बुवाहरूलाई आज फेसबुक र भोलि वृद्धाश्रममा देख्न नपरोस् 

बुवा बित्दा म सानै थिए ।  के गर्ने कसो गर्ने केही थाहा थिएन । आमाको रेखदेखैमा हुर्किए । बुवा बितेको ५ वर्ष भयो ।  अहिले पनि बुवाको सम्झना झल्झल्ती आइरहन्छ  । अझ कुशे औशीको दिन त मन थाम्नै गाह्रो हुन्छ । कुशे औशीको दिन पिण्ड दान गर्न काठमाडौंको गोकर्णेश्वर मन्दिर परिसरमा भेटिएका सिन्धुपाल्चोकका विनोद आचार्य एकाएक भक्कानिए ।  

चक्रपथ डटकमसँग कुराकानी गर्दै आचार्यले प्रत्येक कुशे औशींमा आफू बुबाको सम्मानमा गोकर्णमा आउने गरेको बताउनुभयो । ‘अहिले बुबा भएको भए जिन्दगीको भारी अलिकति भए पनि हलुङ्गो हुने थियो’ उहाँले भन्नुभयो । ‘सबैले सामाजिक सञ्जालमा आ–आफ्ना बुबाहरूको तस्बिर राख्दा उहाँ आफ्नो बुबालाई झलझली सम्झने गरेको  बताउनुहुन्छ । 

‘बुबा वियोगको पीडा जिन्दगीकै ठुलो पीडा हुने रहेछ । बुबाको महत्त्व वियोगमा परेकाहरूलाई मात्र थाहा हुने रहेछ’ उहाँले भन्नुभयो । 

‘बुवा बितिसके पछि पढाई रोकियो, व्यवहारले छोप्यो, अपुरो पढाइकै कारण भने जस्तो जागिर पाउन सकिएन । बुवा भएको भए राम्रोसँग पढाउनुहुन्थ्यो होला, राम्रो जागिर खाइन्थ्यो होला, परेको दुःख सुख सुनाउन त पाइन्थ्यो’ उहाँले थप्नुभयो । 

आफ्ना दिवङ्गत बाबुको नाममा तर्पण, पिण्ड दान गर्न आएका मेलम्चीका दिनेश पौडेल पनि आचार्यको कुरामा सहमत छन् । बुबाको पिण्ड दान गर्नका लागि आएका पौडेल कुशे औशीको आफ्नै महत्त्व भए पनि  आजकल सामाजिक सञ्जालमा गरिने देखावटीलाई भने खासै रुचाउनुहुन्न । 

फेसबुकको वालमा बुबाहरूलाई फेसन बनाइएको प्रति उहाँ रुष्ट हुनुहुन्छ  । पौडेल एक दिन सामाजिक सञ्जालमा बुबालाई माया गरेको देखाएर अरुदिन वास्तै नगर्ने धेरै देखेको  बताउनुहुन्छ ।

सामाजिक सञ्जालमा देखाएजस्तै व्यवहारिक जीवनमा पनि बुबाहरूको सम्मान र माया गर्नेहरूप्रति भने पौडेल कुनै टिप्पणी गर्न नचाहने बताउनुहुन्छ ।  सामाजिक सञ्जालमा देखाउनकै लागि ‘हेप्पी फादर्स डे’ भन्नेहरूलाई आजको दिन बुबाहरूको फोटो प्रदर्शन गर्ने दिन बन्दै गएको उहाँ बताउनुहुन्छ । ‘बुवामालाई साँच्चिकै माया गर्नेहरूप्रति भने मेरो सम्मान छ ।’ उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज जीवित बुवाहरूलाई फेसबुकको वालमा देखाई रहँदा भोलि ती बुवाहरूलाई वृद्धाश्रममा देख्न नपरोस् ।’ 
 

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  २ : २१ बजे