पाँच अर्ब ५४ करोड अमेरिकी डलर बराबरको ऋण स्वीकारसहित यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय जनगणना २०७८ संशोधित  कार्यतालिका स्वीकृत गरेको छ । कोरोना भाइरसका कारण प्रभावित हुँदै अएको जनगणना सञ्चालनका लागि सरकारले नयाँ कार्यतालिका स्वीकृत गरेको हो । सरकारले नयाँ कार्यतालिका भने राजपत्रमा प्रकाशित गरी लागु गर्नेछ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय पनि गरेको छ ।  यसैगरी सरकारले अन्तर्राष्ट्रिय संस्थाहरूबाट प्राप्त विद्यालय क्षेत्र विकास कार्यक्रम संचालन गर्न सहुलियतपूर्ण ऋण सहायता स्वरूप प्राप्त हुने ५० मिलियन अमेरिकी डलर (करिब पाँच अर्ब ५४ करोड बराबर) को ऋण सहायता स्वीकार गरेको छ । यस्तै, सरकारले अन्तर्राष्ट्रिय संस्थाहरूमार्फत नै प्राप्त नेपाल स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रमका लागि प्राप्त हुने ५० मिलियन अमेरिकी डलर (पाँच अर्ब ५४ करोड अमेरिकी डलर बराबर) सहुलियतपूर्ण ऋण पनि स्वीकार गरेको छ ।

मन्त्रिपरिषद् बैठकले जलवायु परिवर्तन सम्बन्धी अनुकुल कार्य गठबन्धन तथा सोको निर्देशक समितिमा नेपालका तर्फबाट सहभागिता जनाउन पनि अनुमति दिएको छ । यसैगरी दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ छाङरुमा स्थापना भएका नेपाल प्रहरी चौकी र सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका ब्यारेक भवन निर्माण प्रयोजनका लागि आठ हजार पाँचसय क्युबिक फिट सल्लो प्रजातिको गोलिया काठ संकलन गरी प्रयोग गर्न अनुमति प्रदान गरेको छ । बैठकले आर्थिक वर्ष २०७८र०७९ का लागि विभिन्न आयोजनाका लागि स्थायी र अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ । त्यस्तै निजामती कर्मचारी सेवा नियमावली व्यवस्था बमोजिम निजामती सेवा दिवसका अवसरमा ४० जनालाई पुरस्कार प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ । 

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ९ : ३० बजे