भक्तपुरका चार स्थानीय तह : तीनवटाले सञ्चालनमा ल्याए नगर अस्पताल, एउटाले चाँडै ल्याउँदै

भक्तपुर – मुलुकले संघीयता पाएसँगै विकास निर्माण कार्यले पनि तीव्रता पाएको छ । अधिकांश स्थानीय सरकारले निर्वाचन भएपछि भौतिकसँगै स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राख्दै आएका छन् । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले नेपालको स्वास्थ्य क्षेत्रमा क्रान्ति नै ल्याएको छ । स्थानीय तहले विकास निर्माणलाई थातीमा राखेरै पनि नगर अस्पताल सञ्चालन गर्दै आएका छन् । 

गत १५ मंसिरमा मुलुकभरका स्थानीय तहले नगर अस्पताल भवन निर्माणका लागि शिलान्यास गरेका थिए । सोहीअनुरूप अस्पताल निर्माणका लागि स्थानीय तह जुटे । भक्तपुरका चारवटा स्थानीय तहले पनि चार वर्षयता नगरको भौतिक विकाससँगै स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राख्दै आएका छन् । 

भक्तपुरमा चाँगुनारायण, सूर्यविनायक, भक्तपुर र मध्यपुर थिमि गरी चारवटा स्थानीय तह छन् । यहाँ चारमध्ये तीन पालिकाले नगर अस्पताल निर्माणसँगै सञ्चालनमा ल्याइसकेका छन् । बाँकी एक नगरपालिकाले अस्पताल भवन निर्माणको अन्तिम चरणमा जनाएको छ । 

चाँगुनारायण नगरपालिका

चाँगुनारायण नगरपालिकाले गत वर्षदेखि नगर अस्पताल सञ्चालनमा ल्याएको हो । पालिकाले वडा नम्बर ४ स्थित हुचिढुंगामा १५ शया क्षमताको नगर अस्पताल सञ्चालनमा ल्याएको हो । नगर प्रमुख सोमप्रसाद मिश्रका अनुसार पालिकाले कोरोना महामारी नियन्त्रणका लागि भौतिक विकासलाई थाती राखी स्वास्थ्यमा लगानी गर्दै आएको छ । पालिकाले प्राथमिक स्वास्थ्य चौकीको भवनको स्तरोन्नती गरेर नगर अस्पताल सञ्चालनमा ल्याएको उनले बताए । 

हाल अस्पतालमा तीनजना चिकित्सकसहित ३७ जना कर्मचारीले स्थानीयलाई स्वास्थ्य सेवा दिँदै आएकका छन् । कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि नगर अस्पतालमार्फत स्थानीयको उपचार गर्दै आएको उनले बताए । जनस्वास्थ्य निरिक्षक लोकेन्द्रबहादुर पौडेलले अस्पतालमा अक्सिजन प्लान्ट जडानको तयारी भइरहेको बताए । त्यसका लागि आवश्यक सामग्री अस्पतालमा ल्याइसकेको छ । अस्पतालले नाक, कान, घाँटी उपचार, प्रसूति सेवा, एक्सरे सेवालगायत विभिन्न सेवा दिएको उनले बताए । अस्पतालमा दुई शैया एचडियु क्षमतासहित १५ शया क्षमता रहेको उनको भनाइ छ । 

भक्तपुर नगरपालिका

भक्तपुर नगरपालिकाले ख्पवः अस्पताल सञ्चालनमा ल्याएको छ । पालिकाले च्यामासिंहमा रहेको जनस्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेसँगै ख्वपः अस्पताल भवन निर्माणसमेत गर्दै आएको छ । साथै करिब एक सय शया क्षमता रहेको भवन निर्माण गरेको छ । 

अस्पतालमा पालिकाले स्थानीय जनताको सहयोगबाट अक्सिजन प्लान्ट जडानसँगै अक्सिजन उत्पादन पनि गर्दै आएको छ । जनताको सहयोगद्वारा निर्मित अक्सिजन भएको भन्दै पालिकाले नगवासीलाई निःशुल्क रूपमा अक्सिजन वितरणसमेत गर्दै आएको नगर प्रमुख सुनिल प्रजापतिले बताए । अस्पतालबाट दैनिक ६ सयदेखि सात सय विरामीले सेवा लिँदै आएका छन् ।  कोरोना महामारीसँग जुध्न आइसोलेसन, क्वारिन्टिन र कोभिड डेडिकेटेड एम्बुलेन्स सञ्चालनमा ल्याएको स्वास्थ्य शाखा संयोजक रत्नसुन्दर लासिवाले बताए ।

 
मध्यपुर थिमि नगरपालिका

मध्यपुर थिमि नगरपालिकाले नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताललाई सञ्चालनमा ल्याएको छ । पालिकामा स्थानीय जनप्रतिनिधि आएपछि अस्पतालमा भौतिकसँगै स्वास्थ्य क्षेत्रमा सुधार पनि ल्याएको छ । एक सय दुई शैया क्षमता रहेको अस्पतालमा २५ वटा एचडियु रहेको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले बताए । 

कोरोनाको दोस्रो लहरमा कोभिड संक्रमित विरामीको उपचारका लागि अक्सिजन अभाव भएपछि अस्पतालले अक्सिजन प्लान्ट जडान गरी उत्पादनसमेत गर्दै आएको उनले बताए । दैनिक ३० सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमता भए पनि हाल आवश्यकताको आधारमा मात्रै उत्पादन गर्दै आएको श्रेष्ठको भनाइ छ ।
आकस्मिक सेवा, एक्सरे, एन्टीजेन्ट परीक्षण, पीसीआर परीक्षण, एचडियु वार्डलगायतको विभिन्न स्वास्थ्य सेवा दिँदै आएको उनले बताए । हाल अस्पतालमा दैनिक पाँच सयभन्दा बढी विरामी उपचारका लागि आउने गरेका छन् ।

सूर्यविनायक नगरपालिका

सूर्यविनायक नगरपालिकाले वडा नम्बर ८ स्थित जगातिमा नगर अस्पताल सञ्चालनका लागि आवश्यक तयारी गर्दै आएको छ । पालिकाले ५० शया क्षमताको अस्पताल भवन निर्माण गरिसकेको छ । तर रंगरोगनसँगै सजावट र आवश्यक स्वास्थ्य सामग्री  जुटाउने कार्य भइरहेको उपप्रमुख जुना बस्नेतले बताइन् । 

पालिकाका सूचना अधिकारी अनिरुद्र नेपालले स्वास्थ्य क्षेत्र संवेदनशील भएकाले आवश्यक सम्पूर्ण तयारी भइसकेपछि मात्रै सञ्चालनमा ल्याउँदा उपयुक्त हुने भएकाले केही समयपछि सञ्चालनमा आउने बताए । उनले नेपालमा आवश्यक स्वास्थ्य सामग्री नपाइने र विदेशबाट ल्याउनुपर्ने बताए । अस्पतालका लागि आवश्यक सामग्रीको टेन्डर आह्वान भइसकेको र केही खरिद प्रक्रियासमेत भइसकेको सूचना अधिकारी नेपालले जानकारी दिए । 

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  ५ : ०२ बजे