मेलम्चीको पीडा : नेताहरू हेलिकप्टरमा शयर, जनतालाई हिँड्ने बाटो नै छैन 

सिन्धुपाल्चोक । गत असार १ गते राती आएको बाढीले आफ्नो घरसँगै भए भरको जायजेथा बगाएपछि  हेलम्बु गाउँपालिका वडा नम्बर ४ का रुपाखेती लामिछाने बास बस्नका लागि काठमाडौं आए  । सरकारले तत्काल राहत दिने भनेपछि लामिछानेले केही राहत महसुस गरे । बाढीले घर बगाएको दुई महिना पुग्न लाग्दासमेत केही नभएपछि भने उनी अहिले निराश छन् । बाढीले घरबाँस बगाएसँगै बस्ने बाँसकै लागि भौँतारिरहेका हेलम्बु र मेलम्चीका करिब दुई सय परिवारको व्यथा लामिछानेको भन्दा पृथक् छैन । 

बाढीले बिजोग बनाएको हेलम्बु, पाँच पोखरी र मेलम्चीको दुरदर्शा हेर्न नेता तथा मन्त्रीहरू आकाशमा हेलिकप्टर उडाएको उडाई  छन् तर बाढीले विनाश गरेको महिनौँ बित्दासमेत आफूहरूले राहत पाउन नसकेको उनीहरूको गुनासो छ ।  ​​​​​​​

‘पुरानै ठाउँमा घर बनाउँला र पुरानै लयमा जीवन फर्काउला भनेर रुपाखेती लामिछाने हेलम्बु फर्किएका छन् । हेलम्बुमा फर्किएका रुपाखेती आफ्नो खण्डहर भएको जमिनमा घण्टौँसम्म टोलाइरहे  । महिनौँ बितिसक्दा  समेत आफुहरुकोलागि सरकारले सामान्य बाटो समेत बनाउन नसकेकोमा रुपाखेतीले दुःख पोख्नुभयो । गहभरी आँसु पार्दै  लामिछानेले  बाढी पीडितको नाउँमा मन्त्री तथा नेताहरूले हेलिकप्टर शयर गरेको तर केही प्रगति गर्न नसकेको बताउनुभयो ।  ‘जग्गा जमिन र हाम्रो घर सँगै हाम्रा सबै सपनाहरू बगाए । हिजो नाचेको आँगनबाट आज खोला नाचिरहेको छ । सरकार पनि हाम्रो समस्यामा नाचे झैँ लाग्छ ।’उहाँले बताउनुभयो,‘न त बस्ने छाना छ, न त  भोक मेट्नका लागि खाना नै, नेताहरू हेलिकप्टरबाट हेर्न आउनुहुन्छ, हामीलाई त हिँड्ने बाटो पनि छैन ।’  

मेलम्ची ११ का राजकुमार चालिसेको गुनासो पनि उस्तै छ । आफ्नो भएको घरजग्गा खोलाले बगाएपछि बाँकी रहेका र घरबाट झिक्न भ्याएका सामानहरू बटुलेर जसो तसो जीवन बिताइरहेका चालिसे बाँकी जीवन कहाँ बसेर बिताउने टुङ्गो नभएको बताउनुहुन्छ । राजनीति दलका नेता र सरकारका प्रतिनिधिले  दिने आश्वासनले पीडामाथि थप पीडा दिइरहेको उहाँ बताउनुहुन्छ । ‘हामी झरीमा रोइरहेका छौ, उहाँहरू हेलिकप्टरबाट आउनुहुन्छ, ठुला ठुला कुरा सुनाउनु हुन्छ, हाम्रो पीडा भने उस्ताको उस्तै छ’, उहाँले दुखेसो पोख्नुभयो । 

सिन्धुपाल्चोकलाई विपद्ग्रस्त जिल्ला घोषणा गरेको गतबर्ष नै हो । विपद्ग्रस्त क्षेत्र घोषणा गरे पनि अहिलेसम्म यहाँका नागरिकले कुनै पनि लाभलिन पाएका छैनन् । बाढी पहिरो होस् या अन्य प्राकृतिक प्रकोप भएको बेला सिन्धुपाल्चोकमा नेताहरूको ओइरो नै लाग्छ । हेलिकप्टरमा आउने हेर्ने र जाने बाहेक आजसम्म कुनै पनि नेताले बाढी प्रभावितको गुनासो नसुनेको मेलम्ची ११ का सोम तामाङको गुनासो छ । ‘काम नभएर बोलीमा मात्रै सीमित रह्यो र आश्वासन मात्रै दिइरहनुले पनि यस्तो भइरहेको छ । केन्द्र सरकारलेबेलिबृजहरु हाल्ने कुरा गरिरहेको छ । पुल भन्दा पनि पहिला बस्तीहरु बचाउने कोसिस गरिदिए राम्रो हुने थियो ।’ तामाङले  थप्नुभयो ।

मेलम्ची नगरपालिकाका नगर प्रमुख  डम्बर आर्याल भने बाढी पीडितहरूको समस्या समाधान गर्नका लागि तीव्र रूपमा काम भइरहेको बताउनुहुन्छ । अहिले बाढी प्रभावितलाई सुरक्षित स्थानमा सार्न र आगामी दशैसम्ममा अस्थायी घरमा स्थानान्तरण गर्न स्थानीय सरकारले गृहकार्य अगाडि बढाएको उहाँले जानकारी दिनुभयो । बाढी प्रभावितको लगत सङ्कलन भइरहेको र छिट्टै घर निमार्णको लागि रकम वितरण गरिने अर्यालले बताउनुभयो ।  

नगरपालिकाले एक  विज्ञहरूको  कार्यदल गठन गरेर काम गरिरहेको उहाँले बताउनु भयो । खोलाको माटोको जाँच गर्ने र त्यसको प्रतिवेदन दिने काम पनि भइरहेको उहाँले जानकारी दिनुभयो ।  विपत् प्राधिकरणले  १ सय ९७ परिवारको घर डुबेको तथ्याङ्क दिएको छ । प्राधिकरणले रेडियो मेलम्चीको भवनसहित १ सय ९७ परिवारलाई लाभग्राहीको सूचीमा समावेश गरेको छ । विपत् प्राधिकरणबाट मेलम्चीबासीहरुले पहिलो पटक पुनस्र्थपनाको लागि ५० हजार प्राप्त गर्नेछन् । त्यसपछि घर बनाउनेहरूका लागि रु ५ लाख र घडेरी नभएकाहरूलाई थप रु ३ लाख रुपैंया उपलब्ध गराइने छ । अहिले बाढी प्रभावितलाई सुरक्षित स्थानमा सार्न र आगामी दशैसम्ममा अस्थायी घरमा स्थानान्तरण गर्ने स्थानीय सरकारको योजना छ । बाढी प्रभावितको लगत सङ्कलन पछि घर निमार्णको लागि रकम वितरण कार्य छिट्टै अगाडि बढाइने  नगर प्रमुख अर्यालले बताउनुभयो ।

 

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ३ : ५७ बजे