मन्थली विमानस्थलमा पानी पस्यो

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ– सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद् विस्तारका लागि अध्यादेश नै बाधक बनेपछि फिर्ताका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको उनले बताए ।
अध्यादेश फिर्ताका लागि जसपाले दबाब दिँदै आएको थियो । २० प्रतिशतमा नै दल विभाजन गर्न सक्ने प्रावधान राख्दा विभाजनको ढोका खुल्ला भइराख्ने अवस्था रहेको हुँदा फिर्ताका लागि सिफारिस गरिएको उनले बताए ।

देउवा सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्‍याएर राजनीतिक दलसम्बन्धी अध्यादेश १ भदौमा सिफारिस गरेको थियो ।

२ भदौमा राष्ट्रपतिले अध्यादेश जारी गरेलगत्तै नेकपा एमाले फुटेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी फुटेर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ८ : ३३ बजे