६ जनाको हत्या आरोपमा पक्राउ परेका लोकबहादुरका भाइसँग मृतकको मोबाइल भेटियो

खाँदबारी । संखुवासभामा ६ जनाको हत्या आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका भाइसँग मृतकको मोबाइल फेला परेको छ । अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइलाई पनि नियन्त्रणमा लिएको छ । लोकबहादुरका भाइ नरेश कार्कीमाथि सोधपुछ भइरहेको सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीले  बताए । ‘नरेशलाई सोधपुछ गर्दै छौँ’ डिएसपी सुवेदीले भने–‘अनुसन्धानबाट थप नयाँ तथ्य खुलेको छ ।’ 

हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नरेशको साथबाट सो मोबाइल बरामद गरेका छन् । भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  ११ : ३३ बजे