दार्चुला – निर्वाचन आयोगले एमाले र जसपाका जनप्रतिनिधिलाई दल छान्न दिएको समय सकिन अब चार दिन बाँकी छ । तर, आजसम्म दार्चुलाका एमालेबाट निर्वाचित जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी) मा खुलेका छैनन् ।
दार्चुलाका नौ स्थानीय तहमा एमालेबाट निर्वाचित जनप्रतिनिधि महिला ५५ र पुरुष ६७ गरी जम्मा एक सय २२ जना रहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका प्रमुख प्रदीपसिंह धामीले बताए । जिल्लाका नौ स्थानीय तहमध्ये तीनजना अध्यक्ष र चारजना उपाध्यक्ष एमालेबाट निर्वाचित छन् ।
जिल्लाका ६१ वडामध्ये २२ वटामा एमालेबाट निर्वाचित वडाध्यक्ष छन् । महिला वडा सदस्यमा २५, दलित महिला सदस्यमा २२, वडा सदस्यमा ४० जना पुरुष र तीनजना महिला निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाको तथ्यांक छ । दलित तथा अल्पसंख्यक सदस्यमा एकजना महिला र दुईजना पुरुष एमालेका जनप्रतिनिधि छन् ।
एमाले छोड्न चाहने जनप्रतिनिधिले २२ भदौ साँझ ५ बजेसम्म जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गर्न सूचीत गरिएको छ ।
दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्ना र प्रदेशसभा सदस्य गेल्बुसिंह बोहरा एमालमै रहेकाले एकीकृत समाजवादी रोज्ने जनप्रतिनिधि कोही नखुलेको देखिएको छ । यसअघि माधव नेपाल समूहमा देखिएका एमाले जिल्ला कमिटी सचिव ज्ञानेन्द्र घर्तीले पनि एमालेमै रहने घोषणा गरेका छन् ।
प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार १ : ४३ बजे
प्रतिक्रिया