गणकबाट जनसङ्ख्या, घरधुरी, परिवारको विवरणलगायत तथ्याङ्क सङ्कलन गरिएको थियो ।

गत पुसमा सुरु भएको प्रोफाइल निर्माणकार्य कोरोना सङ्क्रमणले प्रभावित बनेको सूचना प्रविधि अधिकृत कलौनीले बताउनुभयो । उहाँका अनुसार घरधुरी सर्वेक्षणबाट तथ्याङ्क सङ्कलन गरी अनलाइन अपडेट गरिएको छ । 

प्रोफाइलमा सबै वडाका घरधुरीको पेशा, रोजगारीको अवस्था, जनसङ्ख्या, उमेर, लिङ्ग, शिक्षा–स्वास्थ्यको अवस्थाबारे तथ्याङ्क राखिएको छ ।

त्यस्तै कृषि उत्पादन, जग्गा उपयोगको अवस्था, सवारी साधन तथा सूचना प्रविधिको प्रयोग पूर्वाधारको अवस्था, सार्वजनिक स्थान र सेवा प्रदायक कार्यालयका बारेमा पनि प्रोफाइलमा विवरण समेटिएको छ । पर्यटकीय क्षेत्रका बारेमा पनि जानकारी राखिएको छ । 

भिजिटरले सबै विवरण अनलाइनमार्फत हेर्न सक्नेछन् । 

नगर प्रमुख सुरेन्द्र विष्टले नागरिकको सूचनामा सहज पहुँचका लागि नगर प्रोफाइल निर्माण गरिएको बताउनुभयो ।

उहाँले योजना निर्माणका लागि तथ्याङ्क महत्वपूर्ण हुने भएकाले त्यसको अभिलेखीकरण गर्न नगर प्रोफाइल तयार पारिएको जानकारी दिनुभयो । रासस

​​​​​​​​​​​​​​

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ९ : २७ बजे