मन्थली विमानस्थलमा पानी पस्यो

मच्छरले निदाएको बेला सिङ्गै हात्ती खाएको सपना देख्नु र माधव नेपालले एमालेलाई टर्चबालेर खोज्नु पर्छ भन्नू उस्तै हो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मच्छरले निदाएको बेला सिङ्गै हात्ती खाएको सपना देख्नु र माधव नेपालले एमालेलाई टर्चबालेर खोज्नु पर्छ भन्नू उस्तै  भएको बताउनुभएको छ ।  केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै ओलीले केही मानिस बाहिरिँदैमा नआत्तिन अनुरोध गर्नुभएको हो ।

'हामीले विगतको समीक्षा गरेका छौं । सिक्ने मुख्यत: उपलब्धी र असफलताबाट हो । सफलतापूर्वक अगाडि बढेका छौं । अलिकिति धक्का खायौं, सेटब्याक खायौं भन्दैमा निराश हुनुहुँदैंन,' ओलीले भन्नुभयो , 'संविधान बनाएपछि सरकारबाट हटाइयौं । खासै फरक परेन । सम्हालिएर अघि बढ्यौं । बलियो भएर सरकारमा आयौं । फेरि पनि हामी सम्हालिएर अघि बढ्छौं ।'

विचार, संगठन र विगतका कामहरुले सम्हालिएर अघि सक्ने उहाँको भनाइ थियो । 'कसरी भोट माग्न जाने, के के गर्‍यौ भन्ने स्थिति छैन । केही काम नगरेर, विध्वंश मच्चाएर काम गर्ने त जनतामा जाने भन्दै छन् । हामीले त काम गरेका छौं,' उहाँले भन्नुभयो , 'जनताको इच्छा, आकांशविरुद्ध केही गरेका छैनौं । जनताको पक्षमा, समाजिक परिवर्तनको क्षेत्रमा असाधारण काम गरेका छौं ।'

यिनै कुराहरु प्रतिवेदनमा रहेको र केन्द्रीय सदस्यहरुले समर्थन गरेको भन्दै ओलीले धन्यवाद दिनुभयो ।

आफूहरुको गन्तव्य समाजवाद भएको उहाँले बताउनुभयो । 'हामीले स्पष्ट गन्तव्य तोकेका छौं । अहिले समाजवाद उन्मुख बाटो भनेका छौं । नबुझिने खालको होइन, बुझिने खालका बहस, गन्तव्यमा छौं,' ओलीले भन्नुभयो, 'हामीले भनेको समाजवाद समृद्ध नेपाल सुखी नेपाली हो । समाजिक समानतासहितको समृद्ध नेपाल हो । जनताको जीवनस्तरमा आएको परिवर्तनसहित समृद्ध नेपाल हो ।'  

कागजी र तथ्यांकको समृद्धि एमालेको लक्ष्य नभएको उहाँको भनाइ थियो । 'हाम्रो एटिट्युट पुँजीपति एटिट्युट होइन । जीडीपी, प्रतिव्यक्ति आय बढ्यो भनेर समृद्धि हासिल गर्ने तर मानवीय आसु पीडा बाँकी नै हुन्छ । हामी सानो पनि पीडा हुनुहुँदैन भनेर अघि बढ्छौं,' उनले भने, 'समाजको कोही वर्ग पछाडि नपरोस् । हरेकले वितरण, उपलब्धी, राष्ट्रिय मतमा आफ्नो हिस्सा हुन सकोस् भनेर सुझावहरु आएका छन् । म स्वागत गर्छु ।'

ओलीले आत्मनिर्भरतातिर अघि बढ्ने बताउनुभयो । व्यापारलाई घाटाको स्थितिबाट नाफामा लैजान निर्यात बढाउनेतिर आफूहरु जाने उहाँको भनाइ थियो ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ३ : ४० बजे