यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

गाँजालाई वैधानिकता दिन माग

काठमाडौं । नेकपा एमालेका नेता तथा बाग्मती प्रदेशका सांसद केशव स्थापितले गाँजालाई वैधानिकता दिन माग गरेका छन् ।

उनले गाँजालाई औषधिको रूपमा प्रयोग गर्नुपर्ने धारणा राखेका हुन् । गाँजालाई लागुऔषधका रूपमा भन्दा पनि औषधि प्रयोजनका लागि वैधानिकता दिनुपर्नेमा उनले जोड दिए । 

‘नेपालमा रहेका युवाहरूलाई गाँजाको सही प्रयोग गरी रोजगारी सिर्जना गर्नुपर्छ’, उनले भने । उनले गाँजालाई औषधिको रूपमा प्रयोग गर्नेबारे माधव नेपाल एमालेका महासचिव हुँदा कुरा गरेको बताए ।

तर, माधव नेपालले गाँजाको प्रचार नगर्न भनेकाले आफूले प्रचार नगरेको उनको भनाइ थियो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यस विषयमा आवाज उठाउन आग्रह गर्दा आफ्नो पार्टीमा लाग्न प्रस्ताव गरेको उनले सुनाए ।

गाँजालाई सकारात्मक रूपले प्रयोग गरे देशको कायापलट हुने नेता स्थापितले बताए । आफ्नो पार्टीले गाँजालाई वैधानिकता दिन प्रयास गर्नेसमेत उनको भनाइ थियो ।

गाँजा वैधानिक अभियानका अभियन्ता राजीव काफ्लेले आफू गाँजालाई वैधानिकता दिलाउन निरन्तर लाग्ने बताए । ‘गाँजा खाने वा ड्रग्स खानेलाई थुनेर राखे मात्र यसको नियन्त्रण हुन्छ भन्ने छैन । यसलाई खुला गरे मात्र यसको उपभोक्तामा कमी आउनेछ’, उनले भने । 
 
अधिवक्ता साम्युन कार्कीले लागुऔषध नियन्त्रण ऐन, २०३३ मै रहेका विभिन्न दफा र प्रकरणमै गाँजालाई वैधानिकता दिनेबारे ठाउँ राखिएको बताइन् ।
 
गाँजा उद्यमी र अभियन्ता इसा क्षेत्रीले देशमा गाँजा भन्नेबित्तिकै समाजले हेर्ने दृष्टिकोणमा फरक परिरहेको बताइन् । ‘महिलाहरूलाई महिनावारी हुँदा गाँजाको तेलले पेटमा मालिस गर्‍यो भने केही हदसम्म पेट नदुख्ने, राति सुत्दा दूधमा गाँजालाई राखी खाए पेट दुखाइ कम हुने हाम्रो अभ्यास छ’, उनले भनिन् । गाँजाको निकै फाइदा रहेको र यसमा निकै प्रोटिनसमेत पाइने गरेको उनको भनाइ रहेको छ । चिकित्सक सम्बोधन आचार्यले गाँजालाई वैधानिकता दिनुपर्ने र यसमा पाइने पद्धार्थले रोगबाट बचाउने बताए । 

गाँजा वैधानिक महाअभियानका अभियन्ता जोसेफ मदन कोइरालाले संसद्‌मासमेत गाँजाले वैधानिकता पाउनुपर्ने विधेयक आइसकेको र त्यसलाई चाँडोभन्दा चाँडो संसद्‌मा टेबुल गर्नुपर्ने धारणा राखे । उनले गाँजाले वैधानिकता नपाएसम्म आफूहरूले अभियान जारी राख्ने पनि बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ९ : २४ बजे