गुणस्तरीय शिक्षा समृद्ध देश बनाउने एउटा प्रमुख आधार हो। शिक्षा क्षेत्रलाई यथास्थिति मै राखेर सुधारमात्र गर्न खोज्नु भनेको देशलाई अझ कमजोर बनाउनु हो। समयको आवश्यकता शिक्षा व्यवस्थालाई यथास्थितिमा गुणात्मक सुधार गर्दै भविष्यमुखी भएर यसमा आमूल परिवर्तन गर्न सरोकारवालाहरूले ध्यान दिनुपर्छ। सञ्चार क्षेत्रले पनि प्राथमिकता दिएर शैक्षिक मुद्दामा केन्द्रीत वार्ता र आलेखहरू संप्रेषण गर्न तयार हुनुपर्छ। हामीले बुझ्नुर्थ्यो, यथास्थिति मै सुधारमात्र खोजिरहँदा देश समस्यामा अल्झिरहन्छ अनि बारम्बार त्यस्ता समस्या बल्झिरहन्छ भन्ने नै हो। तर हाम्रो नेतृत्वले शैक्षिक क्रान्तिको अनिवार्य आवश्यकतालाई बुझ्नै सकेन।
यथास्थितिमा सार्वजनिक वा सामुदायिक विद्यालयहरूको गुणस्तरमा सुधार ल्याउन र विद्यालयप्रति अभिभावकहरूको विश्वास बढाउन विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन र शिक्षकहरूको सक्रिय भूमिका र ईमानदारपूर्ण क्रियाशीलता अनि राज्यको सकारात्मक र रचनात्मक नीतिगत सहयोग र आर्थिक लगानी अनिवार्य भएको छ।
आजको हाम्रो परिस्थितिले नीतिगत त्रुटी सच्च्याएर शैक्षिक क्रान्ति गर्न नसके पनि यथास्थितिमै भएतापनि शिक्षामा गुणात्मक सुधार गरेर सामुदायिक विद्यालयहरूलाई नमुना विद्यालयमा परिणत गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ सरोकारवालाहरू सक्रिय भयौं भने त्यसले भोलिका दिनमा शिक्षामा आमूल परिवर्तन गर्न प्रभावकारी भूमिका खेल्न सक्छ। यो विश्वासका साथ हाम्रा क्षमताहरूको भरपुर सदुपयोग गर्नुपर्छ। विद्यालय शिक्षामा अभूतपर्व सुधार ल्याउन शिक्षकहरूको सहभागितामा शैक्षिक कार्ययोजना बनाएर कार्यान्वयनमा लैजानु पर्छ। स्वयं मूल्याकंनको विधि उपयोग गरेर शिक्षकहरूलाई बढी जिम्मेवार र जवाफदेही बनाउने रणनीति अख्तियार गर्नुपर्छ।
सार्वजनिक शिक्षाको स्तर गुणात्मक बनाउन विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन र शिक्षकहरूको सकारात्मक र सक्रिय भूमिकासँगै अभिभावकहरूको सुझबुझपूर्ण सहयोग र प्रत्यक्ष योगदान पनि अनिवार्य भएको छ। आज निशुल्क शिक्षाको नाममा सार्वजनिक शिक्षा ध्वस्त बनाउने काम भएको छ। एकातिर सार्वजनिक शिक्षामा राज्यको लगानी बढ्ने अर्कोतिर त्यसको स्तर खस्कने जुन खालको परिस्थिति बनेको छ, यसले नीति निर्माणको तहमा रहेका सरोकारवालाहरूको चिन्ता बढ्नु पर्ने हो, तर बढेन किनभने धेरैका सन्तानहरू नेपालमा छैनन्।
शिक्षकहरू अहिले चलिरहेको शैक्षिक संकटलाई सम्बोधन गर्ने एक प्रमुख माध्यम हुनुपर्छ अर्थात शिक्षालाई यथास्थितिमा गुणात्मक सुधार ल्याउन शिक्षकहरूको भूमिका विशिष्ट बनाउनु पर्छ। यसका लागि शिक्षकहरूमा निम्न क्षमताहरू हुनैपर्छ।
- पाठ्यक्रम र विषयवस्तुको ज्ञान
- शिक्षण सिकाइका तौरतरिकाहरू स्पष्ट बुझ्ने
- बालबालिका अर्थात विद्यार्थीहरूको सिक्ने क्षमता र ईच्छाका बारेमा बुझेको
- सिकाइ वातावरण तयार र कक्षा व्यवस्थापन गर्ने सीप र ईच्छा भएको
- स्पष्ट सञ्चार सीप र सहकार्य गर्ने बानी भएको
- निरन्तर सिकाइ अर्थात अध्ययनशील र मर्यादामा रहेर पेसागत विकास गर्ने बानी भएको
- प्रविधिहरूको उपयोग गरेर सिक्ने सिकाउने ईच्छाशक्ति भएको
- आफूलाई अद्यावधिक र स्तरीय बनाउन ईच्छुक
- शिक्षण पेसाप्रति ईमानदार र समुहमा मिलेर काम गर्ने
- शिक्षण सिकाइका सामाग्रीहरू तयार पार्ने
नागरिकको चेतना, व्यवहार र संस्कार उसले प्राप्त गरेको शिक्षाको चरित्र र अभ्यासको प्रतिबिम्ब हो भन्ने कुरा बुझेर शिक्षा व्यवस्थामा आमूल परिवर्तन गर्न गराउन सबै सरोकारवालाहरू एकमत हुनुपर्थ्यो। तर हामी विवादित र विभाजित भइरह्यौं अनि वर्तमान शिक्षा व्यवस्थाले हामीलाई दास बनाईरह्यो र आदेशपालक हुन अनि स्वाभिमानी र आत्मनिर्भर नहुने बाटोमा हिड्न सिकाइरह्यो। माहात्मा गान्धी भन्नुहुन्छ, “जुन शिक्षाले व्यक्तिको चरित्रलाई सहि आकार दिन सक्दैन्, त्यो शिक्षा अर्थहिन हुन्छ।” त्यसैले खराब शिक्षा व्यवस्थाको जगमा असल अवस्थाको परिकल्पना गर्न सकिदैन् भन्ने धारणा हामीमा विकास हुनुपर्थ्यो। जसले शैक्षिक क्रान्तिको अनिवार्य आवश्यकतालाई बुझ्न र बुझाउन सहयोग गर्ने थियो।
तत्कालिन राजा महेन्द्रले निर्दलीय पञ्चायती व्यवस्था जोगाउन र राजतन्त्रप्रति जनविश्वास बढाउन २०२८ सालमा ल्याएको नयाँ शिक्षा ऐनको जगमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सकिदैन्। शिक्षामा गणतन्त्रको चरित्र भएनभने त्यसले प्रतिक्रान्तिसँगै बाह्य हस्तक्षेप पनि बढाउन सक्छ भन्ने प्रमाण अहिले एमसिसिमा भएको विवादलाई लिन सकिन्छ। यदि हिजो हामीले ठीक शिक्षा पाएको भए आज यसरी विवादित र विभाजित भइरहनु पर्दैन थियो। तर दुर्भाग्य नै भन्नुपर्छ, हामीले असल शिक्षा व्यवस्था ल्याउन कहिल्यै सक्रियता देखाएनौं। यदि कसैले शैक्षिक क्रान्तिको अनिवार्यतालाई उठान गर्योभने त्यसलाई अतिवादी विचार भन्न पनि छोडेनौं। परिणामस्वरूप नेपालको शिक्षा व्यवस्था ध्वस्त हुँदै गयो र देश पनि ध्वस्त बन्छ कि भन्ने त्रास बढ्यो। किनभने साक्षरता दर बढ्दा पनि देशको अर्थतन्त्र सबल बन्न सकेन। तर पनि हामी खराब अनुदान नीतिबाट निर्देशित भइरह्यौं अनि खराब शिक्षामा लगानी गरेर सिमित साधन श्रोतहरूको दुरूपयोग गरिरह्यौं।
बौद्धिक जगतले देशमुखी शैक्षिक, सामाजिक, न्यायिक, प्रशासनिक र आर्थिक नीति, पद्धति बनाउन र त्यसलाई प्रभावकारी अभ्यासमा लैजान आफ्ना क्षमताहरू प्रयोग गर्नुपर्ने भएको छ। समस्याहरू देखाउन र त्यसको व्याख्या गर्न जसले पनि सक्छ, हामीलाई त समस्याहरूको दिगो समाधानको उपाय र देशलाई सम्वृद्ध बनाउन योगदान दिनसक्ने बौद्धिकता चाहिएको छ। शैक्षिक क्रान्तिले मात्रै भोलिका दिनमा त्यो खालको असल बौद्धिक नागरिक तयार गर्न सक्छभन्ने विश्वास गरेर आज सकारात्मक योगदान गर्ने र नेतृत्व गर्न सक्ने व्यक्तित्वहरू चाहिएको छ।
प्रतिष्ठा, धन र सुख दिने तर खुसी र आत्मसन्तुष्टी भने नदिने पेसा व्यवसायमा संलग्न हुने मनस्थिति र परिस्थिति कायम भएसम्म देशले विकासमा गुणात्मक फड्को मार्न सक्दैन्। यो सामान्य यथार्थलाई मनन गरेर नीति, विधि र पद्धितिहरूमा परिवर्तन गर्दै खुसी र आत्मसन्तुष्टी सहितको सम्वृद्धिको खाका ल्याउन नेतृत्वले किन सकेनरु हामी नागरिकले पनि नेतृत्वलाई समय मै झकझक्याउन किन सकेनौंरु प्रश्नहरूको उत्तर खोज्ने समय भएको छ। उत्तर खोज्ने र दिगो सम्वृद्धिको यात्रा सुनिश्चित गर्दै सम्मानित र खुसी नागरिक बन्ने महान अभियानमा सक्रिय हुन सिकाउने नयाँ शिक्षा व्यवस्था चाहिएको छ। त्यसैले शैक्षिक क्रान्ति अनिवार्य भएको छ।
म को हुँ? मेरो पहिचान के होरु म भित्र भएका ज्ञान, सीप र क्षमताहरूको प्रयोग ठीक तरिकाले कसरी गर्न सक्छु? भन्ने कुराको ज्ञान दिने शिक्षा नपाएसम्म कुनैपनि नागरिक राज्यप्रति जिम्मेवार, भविष्यप्रति विश्वस्त र उद्यमी हुन सक्तैन्। शिक्षाले व्यक्तिमा ज्ञान, सीपसँगै विवेक पनि विकास गर्न सक्नुपर्छ। अनि मात्रै त्यो शिक्षा गुणस्तरीय हुन्छ। त्यसैले ज्ञान, सीपसँगै विवेक जगाउने शिक्षा व्यवस्थाका लागि शैक्षिक क्रान्ति आवश्यक भएको छ।
दिगो आर्थिक विकासका लागि स्थानीय सीप, श्रोत र बजारको प्रबर्द्धन आवश्यक छ। यसका लागि शिक्षाले व्यक्तिलाई सोबमोजिम प्रशिक्षित गर्नुपर्छ । फेरि स्थानीय सीप र श्रोतहरूको पहिचान र विकास गर्न मातृभाषाहरूको भूमिका महत्त्वपूर्ण हुन्छ। मातृभाषाहरूको महत्त्व कायम राख्न र सिकाइको आधार बलियो बनाउन शिक्षामा यसको प्रयोग पनि गरिनु पर्छ। यो शिक्षाको स्तर गुणात्मक बनाउने र स्तरीयता बढाउने मुख्य आधार पनि हो। त्यसैले मातृभाषाहरूलाई शिक्षामा व्यवस्थित रूपमा प्रयोग गर्न पनि शैक्षिक क्रान्ति चाहिएको छ।
प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार १० : ५३ बजे
प्रतिक्रिया