‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कसरी गर्ने बालरोगको निदान ? यस्ता छन् डाक्टरका टिप्स

काठमाडौं । विश्वमा प्रत्येक वर्ष झण्डै एक करोड बालबालिकाको मृत्यु निमोनिया, झाडापखाला, दादुरा, मलेरिया, एच आई भी, एड्स तथा कुपोषण जस्ता रोगहरूबाट हुने गर्दछ । एक तथ्याङ्क अनुसार संसारभर करिव स्रोह लाख बालबालिकाहरूको निमोनियाबाट मात्र मृत्यु भएको देखिन्छ ।

निमोनियाले प्रति वर्ष विश्वभर पन्ध्र करोड पचास लाख बालबालिका बिरामी पर्दछन् । बाल मृत्युको कारणमध्ये दादुरा पनि एक प्रमुख कारण हो । स–साना हेलच्याक्राइका कारणपनि कतिपय अवस्थामा बालरोगहरु जटिल बन्न पुग्ने गर्दछन् ।  मदरल्याण्ड हस्पिटलका जनरल फिजिसियन डाक्टर सुजित सिंहसँग बालरोग र त्यसको निदानका बारेमा चक्रपथकर्मी युवराज ढुङ्गेल गर्नुभएको कुराकानीको सार संक्षेप : 
बाल रोग भनेको के हो , यस अन्तर्गत कस्ता कस्ता रोगहरू पर्दछन् ? 

दुई महिनादेखि पाँच वर्षसम्मका बालबालिकाहरूमा सामान्य रोगदेखि जटिलसम्मका रोगहरूलाई नै बाल रोग भनिन्छ । यस अन्तर्गत निमोनिया, झाडापखाला, दादुरा, मलेरिया, एच आई भी, एड्स तथा कुपोषण, टाइफाईड, फोक्सो, मिर्गौला, मुटु र पेटसँग सम्बन्धित साधारणदेखि विशेष जटिल सम्पूर्ण रोगहरू यस भित्र पर्दछन् ।
 
मौसम परिवर्तनले यस्ता खालका रोगहरूलाई कसरी असर गर्दछ  ? मौसम परिवर्तनसँगै बालबालिकालाई कसरी सुरक्षित राख्न सकिन्छ ?

परिवर्तित मौसमसँगै बालबालिकाहरूमा ज्वरो आउने, रुघाखोकी लाग्ने झाडापखाला लाग्ने, श्वासप्रश्वास हुने समस्या उत्पन्न हुने, पेट दुख्ने जस्ता विभिन्न रोगहरू देखा पर्दछन् । यसबाट बालबालिकाहरूलाई बचाउनको लागि मौसम अनुसारको कपडा लगाइदिने, खानेकुरा, झोलिलो पदार्थहरुमा ध्यान दिने जथाभाबी बच्चालाई नछोड्ने, बच्चाहरूको  सानो समस्यालाई व्यवस्था नगर्ने र रोगका लक्षण देख्ना साथ डाक्टरको परामर्श लिने गर्नुपर्दछ ।
 
बच्चा बेलामा भएको निमोनियाले भविष्यमा मुटु रोग हुने सम्भावना कति छ ?

नेपालमा मात्र नभई दक्षिण एसिया भरी नै निमोनियालाई सामान्य रूपमा हेरेको पाइन्छ । डाक्टरको परामर्श बिना औषधी प्रयोग गरिन्छ । क्षणिक रूपमा निको भएता पनि पछि गएर फोक्सोमा समस्या आउने हुँदा मुटु र फोक्सोको निमोनियाले नकारात्मक र दीर्घकालीन असर गर्न सक्छ  ।
 
बच्चाहरूमा पेट दुख्ने समस्या रहेको छ, पेट दुख्ने कारण के के हुन सक्दछन् ?

विशेष गरी अस्वस्थ खानेकुराहरूकै कारणले बालबालिकामा पेट दुख्ने समस्या धेरै देखिने गरेको पाइन्छ । काँचो खानेकुरा नपखाली खाँदा, शुद्धिकरण नगरी पानी पिउँदा, फोहोर हातले खानेकुरा खाँदा, झिँगा भन्केको र बासी खानेकुरा कै कारण हाल नेपालका अधिकांश अस्पतालमा यस्ता बिरामी १०० प्रतिशतमा ८० प्रतिशत रहेको पाइन्छ ।
 
साना उमेरका बालबालिकाहरूमा मिर्गौलामा असर किन देखिन्छ ?

बच्चाहरूलाई धेरै मात्रामा नुन र मसला हालिएका खानेकुराहरू खुवाउनु नै मिर्गौला खराबीका प्रमुख कारण हो ।  मान्छेको शरीर मसलाको लागि उपयुक्त नभएको तथ्याङ्कहरूले देखाएको छ ।  पानीको मात्रा कम हुनु पनि मिर्गौला खराबीको कारण हो । 
 
बालबालिकामा लाग्ने  कुपोषण र फुकेनास रोग के हो  ? यसका लक्षण र बच्ने उपायहरू के के हुन् ?
बच्चाहरूमा पोषणको कमीले यो रोगहरू लाग्ने गर्दछ । धेरै मात्रामा कार्वोहाईडेट युक्त खाना खाने र प्रोटिन युक्त खानेकुरा नखाँदा यो रोग लाग्ने गरेको पाइन्छ । यसको लक्षण भनेको पेट फुल्नु र शरीर सुकेको देखिनु कुपोषण हो भने शरीर मोटो देखिने वा फुलेको शरीर फुकेनास हो । यस्ता बालबालिकाहरू धेरै कमजोर हुने गर्दछन् । यसबाट बच्ने उपाय भनेको प्रोटिन, चिल्लोयुक्त खानेकुराहरू सन्तुलितसँग खानु हो । 
 
दादुरा र रुबेला रोग भनेको के हो  ?यसबाट कसरी जोगिने ?
दादुरा अति छिटो सर्ने सङ्क्रामक रोग हो, जुन मिजल्स भाइरसको कारणबाट हुन्छ । रुबेला पनि भाइरस कै कारणबाट हुने दादुरा जस्तै देखिने सङ्क्रामक रोग हो । यी रोगहरू सामान्यतया ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रूप पनि लिन सक्दछ । बालबालिकामा दादुराको सङ्क्रमण भएमा गम्भिर प्रकारका जटिलताहरू हुनुका साथै मृत्यु हुन पनि सक्छ । यसका लागि ९ महिनादेखि ५ वर्षमुनिका सबै  बालबालिकालाई नछुटाई खोप लगाऔँ ।
 
बाल रोगबाट बच्ने प्रमुख उपायहरू के के हुन् ?

  • खानपिनमा ध्यान दिने ।
  • पानी तताएर वा शुद्धिकरण गरेर मात्र पिउने ।
  • काँचो खानेकुरा, फलफूलहरू सफा गरेर मात्र खाने ।
  • खानेकुरालाई सफा गरी राम्रासँग पकाएर खाने ।
  • मौसम अनुुुसारको लुगाहरू प्रयोग गर्ने ।
  • बेला बेलामा साबुन पानीले हात धुने ।
  • चीसो ठाउँमा धेरै समय नबस्ने र पानीमा नभिज्ने ।
  • बच्चाहरूमा सामान्य रोग देखापर्ना साथ डाक्टरको परामर्श अनुसार औषधीको प्रयोग गर्ने ।
  • समय समयमा बच्चाको स्वास्थ्य परीक्षण गर्ने ।
  • प्रोटिन युक्त खानेकुराहरू खाने ।
  • नेपाल सरकारले निःशुल्क खोपको व्यवस्था गरेको छ, यसको भरपुर  उपयोग गर्ने ।
  • नेपाल सरकारले बजाउने स्वास्थ्य विज्ञापनहरू सुन्ने बानीको विकास गर्ने ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ३ : ३९ बजे