पक्की पुलमाथिबाट बग्छ खोला 

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिका–७ महांकालस्थित गोरे खोलाको पक्की पुलमाथिबाट पानी बग्दा आवतजावतमा समस्या भएको छ । लामो समयको कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको निषेधाज्ञा र लकडाउनपछि बन्द रहेका विद्यालय खुलेसँगै विद्यार्थीलाई सो पुल भएर आउजाउमा समस्या भएको छ । 

बर्खामासको ठाडो खोला तर्न निकै गाह्रो हुन्छ, त्यसैले अरु कसैको साथ लिएर तर्ने गरेको छु  । एक्लै तर्दा खोलाले बगाउला जस्तो हुन्छ, त्यही भएर अरुको सहायता चाहिन्छ’, भूमेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत् महेन्द्र पण्डितले भने । 

यही पुल पार गर्दै उनी दिनहुँ विद्यालय पुग्छन् र फर्कन्छन् । तर, ठूलो बाढी आएका बेला भने उनी अर्कै बाटो प्रयोग गर्छन् । ‘बाढीले खोला बढेपछि एक घण्टाभन्दा बढीको बाटो घुम्नुपर्छ । विद्यालय आउन जान समस्या छ’, उनी भन्छन् । 

पुल माथिबाट खोला बगेपछि विद्यार्थी मात्रै हैनन्, स्थानीयले पनि सकस भोगिरहेका छन् । गोरे खोलाको पुलमाथिबाट खोला बग्न थालेपछि यात्रुले जोखिमपूर्ण यात्रा गर्नु परेको छ । 

गत १ असार र  १७ साउनमा मेलम्ची खोलामा आएको बाढीको लेदोसहित छालले गोरे खोलाको पुल पुरेको छ । पुलमाथिबाट खोला बगेको छ । पानी र लेदोले पुरिएकाले पुल स्पष्ट देख्न सकिँदैन । जस कारण खोला तर्दा पुलको वरिपरीको देखिने डण्डीकै अड्कलको भरमा वारपार गर्नुपर्ने बाध्यता छ । 

वर्षासँगै खोलामा पानीको बहाव बढेपछि समस्या भएको हो । गाउँपालिकाले पुलमाथि र तल भरिएको लेदोसहितको बालुवा हटाएर खोलालाई पुल तलबाट बग्ने अवस्था सृजना गरेमा आउजाउमा सहज हुने स्थानीय यमबहादुर जोती बताउँछन् ।

चनौटेको रातो पुल बगाएपछि महांकाल हुँदै हेलम्बुको १, २ र ७ नम्बर पुग्न गोरे खोलाबाहेक अर्को विकल्प छैन । पुलको अवस्था के छ भन्नेबारे अनविज्ञ हुँदा सवारी साधनलाईसमेत समस्या परिरहेको छ । ‘कतै खाल्डा छ कि भन्ने भयले सवारी चलाउनुपर्छ,’ सवारी चालक मिङमार लामाले भने, ‘दुर्घटना हुन सक्ने डर उत्तिकै छ ।’  

सम्झना कार्की

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ४ : २९ बजे