सङ्खुवासभा सामूहिक हत्या काण्डका दोषि सार्वजनिक, चिर्पटले हानेर सबैको हत्या गरेको स्वीकार

काठमाडौं । सङ्खुवासभा सामूहिक हत्याकाण्डका दोषिलाई प्रहरीले सार्वजनिक गरेको छ ।  चैनपुर इलाका प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी २६ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको हो ।

गत सोमबार मादी –१ उम्लिङ खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, उहाँकी ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो । उनीहरुको चिर्पटले हानेर हत्या गरेको आरोपीले बयानमा भनेको प्रहरीले जनाएको छ ।

यस्तो छ घटना घट्नुको कारण

एक वर्षअघि लोकबहादुर कार्कीकी आमा तेजबहादुरको घरमा लडेकी थिइन्। उनको आमा बेहोस भएपछि उपचारको क्रममा झापामा मृत्यु भएको थियो।

लोकबहादुरले आफ्नी आमाको मृत्युको कारण तेजबहादुर नै भएको आरोप लगाउँदै आएका थिए। यसैबीच गत सोमबार बिहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई लोकबहादुरले बाटोमै कुरेर बसे। र, आक्रमण गरेर हत्या गरे। ​तेजबहादुरको हत्या गरेको पत्नी कमला र बुहारी रञ्जनाले घरबाट देखेपछि दौडिँदै गए। घरनजिकै रहेको खोलाछेउमा उनीहरूलाई पनि लोकबहादुरले चिर्पटले हिर्काएर हत्या गरे।

हत्या गरेको प्रमाण मेटाउन लोकबहादुरले आठ वर्षीय विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीलाई समेत बारीमा लखेटी–लखेटी हत्या गरे। त्यसपछि पनि लोकबहादुरले तेजबहादुरको घरमै पसेर कुँडो पकाइरहेकी ८४ वर्षीया पार्वतीको हत्या गरे। यो रहस्य भने लोकबहादुर प्रहरीले पक्राउ गरेपछि बाहिरिएको हो। 

६ जनाको ज्यान जाने गरी भएको गत सोमबारको घटनामा स्थानीय चिनेजानेकै व्यक्तिको हात हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको थियो। सोही आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरीले लोकबहादुरलाई पक्राउ गरेको हो। 

२६ वर्षीय लोकबहादुर र हत्या गरिएका ५२ वर्षीय तेजबहादुर नाताले काका–भतिज हुन्। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन्। तर, घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको उनले स्वीकारेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ११ : ५९ बजे