‘नेशनल डे कन्सर्ट’ सम्पन्न

गाउँ गाउँमा फिजियोथेरापीको सेवा नपुगेको देख्दा दुःख लाग्छ : समित कतिला श्रेष्ठ,सिनीयर फिजियोथेरापीस्ट

काठमाडौं । ‘कोरोना सङ्क्रमण पछिको पुनर्स्थापनामा फिजियोथेरापी’ भन्ने नाराका साथ आज विश्व फिजियोथेरापी दिवस मनाइँदै छ । सन् १९९६ मा वर्ल्ड कान्फेडरेशन आफ फिजियोथेरापी स्थापना भएसँगै प्रत्येक वर्षको सेप्टेम्बर ८ लाई विश्व भरमा भौतिक चिकित्सा समुदायको एकता तथा एकजुटका यो दिवस मनाइँदै आइएको छ । 

यही अवसरमा बाल मस्तिष्क पक्षघात, नेपाल फिजियोथेरापी सङ्घका केन्द्रीय महासचिव तथा प्रवक्ता र अर्थोप्लास्ट पुनर्स्थापना सेन्टरका सिनीयर फिजियोथेरापीस्ट समित कतिला श्रेष्ठसँग फिजियोथेरापीका विषयमा केन्द्रीत  रहेर चक्रपथकर्मी युवराज ढुङ्गेलले गर्नुभएको  कुराकानीको सार संक्षेप :

फिजियोथेरापी भनेको के हो  ? यो कस्तो पद्धति हो ?

फिजियोथेरापी यस्तो चिकित्सा पद्धति हो जसमा बिरामीलाई व्यायाम गराई (एक्सरसाइज थेरापी), फिजियो थेरापीस्टले आफ्नो हातले गर्ने उपचार (म्यानुलथेरापी), पानीमा गर्ने व्यायाम, (हाइड्रो थेरापी) र विद्युतीय उपकरण (इलोक्ट्रोथेरापी) आदि पर्दछन् । यो उपचार पद्धतिमा  तातो तथा चिसोको प्रयोगले रोग निको पारिन्छ  । यो विज्ञान र खोजमा आधारित चिकित्सा पद्धति नै हो ।

फिजियोथेरापीको प्रमुख उद्देश्य के हो ?

मानिसहरुलाई असक्तबाट सक्षम बनाउने यसको उद्देश्य हो । जसलाई रिहाविलिटेसन अथवा पुनर्स्थापना भनिन्छ । नेपालमा भने यो चिकित्सा पद्धतिको विकास भएको धेरै भएको छैन ।

फिजियोथेरापी विधिबाट कस्ता किसिमका रोगहरु निदान हुन्छन्  ?

हड्डी खिइएको, नसा च्यापिएको, मांसपेशी दुख्ने, झम्झमाउने, पोल्ने, प्यारालाइसिस, मानसिक पक्षघात, मुख बाङ्गिएको, जिउ बाङ्गिएको, ढाडको हड्डी भाँचिएको, जन्मँदा नै असाधारण अथवा असामान्य भएको बच्चा तथा हात खुट्टा नचल्ने जस्ता धेरै दुखाई र जोर्नी सम्बन्धित रोगहरु यो विधिबाट निको हुने गर्दछन्  ।

नेपालमा फिजियोथेरापीको स्थापना कहिले भयो ?

मानिसले यो चिकित्सा पद्धतिको महत्त्व बुँज्दै गएपछि यसको माग बढ्दै गएबाट सन् १९८३ मा इन्स्टिच्युट आफ मेडिसिनले नेपालमा पनि सर्टिफिकेट लेभलको फिजियोथेरापी अध्यापन प्रारम्भ गर्‍यो । कारणवश यो केही समय पछि नै बन्द भयो । पछि धुलिखेल अस्पतालले मेडिकल इन्स्ट्ष्यिुटले सन् २००३ मा त्यही कोर्सलाई डिप्लोमा कोर्सको नामबाट सुरु गर्‍यो । यसबाट नेपालमा करिब १ सय २० जना फिजियोथेरापिस्टहरु उत्पादन भए । सन् २०५२ मा क्रमिकरुपमा काठमाडौँ युनिभर्सिटी र पोखरा युनिभर्सिटीको स्थापना भएसँगै फिजियोथेरापी अध्ययन गर्नेहरुको सङ्ख्या बढ्दै गयो ।

तपाई  यो क्षेत्रमा  कहिलेदेखि आवद्घ हुनु भयो  ?  पहिले र अहिलेको फिजियोथेरापी के फरक छ ?

म  विगत १० वर्षदेखि यो क्षेत्रमा  दिन रात नभनी कार्यरत छु । पहिलेको र अहिलेको फिजियोथेरापीमा आकाश पातालको फरक देख्छु । पहिला सीमित हस्पिटलहरु थिए, किल्निकहरुमा फिजियोथेरापी सञ्चालन थिएन, गाउँको त कुरै भएन सहरमा समेत यसको उपयोगिताको बारे खासै चेतना थिएन । २०७२ सालमा गएको महाभूकम्प पछि भने नेपालको फिजियोथेरापीमा नयाँ मोड आएको छ । त्यस्तो बेला अपाङ्ग भएका व्यक्तिहरुमा दुःख पीडा धेरै भएकाले यसको माग बढेको हो । अझै पनि फिजियोथेरापी सहर केन्द्रीत  नै छ । गाउँ गाउँमा फिजियोथेरापीको सेवा पुग्न नसक्नु दुखद हो ।

फिजियोथेरापी कुन उमेर समूहलाई बढी लाभदायक छ ?

बच्चादेखि बुढेसकालसम्मका सम्पूर्णलाई यो उपयोगी छ ।

औषधी र फिजियोथेरापीमा के फरक छ ?

औषधी त खानु पर्यो नि, तर फिजियोथेरापीमा बिरामीको शरीर भित्रको मुख्य स्रोतलाई सक्रिय बनाएर उपचार गरिन्छ । कतिपय रोगहरु औषधी खाएर वा नखाईकनै फिजियोथेरापी गरिन्छ ।

फिजियोथेरापी उपचार गर्न कति खर्च लाग्छ ?

नेपाल सरकारले यति नै खर्च लाग्छ भनेर कुनै आधिकारिक रुपमा नदिएकाले यो निजी र सरकारी हस्पिटलमा फरक फरक रुपमा रहेको छ ।

फिजियोथेरापीमा आएको विरामीहरुलाई पुर्वाअवस्थामा फर्कन कति समय लाग्दछ ?

फिजियोथेरापी रोग लाग्ने मात्र नभई रोग नलागेकाले पनि गर्न मिल्छ । व्यक्तिको रोग हेरेर  ५ दिनदेखि ३ महिनासम्म वा त्यो भन्दा बढी पनि लाग्न सक्छ । फिजियोथेरापी तीन तरिकाले गर्न सकिन्छ क्युरेटिप, प्रोगेसिप र प्रीभेटिप रोगको प्रकृति अनुसार उपचार गरिन्छ ।

नेपाल स्वास्थ्य व्यवसाय परिषद् अहिले झन्डै नौ सय फिजियोथेरापीस्ट दर्ता भएकोमा अधिकांश नेपाल बाहिर गई काम गरिरहेका छन्, यो विषयमा तपाईको मत के छ ?

राष्ट्रले उचित सम्बोधन गर्न नसक्नु र विदेशमा यस चिकित्सा पद्धतिको राम्रो व्यवस्था र प्रोत्साहन हुने गरेकाले जाने गरेको पाइन्छ । मेरो विचारमा आफ्नो इच्छाको कुरा पनि हो।

आज विश्व फिजियोथेरापी दिवसको अवसरमा के भन्न चाहनु हुन्छ ?

आज भन्दा २० वर्ष पहिले वीर अस्पताल बाट सुरु भएको यो पद्धति सबै उमेरको लागि उचित रहेको छ । यो विभिन्न काल खण्डमा काम लाग्ने भएकाले रोग लागेर होस् वा नलागेर होस् हामीले व्यायामको माध्यमबाट होस् वा फिजियोथेरापीबाट शरीरलाई सुस्त, तन्दुरुसष्ट राख्नु पर्दछ । मांसपेशीलाई बलियो र चलाएमान गराई रहनु पर्दछ । उमेर बढेकालाई राम्रो  फाइदाजनक हुने हुँदा, सबैले नियमित व्यायाम गर्नुहोला भन्न चाहन्छु ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ३ : ४९ बजे