‘नेशनल डे कन्सर्ट’ सम्पन्न

के हो मानसिक रोग ? यस्तो देखिन्छ लक्षण 

 

काठमाडौँ । सिन्धुपाल्चोकका मदन अधिकारी महाभूकम्प २०७२ का कारण ठुलो मानिसक पीडामा परे ।  भुईँचालोमा आफ्नी श्रीमती गुमाएपछि उनको  जीवनशैलीमै परिवर्तन आयो । सधैँ चनाखो र छरितो रहने अधिकारी त्यसपछि भने बरबराउने र टोलाउने गर्न थाले । अधिकारीले आफूलाई त्यतिखेर के भएको हो भन्ने पत्तै पाएनन् ।  ‘काम गर्न मन लाग्नै छोड्यो, राम्रोसँग निद्रा पर्दैनथ्यो, निद्रा परिहाले पनि बेलाबेलामा बरबराउने । एक्लै मात्र बस्न मन लाग्ने र कसैको आवाज सुन्दा पनि  रिस उठ्ने जस्तो भइनै रह्न्थ्योे ।’  अधिकारीले थपे, ‘मेरो आधा शरीर नै घट्यो पछि अस्पताल गएर उपचार गर्दा पो मानसिक समस्या भएको पत्तो  लाग्यो ।’ उनले भने । 

औषधी सेवनबाट अहिले ठिक भएका अधिकारी त्यतिखेर चिकित्सककोमा नपुगेको भए आफू ठुलो पीडा भोगेर बसिरहनु पर्ने रहेछ भन्ने सम्झन्छन् ।   

‘नियमित औषधि खाए, डाक्टरले दिइएको समय अनुसार नियमित चेकजाँच गराए ठिक हुने रहेछ, म अहिले एकदमै ठिक छु, बेलैमा उपचार नगराएको भए ठुलो समस्या भोगिरहनु पर्ने रहेछ’,उनले भने । 

हाल आफुलाई कामहरूमा व्यस्त राख्ने र फुर्सदको समयमा पनि साथी भाइहरू र परिवारसँग समय बिताएर आफूलाई हल्का महसुस हुने गरेको बताउनु हुन्छ । यो त एउटा प्रतिनिधि उदाहरण मात्र हो । हाम्रो समाजमा मदन जस्ता थुप्रै उदाहरणहरू छन् जसलाई आफूलाई कुन समयमा मानसिक रोग लाग्यो भन्ने पत्तै भएन । मनोरोगलाई बेलैमा पहिचान गरेका अधिकारी जस्ता धेरै जना त उपचारपछि सुखी जीवन बिताई रहेका छन् तर कतिपय बिरामीहरूलाई आफूलाई रोगको पहिचान नहुँदा थप समस्या भोग्न बाध्य छन् ।

 

यसै सिलसिलामा मानसिक रोग र यसको उपचारको विषयमा रहेर कान्तिपुर हस्पिटलमा कार्यरत वरिष्ठ मानसिक विश्लेषक डाक्टर सुमन प्रसाद अधिकारीसँग चक्रपथकर्मी युवराज ढुङ्गेलले गर्नुभएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ : –

​​​​​​​मानसिक रोग भनेको के हो ?

मस्तिष्कले विभिन्न कामहरू गर्ने गर्दछ । कुरा गर्ने, बोल्ने, हिँड्ने, हात खुट्टा हल्लाउने जस्ता शरीर सञ्चालन गर्ने कार्य त मस्तिष्कले गर्ने गर्दछ  नै तर यो बाहेक मस्तिष्कले गर्ने काम सोचाइलाई नियन्त्रण गर्ने, भावना, स्मरण शक्ति, व्यवहारलाई नियन्त्रण गर्ने र अरूले भनेको कुरा बुझ्न सक्ने, तर्क गर्न सक्ने क्षमता रहेको हुन्छ । मस्तिष्कमा कुनै न कुनै कारणले क्षमताको नियन्त्रणमा ह्रास आयो भने व्यक्ति, परिवार, समाजमा समस्या देखिन्छ त्यसलाई नै मानसिक रोग भनिन्छ । मनोरोग जो कोहीलाई पनि लाग्न सक्दछ । यसले बुढो, बालक, जवान, महिला, पुरुष, धनी, गरिब कोही भन्दैन । हाल विश्वमा तीन सय भन्दा बढी प्रकारका रोगहरू पत्ता लागि सकेका छन् । यसको उपचार सम्भव छ ।

मानसिक रोगका प्रकार बारे केही बताइदिनुहोस् न ?

डिप्रेसन, एनजाइटि, डिसअर्डर, निन्द्रा सम्वन्धी रोग, मानसिक असन्तुलन, छारे रोग लगाएत मानसिक समस्या नेपालमा धेरै जसो देखिने गरेका छन् । रक्सी सेवनको लत पर्नु, बालबालिकामा हुने बौद्धिक अपाङ्गता, अटिजम, डिमेन्सिया आदि समस्या पनि मानसिक रोग  नै हुन् ।

मानसिक रोग लाग्ने कारणहरू के के हुन् ?

नेपालको सन्दर्भमा भन्ने हो भने मनोरोग तीन प्रकारले लाग्ने गरेको देखिन्छ । एउटा जैविक कारण हो । यसमा बा बज्यौमा भएको मानसिक रोगको समस्या क्रमिक रूपमा बुबा आमाबाट छोरा छोरीमा बंशानुगतरुपमा आउने गर्दछ ।

दोस्रो भनेको सामाजिक कारणले मानसिक समस्या देखिन सक्छ । व्यक्तिको पारिवारिक आर्थिक समस्या, घरेलु हिंसा, यौन हिंसा, अरूको राम्रो मेरो नराम्रो जस्ता दृष्टिले, समाजमा उसलाई गर्ने व्यवहार, इज्जत, रोजगारी, बेरोजगारी जस्ता कुराले व्यक्तिलाई मानसिक रोगीको सिकार बनाउन सक्छ ।

तेस्रो कारण भनेको चाहिँ व्यक्तिको मनोवैज्ञानिक कारण हुनसक्छ । म अरू भन्दा कमजोर छु , सँगैका साथीले धेरै प्रगति गरे मैले केही गर्न सकिन भनी टोलाउने, एक्लो महसुस गर्ने, एकान्तप्रेमी हुने जस्ता कुराहरू यस भित्र पर्दछन् ।

त्यसो हो भने डिप्रेसन र मानसिक रोग एउटै हो त ?

डिप्रेसन र मानसिक रोगलाई एउटै भन्न त मिल्दैन । डिप्रेसन मानसिक रोग हो तर सबै खालका डिप्रेसन मानसिक रोग हैनन्  । मानसिक रोग भित्र पर्ने विश्वका खतरनाक रोगहरू मध्ये डिप्रेसन, मेनिया, सिजोफ्रोनिया, दुर्व्यसनी र डिमेन्सिया हुन् ।

मध्यम खालको प्राय समाजमा अधिकांश  व्यक्तिहरूमा मानसिक रूपमा डिप्रेसन भएको हुन्छ । निराश हुने,टोलाउने, बाँच्नु भन्दा मर्नु ठिक भन्ने, हात खुट्टा झम्झमाउने, टाउको दुख्ने, जस्ता लक्षणहरू देखा पर्दछ । लागुपर्दाथको सेवनको कारणले गर्दा डिप्रेसन हुने तत्थाङ्क पनि  छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा ५०करोड मानिसमा कुनै न कुनै  प्रकारका मनोरोगका समस्या रहेका छन् । मानसिक समस्याकै कारण कतिपयले आत्महत्यासम्म गर्न सक्छन् । हामीलाई थाहै छ नेपाल आत्महत्या गर्ने देशहरूको सुचीमा आठौँ स्थानमा छ ।

कतिपयले मानसिक रोगलाई पुर्वजन्मको पाप भन्ने गर्दछन् नी ? 

यो एकदमै वाहियात कुरा हो । म यसमा पूर्णरुपमा  असमहत छु । मानसिक रोग किन, कसरी लाग्दछ भनी विज्ञानले प्रमाणित गरी सकेको छ । यो कुनै पापको कारण हुने हैन ।  मानसिक रोग दुई प्रकारबाट लाग्दछ , वंशाणुगत गुण र अर्को भनेको बाहिरी तत्त्वहरूबाट लाग्दछ । गाउँघरतिर अहिले पनि मानसिक रोग लागेमा पागल भयो, बाहिर खुल्ला हिँड्न दिनुहुन्न वा अरूलाई थाहा दिएमा बेइजत हुन्छ, औषधि खान दिँदा बढी हुन्छ  भन्ने जस्ता भ्रम व्याप्त छन् । धामी झाँक्रीले निको पार्दछ भन्ने जस्ता अन्धविश्वास शिक्षित वर्गमा पनि अझै व्याप्त छ । हामीले स्पष्ट बुझ्नु पर्ने कुरा के हो भने यो रोग कुनै पूर्व जन्मको फल हैन । 

 सरकारी तवरबाट मनोरोगीलाई के कस्ता सेवा सुविधाहरू दिइएको छ ?

इन्टरनेसनल मेन्टल हेल्थ नामक सर्वेक्षण सुरु भएको छ । यो भन्दा अगाडि सरकारी स्तरबाट कुनै पनि सर्वेक्षण भएका छैनन् । सङ्घ, प्रदेश,स्थानीय सरकारबाट मानसिक रोगीहरूलाई मासिक भत्ताको व्यवस्था गरेका छन् । नेपालमा करिब २० —२५ प्रतिशत जनसङ्ख्या कुनै न कुनै किसिमको मानसिक रोग भएको अनुमान गर्न सकिन्छ ।

मानसिक रोगका लक्षणहरू के के हुन् ?

–मनमा अनावश्यक धेरै कुराहरू सोच्ने,

–मुटुको धड्कन बढ्ने,

– एक्लै मात्र बस्न मन पराउने,

–आवाजहरू मन नपर्ने हुनु,

–एकान्त प्रेमी हुनु,

डर लाग्ने, तर्सिने, विना कारण झसङ्ग हुने, जिउमा कम्पन हुने,सास फेर्न गाह्रो हुने, पसिना आउने हुन्छ । त्यस्तै निन्द्रा नपर्ने, छटपटी हुने, कामको बेलामा विभिन्न खालको डर महसुस हुने आदि हुनसक्छ ।

 

मानसिक रोगबाट कसरी बच्ने  ?

धेरै कुराहरू नसोच्ने,

आफूलाई कामहरूमा व्यस्त राख्ने,

रमाइला र चाख लाग्दा कुराहरू मात्र पढ्ने हेर्ने ,

नकारात्मक सोच परिवर्तन गर्ने,

सकारात्मक सोचले अगाडि बढ्ने,

कुलतबाट टाढै रहने

स्वास्थ्यलाई स्वस्थ राख्ने,

पौष्टिक तत्त्व भएको सन्तुलित भोजनको सेवन गर्ने,

आराम, व्यायाम गर्ने आदि । 

अन्त्यमा के भन्नु हुन्छ ? 

रोग लुकाएर राख्नु हुन्न । यदि आफूलाई कुनै प्रकारको मानसिक समस्या भए जस्तो लागेको छ भने तुरुन्त मनोरोगसम्बन्धी चिकित्सकसँग परामर्श गर्न आग्रह गर्दछु । परिवारका अन्य सदस्यले पनि आफ्नो परिवारको सदस्यलाई कुनै मानसिक समस्या भएजस्तो लागे त्यसलाई बेवास्ता नगरी उपचार गराउन सहजीकरण गर्न आग्रह गर्न चाहन्छु । समयमै उपचार हुन सके मानसिक रोगको उपचार हुनसक्छ त्यसैले मानशिकरोगका लक्षण देखिए जस्तो लागेमा आफ्ना परिवारका सदस्यलाई उपचार गर्न कन्जुस्याइँ नगरौँ भन्न चाहन्छु । 

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ४ : ५५ बजे