प्रधानमन्त्रीज्यू ! गठबन्धनका नाममा देशलाई कहिलेसम्म बन्धक बनाई राख्नुहुन्छ ?

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको साढे दुई महिना पुरा भएको छ । यो साढे दुई महिनाको समयसम्म सरकारले पाँचमन्त्री र १ राज्यमन्त्री नियुक्त गर्नदेखि बाहेक अरु कुनै काम देखाउन सकेको छैन । 

सत्ता गठबन्धनका दलहरुको बाध्यता वा अन्य जेसुकै कारणले मन्त्रिपरिषद्ले पूर्णता नपाए पनि सरकारको नेतृत्व गरेको हैसियतले प्रधानमन्त्री देउवाले त्यसको जवाफ जनतालाई दिनुपर्छ । राज्यको साढे दुई महिनाको यति महत्वपूर्ण समय यही पाँचदलीय गठबन्धनको भागबण्डा नमिलेर नै ढिलाई भएको हो वा अन्य केही स्वार्थका कारण समस्या उत्पन्न भएको हो प्रधानमन्त्रीले अब जनतालाई प्रष्ट रुपमा भन्न सक्नुपर्दछ । गठबन्धनको सरकारमा  १ सय ६५ जनाको बहुमत छ । किन सरकारले पूर्णता पाईरहेको छैन ? सरकार सन्चालनमा अबरोध श्रृजना गर्न कसैले च्यापेको पो छ कि ? कसैले धम्की पो दिएको छ कि ? किन देश बन्धक छ ? कसैको पद जोगाईदिन, कसैको दल फूटाईदिन, अर्को दल जोगाउन, देशलाई बन्धक राख्ने यो परिपार्टी कहिले सम्म चल्छ, प्रधानमन्त्रीज्यू ?

यी सारा अपजसको जवाफ  प्रधानमन्त्रीले दिनुपर्दछ । सरकार गठन भएको १०० दिन पुगेको छैन सरकारको कामको मूल्यांकन गर्ने समय आइसकेको छैन भन्ने प्रश्न उठ्न सक्ला तर अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्तिका सबै राजदूत फिर्ता बोलाउने निर्णय गर्न सक्ने, बिभिन्न आयोगहरु खारेज गर्न सक्ने, विकास निमार्णमा भईरहेका कामहरु रोक्न सक्ने या भनौ अघिल्लो सरकारले गरेका कामहरु खोजीखोजी उल्ट्याउन प्रधानमन्त्रीलाई फुर्सद हुने तर राज्य सन्चालनको कामलाई गति दिने कार्यमा किन उहाँ गम्भिर देखिनुभएन ? भारतीयले तुईन काट्दा बोल्न नसक्ने, विदेशी हेलिकप्टर नेपाली आकाशमा उड्दा बोल्न नसक्ने, दक्षिणतिर सीमा विवाद छ, विवाद नभएको उत्तरी सिमानामा टोली पठाउने, चुच्चे नक्साको बारेमा बोल्न नसक्ने । अघिल्लो सरकारले ल्याएका खोप बितरण गर्न नसक्ने प्रधानमन्त्रीले यी यावत प्रश्नको जवाफ दिनुपर्छ कि पदैन ?

यदि प्रधानमन्त्री देउवाले गठबन्धनमा भएका नेताहरुका कारण काम गर्न नसकेको हो भने, गठबन्धनमा भएका नेताले कति दुख दिन्छन भन्ने जानकारी त पहिलो सरकारकै पालामा उहाँले देख्नुभएको थिएन र ? जनताले गठबन्धनको कुरा, सहयोगी दलको कुरा बुझदैन्न । प्रधानमन्त्रीको हैसियतले तपाई सरकारमा आइसक्नुभएपछि जनताका लागि के कति उपलब्धी मुलक काम गर्नुभयो त्यो महत्वपुर्ण कुरा हो । 

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले यीनै गठबन्धनमा भएका नेताहरुले काम गर्न नदिएपछि चुनाव घोषणा गरेकै हो । देउवा सरकारलाई पनि काम गर्न साच्चै गाहो नै छभने मिलेर चुनावमा जाउ, चुनावको मिती घोषणा गर, होइन यी नै गठबन्धनका नेताहरुबाट सरकार सन्चालन हुन्छ भने राज्य कसरी सन्चालन गदै हुनुहुन्छ, जनतालाई प्रष्टसँग भन्नुस् । तपाई के गदै हुनुहुन्छ ? तपाईको योजनाहरु के के छन ? कहिले सम्म सरकारले गति लिन्छ ? देश बनाउने तपाईको भिजन के हो ? प्रधानमन्त्री ज्यू अब तपाईले बोल्नुपर्दछ । देशलाई यसरी लामो समयसम्म बन्धक बनाइराख्न तपाईले पाउँनुहुन्न ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ३ : २८ बजे