साफ यू–१७ च्याम्पियनसिप आजदेखि

पूर्व राष्ट्रपतिज्यू, संविधानको अपव्याख्या किन !  

संविधान दिवसका दिन असोज ३ गते पूर्व राष्ट्रपति  रामवरण यादव सातौँ  संविधान दिवसका अवसरमा मौखिक र लिखित मन्तव्य व्यक्त गर्दै हुनुहुन्थ्यो । वरिष्ठ पत्रकार ऋषि धमलासित अन्तवार्तामा  र छापा पत्रिकामा यादवका अभिव्यक्ति सुन्दा अमुक पार्टीको नेता वा कार्यकर्ता जस्तो अति संकीर्ण विचार व्यक्त गरेको देख्दा गणतन्त्रकै उपहास भएको जस्तो लागेको छ ।

उहाँले नेपालको संविधान हतारमा जारी गरिएको अझ परिपक्व संविधान जारी गर्नु पथ्र्यो भन्नु भए पनि उहाँ भारतीय सहमतिमा मात्रै संविधान जारी गर्नु पर्ने पक्षमा कटिबद्ध हुनुहुन्थ्यो भन्ने कुरा जवर्जस्त रुपमा पुष्टि हुन्छ । उहाँ संविधान समयमै जारी नगर्ने पक्षमा हुनुहुन्थ्यो । संविधान त्यस बेला जारी नभएको भए देश कुन भड्खालोमा जाकिन्थ्यो भन्ने कुरा राम्ररी बुझेरै यादव असन्तुष्ट हुनु भएको हो । भरसक संविधान जारी नगर्न उहाँ उद्यत हुनुहुन्थयो ।

त्यसैले संविधान सभामा आउन वहाँ मानिरहनु भएको थिएन । तर वहाँ नआए पनि संविधान जारी गर्ने आन्तरिक तयारी गरेपछि बाध्य भएर यादव संसद्मा आउनुभएको हो । यादवका यस्ता हर्कतका बारेमा नेका नेताले पनि खुला  असन्तुष्टि गरेका  थिए  । संविधानमा त्रुटि छन् र होलान् तर यो सविधान नेपालको शान्ति ,स्थिरता,विकास तथा राजकीय नवीन स्थिति बसाल्ने एक महत्वपूर्ण उपलब्धि हो ।

तर संविधान जारी हुने बित्तिकै घिउभात  खान पाइँदैन ।  त्यसपछि ओली सरकार जस्तै जनताको सरकार पाँच वर्ष चल्नुपथ्र्यो, समय लाग्छ । ओली सरकार पाँच वर्ष स्थिर रहन दिएको भए धेरै उल्लेख्य उपलब्धि थपिने थिए । यादवज्यूले अहिले सम्म ओलीले जस्तो भूकम्प,प्राकृतिक लगायतका कारण घरबार विहीन जनताको अढाइ वर्षमा आड लाख घर बनाएर जनतालाई हस्तन्तरण गरेको कहिल्यै सुन्नु भएको थियो ? भारतबाट पाइप लाइनबाट डिजेल नेपालले ल्याउँदा वार्षिक डेढ अरव ढुवानी खर्च जोगिएको सुन्नु जान्नु भएको थियो ? थिइएन भने सुन्ने बानी बसाउनुहोस् । यो पाइपलाइन दक्षिण एशियामा दोस्रो हो नि । १४० वटा तुइन मध्ये १३० वटा तुइन विस्थापित भएको हेर्नुहोस् । धरहरा,रानी पोखरी हेर्न जानु होस् ।  मेलम्चीको पानी त खानु नै भयो होला । त्यसै राजनीतिक आग्रह र दुराग्रहका  आधारमा राम्रा काम नदेखेझैँ बैगुनी नबन्नुहोस् ।    

यादवले प्रधानमन्त्री र राष्ट्रपतिको मिलीभगतमा भएको सम्म भन्न भ्याउनुभयो  । मिलीभगत जस्तो अत्यन्त भद्दा आरोप राष्ट्रपतिलाई लगाउनु भनेको यादवले आफैँतिर तथानाम बोल्नु् हो ।  जनादेशलाई कुण्ठित गर्ने अनि परमादेशबाट टिके प्रधानमन्त्री बनाउनु चाहिँ संवैधानिक देख्ने यादवको चश्माकै दोष मान्नु पर्ने हुन्छ । कालो चश्मा लगाएपछि उज्यालो देखिँदैन ।

महाकाली नदीमा भारतीय एसएसपीले तुइन खुस्काइदिएर मारिएका निहत्था नेपाली सपूत भट्टका विषयमा सरकारले त वास्ता गरेन यादवले किन के कारणले समवेदनाको एकशब्द उल्लेख गर्नु भएन ?   के भट्ट तराइ मधेसी होइनन् भनेर  हो  ? अनि सभामुखका जालीझेली,कीर्ते र दोहोरो मापदण्डका घीन लाग्दा चरित्र चाहिँ संसदीय हुन् ? कसैलाई र  कुनै दललाई दल वा पार्टीका ह्वीप लाग्ने कुनैलाई नलाग्ने सर्वोच्च अदालतको फैसला लोकतान्त्रिक हो यादवज्यू ? मन्त्रीमण्डल अहिले सम्म विस्तार हुन सकेको छैन यो चाहिँ कसले रोकेको र ओलीले नै छेकेको हो ? आफ्नो मान,प्रतिष्ठा र थान्कामा बस्दा मात्र कुनै पनि मानिसलाई सुहाउँछ ।  

ससुराल जाँदा र त्यहाँ बस्दा ज्वाइँकै भूमिकामा बस्नु पर्छ । तर  ससुरालमा त्यस विपरीत बोली वचन र व्यवहार गर्दा सर्वथा अनुचित  हुन्छ र लाज मर्दो अवस्था सिर्जना हुन्छ ।  अत्यन्त भद्दा ,रफ र कुरुप भूमिका निर्वाह गरेर आफैँ भुइँमा पछारिएको थाहा नपाउने हामी कस्ता हाम्रा  कस्ता महामहिम ?

नभन्दै लामो समय नेका, एमाले लगायत पार्टीगत स्थूल वा अबौद्धिक भूमिकामा रहेका नेपाली राष्ट्रको सम्मानित हैसियतमा पुगे पनि  कतिपय पार्टीगत क्षुद्र चिन्तनभन्दा माथि उठ्ता रहेनछन् । पूर्व राष्ट्रपति रामवरण यादवप्रति यो लेखक अत्यन्त सम्मान गर्छ किनकि व्यक्तिलाई भन्दा संस्थालाई अझ कम्तीमा औपचारिक रुपमा आदर कदर र यथोचित सम्मान गर्नु पर्छ भन्ने बुझेको छ । तर कमजोरी उपर चर्चा गरियो भने भोलि आउने महामहिम सतर्क हुने अवस्था आउँछ भनेर मात्र यो लेख लेखिएको हो । 

पूर्व राष्ट्रपति महामहिम रामवरणले पहिले झैँ आजको अन्तर्वार्तामा पनि वर्तमान राष्ट्रपति र पूर्व प्रधानमन्त्रीलाई संसद् विघटन गरेको विषयमा  भद्दा आलोचना गर्दै हुनुहुन्थ्यो । उहाँ ओलीलाई लक्षित गर्दै  कुपात्रका कारण संसद् विघटन भएको भन्दै हुनुहुन्थ्यो । लोकतन्त्र,संविधान,संघीयता सबै माथि ओलीलाई हमलावर भन्दै हुनुहुन्थ्यो । अमुक पार्टीको सामान्य कर्यकर्ताका स्तरमा ओर्लिएर वहाँले बोल्दा गणतन्त्र बदनाम हुँदै थियो ।

कहिले नेकाका नेता कार्यकर्ताहरुलाई शीतल निवासमा बोलाएर महासमितिलाई प्रभावित पार्ने दही चिउरा खुवाएर,कहिले भूपू प्रम सुशील कोइरालालाई २३ पन्ने आदेश पत्र थमाउनु हुन्थ्यो भने कहिले आफ्नै छोरालाई सभासद् बनाउन र निर्वाचनमा जिताउन सक्रिय भूमिका निर्वाह गर्नु हुन्थ्यो । ठीक यस्तै खालको भूमिका वर्तमान राष्ट्रतिबाट होस् भन्ने चाहना हो यादवज्यूको । यति मात्र होइन यादवले गरेको सबैभन्दा संगीन भूमिकाका बारेमा   ।  प्रसिद्ध मानव अधिकारवादी कृष्ण पहाडीले एक पत्रिकामा उहिल्यै उल्लेख गरेका छन् ।

संविधान आउँदाका बेला राष्ट्रपति निवासमा बसेर षडयन्त्र नगरेको भए मधेस आन्दोलनमा यति धेरै मान्छे मारिने थिएनन्, सत्तामा बस्ने ,सर्वोच्च पदमै बसिसकेका न्यायिक पृष्ठभूमिका मान्छेले समाजमा दुरी बढाउँदै हिँडेपछि कसरी हुन्छ ?
कृष्ण पहाडी,नागरिक २०७३ जेठ १७ गते अरुलाई एक औँलो देखाउँदा चारऔँलाले आफैँलाई देखाइरहेको यादवले देख्नु भएन ।  

२०७३ पुस १७ गते महामहिम पूर्व राष्ट्रपति डा. रामवरण यादवको नागरिक पत्रिकामा एक महत्वपूर्ण अन्तर्वार्ता प्रकाशित छ । उक्त पत्रिकामा प्रकाशित  राष्ट्रपतिका अन्तर्वार्ता आधारित भनाइहरु मात्र होइन यसभन्दा अघि पनि उहाँका अभिव्यक्ति र व्यवहारमा देखिएको असंगति केलाउनु यस लेखको उद्देश्य हो । यस लेखको आरम्भमा उल्लिखित पहाडी लिखित अभिव्यक्ति सत्य संगत र तथ्यपरक देखिन्छ ।

त्यसबेला विभिन्न पत्रपत्रिकामा यादवले धेरै भड्काउ कुरा गर्नु भएको थियो । भारत  प्रायोजित संविधान विरुद्ध उत्ताउलो रुपमा सक्रिय मधेसी नामका नेताहरुलाई निवासमै बोलाएर  राम्ररी सम्झाउनु भन्दा भित्रभित्रै तिनलाई   पूर्व राष्ट्रपति डा. रामवरण यादवले भड्काएको जगजाहेर भएको छ । त्यति मात्र होइन  निर्मल निवास  संविधान विरुद्ध दिलोज्यानले उत्तेजना बढाउने काममा गोप्य रहस्यमय आश्रय स्थल बनेको स्पष्ट भयो । यस्ता बेलामा  राष्ट्रिय एकता र अखण्डताको कुरा किन यादवले नगरेको ?      

तराईमधेस छोडेर वा मधेसलाई  अलग राष्ट्र बन्न दिने कुरा एउटा सच्चा देशभक्त पार्टी,व्यक्ति र नेतृत्वले यस्तो कुरा सोच्न सक्छ ? राष्ट्रिय एकता,अखण्डता,स्वाधीनता र सद्भाव जस्ता विषयमा तर,तथापि,परन्तु आदि घुमाउरो र काइते कुराको कुनै अर्थ छैन । देशलाई प्रेम गर्ने कुरा पनि घुमाएर गर्नुपर्छ ? एउटा राष्ट्रवादीले सत्य कुरा सोझैँ गर्दा हुन्छ । अझ राष्ट्रपतिज्यूले त मधेस पहाडबाट  अलग रहे पनि हुन्छ भन्ने कुरा गरेर घुमाउरो रुपमा नेपाललाई दुई राष्ट्र (अर्थात् पहाड र मधेस राष्ट्र बनाउने ) कुरामा परोक्ष सहमति राखेको  देख्दा अचम्म लागेको छ । कृष्ण पहाडीले नागरिक पत्रिकाको २०७३ जेठ १७ गते प्रकाशित लेखमा ठूला दलबाट शक्तिशाली पदमा पुगिसकेका मान्छेलाई नै भड्काएर देश विरुद्ध प्रयोग गर्ने खतरा रहेको बताएका थिए । 

प्रक्रियामा विश्वास गर्ने भएकाले असन्तुष्टिलाई थाती राखेर पद्धतिलाई स्वीकार गरेको बताउने यादवले मधेसी दललाई किन राम्ररी सम्झाउन  भन्दा आफ्नै असन्तुष्टि पो छर्न थाल्नुभयो । 

दक्षिण छिमेकीको कपटपूर्ण स्वार्थ नै के हो भने नेपालको संविधान नबनोस्,बनिहाले बिथोलियोस् र लागु नहोस् भन्ने नियत त खुल्ला भएकै थियो  । 

प्रथम महामहिम राष्ट्रपति जस्तो शीर्षस्थ व्यक्तित्वले नेपाली एकतालाई अलगथलग पार्ने खालका विचार अझै बारबार प्रवाह बोलिरहनु जाती हुन्छ ?

तमाम नेपाली जनता सबका सबको चित्त बुझ्ने वा सर्वसम्मत संविधान कहाँ जारी भएको छ ? एउटासम्म उदाहरण दिन सक्नु हुन्छ ? तर अहिलेसम्म यो दुनियाँमा संविधान सभाले बनाएको संविधान मध्ये नेपालले  बनाएको ९० प्रतिशत भन्दा बढीको अनुमोदन कुन देशमा कहाँ छ देखाउन सक्नु हुन्छ ? हामी आफ्नै घर परिवारमा पनि भनेजस्तो चित्तबुझ्दो काम गर्न सकिरहेका छौनौँ । तपाईं आफैँले चाहे अनुसार,सोचे अनुसारको सबै कुरा परिपन्च, प्रबन्ध र पौल  भएको जिन्दगी बिताउन सकिरहनु भएको छ ? 

नागरिक पत्रिकाको अन्तर्वार्तामा यादवले  आफूलाई अरु थप आर्थिक भौतिक सरसुविधा दिनु पर्ने र थप गर्नुपर्ने कुरा गर्नुभएको रहेछ तर तपाईंले पनि तराइमधेसका गाँस,बास र कपासहीन तमाम तराइ मधेसबासी जनताको दुःखको र तिनलाई यो कठ्याङ्ग्रिदो जाडोमा न्यानो लुगासम्म वितरण गर्नु पर्ने कुरा त कहिल्यै गर्नु भएन । 

भारत अनुकूल वा कन्फर्टेवल सरकार बनाउन ओली सरकार हटाएको त घाम जत्तिकै छर्र्लङ्ग भो नि । भट्ट मारिएको विषयबारे भारतसित सोझो संवाद गर्न नसक्ने हुतीहारा सरकारको पक्षपोषण गरेर आफूूलाई धेरै तल नझार्नु होस् महामहिमज्यू  । ओली सरकारले  विगत सरकारका तुलनामा अतुलनीय काम गरेको हेर्नु होस् र राम्रोलाई राम्रो भन्न सकिन्न भने चुप लाग्नु होस् टाउको हल्लाउनुहोस् ।

ओली सरकारले हिमाल,पहाड तराई मधेसको विकास भावी सन्ततिका लागि गरेको हो । घर भइभइ घर भाडा लिने र खाने नियत वर्तमान राष्ट्रपति र पूर्व प्रधानमन्त्री ओलीको छैन । आफ्नो भएको चलअचल सम्पत्ति ट्रष्टमा विधिवत्  जिम्मा दिने ओलीलाई धारे हात लगाउन छाड्नुहोस् ।

अमुक पार्टीको नेता र कार्यकर्ताको तहमा ओर्र्लिएर बोल्न लेख्न तपाईँलाई किमार्थ सुहाउँदैन । संविधान लागू भएको र यसलाई सबैले आत्मसात् गरेको यथार्थ सतय उल्लखे गर्नुहोस् । भन्नलाई संविधानको विरोध गरेको भन्ने र गर्ने पनि तर भएजतिका सबै संविधान प्रदत्त अवसरहरु हात पारे पछि त्यसलाई संविधान नमानेको भन्न सुहाउँछ यादवज्यू ?
 

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १० : १२ बजे