दार्चुलाको तुइन घटना सरकारले थामथुम पार्न खोज्यो : एमाले

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दार्चुलाको तुइन घटनालाई सरकारले थामथुम पार्न खोजेको आरोप लगाएको छ ।

आज पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै सरकार घटनालाई थामथुम गर्ने प्रयासमा लागेको बताउनुभएको हो ।

‘आफ्ना नागरिक बेपत्ता पारिएको यति संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहल गर्न नसक्ने सरकारले नेपाली जनताको ध्यान यस घटनाबाट अन्यत्रै मोड्न खोजेको आशंका पैदा भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको जीवनसँग जोडिएको यस्तो गम्भीर विषयमा सरकारले प्रदर्शन गरेको संवेदनहीनता र लाचारीप्रति खेद व्यक्त गर्दै नेकपा (एमाले) यस अविलम्ब घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गर्दछ ।’

साउन १५ गते महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले तुइन चुँडाइदिएर जयसिंह धामी बेपत्ता हुनु भएको थियो । छानबिन समितिले एसएसबीको संलग्नता देखिएको भन्दै सरकारलाई प्रतिवेदन बुझाएको छ। 

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  ९ : २९ बजे