‘नेशनल डे कन्सर्ट’ सम्पन्न

गृहमन्त्री थापा र अष्ट्रेलियाका राजदूतबीच भेटवार्ता

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–अष्ट्रेलिया द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । 

भेटमा गृहमन्त्री थापाले नेपालमा राजदूतको रुपमा कार्यभार सम्हाल्नुभएकामा राजदूत भोल्कलाई बधाई तथा सफलताको शुभकामना दिँदै उहाँकोे कार्यकालमा नेपाल–अष्ट्रेलिया सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । भेटमा गृहमन्त्री थापाले गत वर्ष नेपाल र अष्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वर्षगाँठ मनाएको स्मरण गर्दै यसले पनि दुई देशको सम्बन्ध जनस्तरमा पुगेको टिप्पणी गर्नुभयो । उहाँले पछिल्लो समय अध्ययन र अन्य कामका लागि अष्ट्रेलिया नेपालीको प्रमुख रोजाइ बनेको बताउँदै कोरोना सङ्कटमा अस्ट्रेलियामा रहेका नेपालीको सुरक्षाबारे पनि चासो राख्नुभएको थियोे ।

नेपालको विविध क्षेत्रमा अष्ट्रेलियाले गर्दै आएको सहयोगका लागि राजदूत भोल्कमार्फत अष्ट्रेलिया सरकारलाई धन्यवाद दिँदै गृहमन्त्री थापाले आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालमा लगानीको लागि उपयुक्त वातावरण रहेको चर्चा गर्दै नेपालमा अष्ट्रेलियाको थप लगानीका लागि भूमिका खेल्न राजदूत भोल्कसँग आग्रह गर्नुभयो ।

सो अवसरमा राजदूत भोल्कले नेपाल–अष्ट्रेलिया सम्बन्धको चर्चा गर्दैै नेपालको ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियानलाई सफल पार्न अष्ट्रेलियाको अधिकतम सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यसअघि आफू चार पटक नेपाल भ्रमणमा आएको स्मरण गर्दै यसपटक राजदूतको रुपमा सुन्दर देश नेपालमा कार्यभार सम्हाल्न पाएकामा गौरवान्वित महसुस गरेको बताउनुभयो । नेपालको विविध क्षेत्रमा अष्ट्रेलियाको लगानी  भित्र्याउन आफूले पहल गर्ने भेटमा राजदूत भोल्कले प्रतिबद्धता व्यक्त गर्नुभयो । 

रासस

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  १० : ०३ बजे