चेपाङको आयआर्जन वृद्धिका लागि उन्नत जातका बोयर बोका वितरण

मुग्लिन । बाख्रापालनबाट चेपाङको आयआर्जन वृृद्धिका लागि उन्नत जातका बोयर बोका वितरण गरिएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–१ काउले र कालिङडाँडाका चेपाङलाई चितवनको सौराहास्थित सपना भिलेज सोशल इम्प्याक्ट र गाउँपालिकाले बोका वितरण गरेका हुन् ।

चेपाङ समुदायको जीवनस्तर उकास्ने उद्देश्यले ‘सबै यात्राको शुरुआत एक सपनाबाट हुन्छ’ नामक परियोजना शुरु गरेको इम्प्याक्टले फलफूलका बिरुवापछि मङ्गलबार बोयर जातको बोका वितरण गरेको हो । गाउँपालिकाको ३० र इम्प्याक्टको ७० प्रतिशत लगानीमा बोका वितरण गरिएको हो ।

परियोजनाअन्तर्गत यहाँका चेपाङ समुदायलाई ११ समूहमा विभाजन गरी प्रत्येक समूहलाई दुई÷दुईवटाका दरले २२ बोका वितरण गरिएको छ । चेपाङ बस्तीमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ र इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले संयुक्तरूपमा समूहका अगुवालाई बोका हस्तान्तरण गर्नुभएको हो ।
 
 गाउँपालिका अध्यक्ष गुरुङले चेपाङ समुदायको आर्थिक तथा सामाजिक विकासका लागि गाउँपालिकाले चेपाङ उत्थान कार्यविधि तयार गरेको र कार्यविधिअनुसार नै चेपाङ समुदायलाई सपना भिलेज सोशल इम्प्याक्टको सहकार्यमा बोयर जातका बोका वितरण गरिएको बताउनुभयो । ‘अब मागेर होइन गरेर खानुपर्छ’ भन्ने नाराका साथ गरेर खाने वातावरण बनाउन विभिन्न आयआर्जनमूलक कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा इम्प्याक्टका अध्यक्ष गिरीले चेपाङ समुदायको जीवनस्तर उकास्न परियोजना शुरु गरिएको भन्दै दैनिक जीवनमा चेपाङ समुदायले गर्ने क्रियाकलापलाई प्रतियोगितामा समावेश गरी आर्थिक उन्नतिको बाटो परिचालन गरिएको बताउनुभयो । उहाँले यसअघि फलफूलका बिरुवा वितरण गरिसकेको बताउनुभयो ।

कार्यक्रमा वडा नं १ का वडाध्यक्ष नन्दलाल गिरीले परियोजनाले चेपाङ समुदायको आर्थिक, सामाजिक व्यवहारमा सकरात्मक परिवर्तन आएको बताउनुभयो । यसअघि सरसफाइ, कृषि, बालबालिकालाई विद्यालय नियमित पठाउनेलगायत विभिन्न विधामा प्रतिस्पर्धा गराई रु सात लाख बराबरको पुरस्कार वितरण गरिसकेको पनि इम्प्याक्टले जनाएको छ । 

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ७ : ३६ बजे