साफ यू–१७ च्याम्पियनसिप आजदेखि

राजनीतिले तब राम्रो काम गर्छ, जब राज्यका सबै क्षेत्रले मिलेर काम गर्न थाल्छ

नेपालमा जति पनि समस्याहरू छन्, त्यसको मूल कारण खराब शैक्षिक, सामाजिक, न्यायिक, प्रशासनिक र आर्थिक नीति, पद्धति र अभ्यास नै हो । तर दोषभने राजनीतिलाई मात्र दिइयो । बौद्धिक वर्गले पनि ईमानदारीका साथ शैक्षिक, सामाजिक, न्यायिक, प्रशासनिक र आर्थिक क्षेत्रमा आमूल परिवर्तनको आवश्यकतालाई केन्द्रमा राखेर लेख्ने र बोल्ने सामर्थ्य देखाएनन्।

क्रान्ति मध्येको सबभन्दा ठूलो क्रान्ति शैक्षिक क्रान्ति हो। सामाजिक, न्यायिक, प्रशासनिक र आर्थिक क्रान्तिभन्दा शैक्षिक क्रान्ति नै ठूलो हो। त्यसो भए शैक्षिक क्रान्तिको नेतृत्व कसले गर्छ ? विद्रोही मान्छेले मात्र शैक्षिक क्रान्तिको नेतृत्व गर्न सक्छ। आज जस्तो मान्छे तयार भइरहेको छ, त्यसले समाजमा भ्रष्टता बढेको छ, हिंसात्मक गतिविधि बढाएको छ, परिस्थिति तनावपूर्ण बन्दैछ, यसको मूल कारण शिक्षा व्यवस्थामा भएको खराबी हो, जसले गर्दा परिणाम नकारात्मक आइरहेको छ। यसको बारेमा चिन्तन कसले गर्ने ?

शिक्षकहरू भन्दैछन्, विद्यार्थीहरू अनुशासित भएनन्। नेतागण भन्दैछन्, जनताहरू अनुशासित र आज्ञाकारी भएनन्। उनीहरू चाहन्छन्, विद्यार्थी र जनताहरू हामीले भनेजस्तो अनुशासित र आज्ञाकारी बनुन र भनेको मानुन्। आज अनुशासनमा राख्ने नाममा व्यक्तिभित्रको चेतना, विवेक र बुद्धि खतम पार्ने काम भइरहेको छ। यसले अन्ततः व्यक्तिमा भएको मानवीयता नै नष्ट पारिदिन्छ। अनि मान्छे बिस्तारै मेसिन जस्तो बन्नेछ। त्यसैले विवेक र बुद्धि नष्ट बनाउने अनुशासन अर्थात शिक्षाको पैरवी गर्न छोडौं। 

समाज राम्रो बनाउनको लागि व्यक्तिमा विवेक सहितको अनुशासन हुनुपर्छ। सैनिक संगठनमा जस्तो अनुशासनको कुरा उठाएर हामीलाई विवेकहिन बनाउन खोजिएको छ। विवेकहिन विद्रोह विनासको बाटो हो। विवेकविनाको अनुशासनले मान्छेलाई दास बनाउँछ भने विवेकविनाको विद्रोहले अराजकता निम्त्याउँछ। यी पक्षलाई ख्याल गरेर शिक्षालगायतका क्षेत्रमा भएका त्रुटीहरूलाई सच्याउनु पर्छ। शिक्षामा संरचनागत परिवर्तन आवश्यक छ। शिक्षाको वर्तमान ढाँचालाई हटाएर नयाँ ढाँचा बनाउनु पर्छ।

नयाँ ढाँचाले श्रेष्ठतामात्र नखोजोस्, एक व्यक्ति र अर्को व्यक्तिबीच तुलना नगरोस्, अगाडि पछाडि हुने कुरा नहोस्,  व्यक्तिमा अनावश्यक महत्त्वाकांक्षा नबढाओस्। शिक्षाले सदभाव, प्रेम अनि सहअस्तित्वको भाव विकास गरोस्। मान्छे सत्कर्ममा विश्वास गर्ने तयार होस्। यसका लागि शैक्षिक क्रान्तिले प्राथमिकता पाउनु पर्छ। त्यसको सैद्धान्तिक धरातल पूर्वीय दर्शनमा आधारित हुनुपर्छ। यी कोणहरूबाट हामीले नियमित गृहकार्य गरिरहनु पर्छ।

हिजो राजनीतिक क्रान्तिलाई मात्र प्राथमिकता दिंदा आज सामाजिक, न्यायिक, प्रशासनिक र आर्थिक क्षेत्रले क्रान्ति र त्यसले सिर्जना गरेको अपेक्षालाई सम्बोधन गर्न नसक्दा जनमानसमा राजनीतिप्रति एकप्रकारको असन्तोष बढेको छ। जनताले परिवर्तनलाई नकारात्मक ढंगले बुझ्ने खतरा बढ्न सक्ने संकेत देखिएको छ। यस्तो संकेतले सम्वृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय आकांक्षामाथि अवरोध खडा गर्न सक्छ। त्यसैले अबका दिनमा राजनैतिक तथा संवैधानिक व्यस्थामा स्थिरता ल्याउने र जनअपेक्षाहरू समय मै सम्बोधन गर्ने गरी सामाजिक, न्यायिक, प्रशासनिक र आर्थिक क्रान्ति अनिवार्य भएको छ।

यतिखेर हामीले विवेकलाई सुन्नुपर्छ। विवेकलाई सुन्ने क्षमताको विकास विना त्यसलाई ठीक ढंगले सुन्न र बुझ्न सकिंदैन्। व्यक्तिमा त्यो क्षमताको विकास गर्न शैक्षिक क्रान्ति आवश्यक छ। व्यक्तिमा शान्ति समाजमा क्रान्ति ल्याउनु आजको प्रमुख आवश्यकता होभनेर नबुझ्दासम्म शैक्षिक क्रान्तिमा हाम्रो ध्यान केन्द्रीत हुन सक्तैन्। फेरि क्रान्तिको दृष्टिकोण अर्थात दर्शन सुनिश्चित नभइकन हुने क्रान्तिले अपेक्षित परिणाम पनि दिन सक्तैन्। शिक्षाले व्यक्तिको मानसपटलमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्छ । आज हाम्रा लागि यो मुख्य चुनौती बनेको छ।

मान्छेले ज्ञान त प्राप्त गरेको छ तर बौद्धिकता हासिल गरेको छैन्, किन ? शिक्षाले ज्ञान त दियो तर सीप दिएन र ज्ञानी बनाएन, आजको मुख्य समस्या यहि हो। यो समस्यालाई बुझ्ने बुझाउने सवालमा हामी पछाडि परेका छौं। अब पनि कतिञ्जेल पछाडि पर्ने ? अर्को प्रश्न उठेको छ। यतिखेर हामी धेरै प्रश्नहरूबाट घेरिएका छौं। “शिक्षाले व्यक्तिमा ज्ञान र सीपसँगै बुद्धिमत्ता पनि विकास गर्न सक्नुपर्छ। अनि मात्रै त्यो शिक्षा गुणस्तरीय हुन्छ। त्यसैले विवेक जगाउने शिक्षा चाहिन्छ।” यो अनिवार्य आवश्यकतालाई बोध गरेर शिक्षा प्रणालीको विकास गर्न सकियोभने अबको २०२५ वर्षभित्र देशमा वास्तवमा आमूल परिवर्तन गर्न सकिन्छ। आज विद्यालय पुग्ने बालबालिका भोलि विश्वविद्यालयहरूबाट निस्कदा उसमा ज्ञान, सीपसँगै बुद्धिमत्ता मात्र होइन, एक किसिमको बेग्लै आत्मविश्वास र जागरण पनि आउँछ। जसले उसलाई समाजमा उत्पादनको न्यायपूर्ण वितरणमा प्रोत्साहित गरिरहन्छ। सम्पत्तिको समान वितरण हुन गई समाजमा वर्गीय द्वन्द्व नै खतम बनाउने वातावरण बन्छ।

हामीले बूझ्नुपर्छ, अध्ययनले ज्ञान, अभ्यासले सीप र ध्यानले असल विवेक अर्थात बुद्धिमत्ता विकास गर्छ। शिक्षामा यो तीन पाटोलाई समावेस गर्नुपर्छ। अनिमात्रै शैक्षिक क्रान्तिले अपेक्षित नतिजा दिन थाल्छ। त्यसैले असल विवेक अर्थात बुद्धिमत्तासहित ज्ञान र सीप दिने शिक्षा व्यवस्थाको विकासमा ईमान्दार भएर क्रियाशील हौं। समयको माग र हाम्रो आवश्यकता र क्षमताबीच सन्तुलन मिलाएर अघि बढौं।

हामीले हाम्रो नयाँ पुस्तालाई पहिले अतितमात्र पढायौं र त्यसबाट प्रभावित बनायौं अनि अहिले पश्चिमा प्रभाव बढाउने गरी पढाइरहेका छौं। जसले गर्दा पछिल्लो पुस्ता आफ्नो राष्ट्रिय पहिचानसहित नयाँ खोज र सोचमा केन्द्रीत हुन नै पाएन। अतित जान्नुपर्छ, पश्चिम चिन्नुपर्छ तर भविष्यलाई संकट पार्नेगरी अतित र पश्चिमको प्रभावमा परेर आज क्रियाशील हुनुहुँदैन् भन्ने चेतको विकास गर्ने नयाँ शिक्षा आवश्यक भएको छ।

औपचारिक तथा अनौपचारिक शिक्षाले व्यक्तिलाई आफूमा अन्तरनिहित क्षमता चिन्न, उपयोग गर्न र बुद्धिमत्तापूर्ण तरिकाबाट ठीक समयमा ठीक निर्णय गरेर चल्न सक्ने बनाउन सक्नुपर्छ। शिक्षाको मतलब केहि थान किताबहरू पढ्नु र त्यसमै आधारित भएर व्यक्तिको क्षमताको मूल्यांकन गर्नु होइन। शिक्षाले व्यक्तिलाई एकातिर जीवनपर्यन्त सिकारू बनाउनु होभने अर्कोतिर विवेकपूर्ण निर्णय लिन सक्ने बनाएर समाजमा असल अभ्यास, संस्कार र संस्कृति स्थापित गर्न सिकाउनु हो। जीवनका सफलताका वास्तविक सूचकहरू पनि चिनाउनु हो।

नेपालमा जति पनि बेथितिहरू देखिएका छन्, त्यसको मुख्य जड खराब शिक्षा व्यवस्था नै हो। हामीले शिक्षा व्यवस्था बिग्रदा त्यसले पार्ने नकारात्मक प्रभावलाई चिनेर र विचार गरेर शिक्षा व्यवस्थामा समयानुकुल परिवर्तन र स्तरोन्नति गरेनौं। फेरि शैक्षिक दर्शनको सवालमा पनि हामी स्पष्ट भएनौं र शिक्षाको दर्शन कस्तो हुनुपर्छ भन्ने प्रश्नमा कहिल्यै छलफल गरेनौं। हामीले बुझ्नु पर्थ्यो, शिक्षा व्यवस्था र यसको दर्शन ठीक हुने होभने देशको आधा समस्या आफैं समाधान हुन्छ, किनभने असल नागरिकहरू समस्या समाधानका माध्यम बन्न थाल्छन्।

जब नागरिकहरू आफूलाई समस्या समाधानको लागि सहयोगी बन्न थाल्छन् तब देशको आधा समस्या आफैं समाधान हुन थाल्छ। यो पक्षलाई मनन गरेर राजनीतिक, प्राज्ञिक र प्रशासनिक नेतृत्वले शैक्षिक नीति, पद्धति र अभ्यासहरूमा रहेको त्रुटीहरूलाई सच्याउन र शिक्षा व्यवस्थामा आमूल परिवर्तन गर्नका लागि सकारात्मक भूमिका निर्वाह गर्न सक्नुपर्छ। समयले नेतृत्वबाट त्यो अपेक्षा गरेकोमात्र छैन् सामाजिक, न्यायिक, प्रशासनिक र आर्थिक नीति, पद्धति र अभ्यासमा व्यापक परिवर्तन गर्न र देशमुखी बनाउने भूमिका पनि खोजेको छ। समस्या राजनीतिमा छ, तर राजनीतिमा त्यो समस्या कसरी आयो भनेर वस्तुनिष्ठ विश्लेषण हुन सकेको छैन्। परिणामस्वरूप शैक्षिक, सामाजिक, न्यायिक, प्रशासनिक र आर्थिक क्षेत्रमा रहेका समस्याका बारेमा कहिल्यै छलफल भएन। राजनीति बिग्रिएर शैक्षिक, सामाजिक, न्यायिक, प्रशासनिक र आर्थिक क्षेत्र बिग्रियो भन्ने भ्रमपूर्ण सन्देश प्रवाह गर्न खोजिएको छ। जबकी त्यो सत्य होइन र त्यो सत्य बुझ्ने ल्याकत हामीमा विकास गर्ने शिक्षा नै भएन।

राजनीतिलाई असल बनाउने पञ्चतत्व शैक्षिक, सामाजिक, न्यायिक, प्रशासनिक र आर्थिक असल नीति, पद्धति र अभ्यासहरू नै होभन्ने कुरा बुझाउन सकियोभने भोलिका दिनमा आजको जस्तो समस्या देखिने थिएन। राजनैतिक तथा संवैधानिक परिवर्तन गरेपछि सामाजिकदेखि लिएर प्रशासनिक क्षेत्रमा पनि सोअनुकुल हुनेगरी परिवर्तन गरिनुपर्थ्यो। त्यसो नगर्दा राजनीति ठीक भएन भन्ने प्रश्न उठिरह्यो। प्रत्येक १०र१० वर्षमा राजनैतिक तथा संवैधानिक परिवर्तनको फण्डा भइरह्यो। राजनीति बाहेक अन्य क्षेत्रमा भएका प्रणालीगत त्रुटी अनि नीतिगत खराबीलाई नियमित राख्दा परिस्थिति सधैं नकारात्मक बन्ने वातावरण बन्यो। २००७ सालपछिका महत्त्वपूर्ण ७० वर्षहरू अनावश्यक रूपमा राजनीतिमा मात्रै केन्द्रीत भइरह्यो। शैक्षिक, सामाजिक, न्यायिक, प्रशासनिक र आर्थिक पक्षका बारेमा पटक्कै ख्याल गरिएन। फेरि बलियाका विरूद्धमा कमजोरहरूको गठबन्धन बनाएर राजनैतिक तथा संवैधानिक अस्थिरता बढाउने काम भइरह्यो।

यो खालको परिस्थितिलाई बुझेर शैक्षिक, सामाजिक, न्यायिक, प्रशासनिक र आर्थिक क्षेत्रमा आमूल परिवर्तन गर्नेपर्ने वातावरण बन्दैछ। यो पक्षलाई हामी नेपालीहरूले बुझ्नुपर्छ। तर हाम्रो मुख्य कमजोरी सत्यतथ्य नबुझ्ने लहलहैमा लागेर भिंडका पछि दौड्ने। यहि कमजोरीमा टेकेर आज गलत पात्र र प्रवृत्ति राज्य सत्ताको नेतृत्वमा मात्र पुगेको छैन्, राजनीतिमा फेरि प्रभाव जमाउने सपना देख्दैछ। दान अनुदान मन्द विष होभने जान्दा जान्दै त्यहि विष खुवाउने प्रयास गर्दैछ। त्यसैले राजनीतिले तब राम्रो काम गर्छ, जब देशको शैक्षिक, सामाजिक, न्यायिक, प्रशासनिक र आर्थिक क्षेत्रले पनि परिवर्तन र जनअपेक्षाबमोजिम काम गर्न थाल्नेछ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  १० : ३९ बजे