साफ यू–१७ च्याम्पियनसिप आजदेखि

भाइरल ज्वरोलाई नै कोरोना सोच्छन् अधिकांश बिरामीहरू 

काठमाडौँ । कोरोनाको आशंकामा अस्पतालमा भर्ना हुन पुगेका ७० वर्षीय कृष्ण दनुवारलाई भाइरल ज्वरो आएको रहेछ । ठ्याक्कै कोरोनाको जस्तै लक्षण देखिएपछि उनी तीनदिन अघि काठमाडौँ स्थित शंखरापुर अस्पतालमा भर्ना भएका थिए । 

ज्वरोले लखतरान परेका उनको हालत कोरोनाको रोगी जस्तै थियो । अस्पतालमा उनको कोरोनाको परीक्षण गर्दा उनीमा कोरोना नभएको प्रमाणित भयो । अस्पतालको शैयामा भेटिएका दनुवारले सुरु सुरुमा आफूलाई कोरोना नै त भएन भनेर निक्कै डराएको बताए । ‘अस्पतालमा  भर्नाहुँदा डर त हुन्छ नै त्यसमाथि सबै लक्षणहरू कोभिडको जस्तै देखियो ।’उनले भने ।   परीक्षण पछि भने आफू ढुक्क हुन सकेको दनुवारले बताए । 

भाइरल ज्वरोलाई पनि सबैले कोरोना नै हो भनेजसरी बुझेकोमा आफूलाई नराम्रो लागेको उनले बताए । उपचार राम्रै भएकाले आफू छिट्टै निको हुने र चाँडै अस्पतालबाट बाहिरिने  दनुवारले बताए ।

शंखरापुर अस्पतालको इमरजेन्सी वार्डमा भेटिएका अर्का  बिरामी हरि बहादुर खड्का पनि आफूलाई कोरोना नदेखिएकोमा खुसी देखिन्थे । कोरोनाकै आशङ्कामा अस्पताल भर्ना भएका उनी सुरुमा निक्कै आत्तिएका बताउँछन् । ‘कोरोनाको त्रास त छ, कति बेला के हुने हो थाहा छैन तर पनि स्वास्थ्यमा जटिल समस्या आएका कारण अस्पताल आएको हुँ, तर कोरोना भने देखिएन’, उनले भने । अघिपछि यस्तै बिरामी हुँदा सबैले माया गर्थे तर यो पटक आफूलाई धेरैले असहयोग गरेको उनले बताए । ‘सबै जनाले कोरोना नै हो कि भनेर छि,छि र दुरदुर गरे अन्ततः कोरोना नभई भाइरल ज्वरो आएको रहेछ’ उनले भने । ‘परिवारलेसमेत कोरोनाको आशङ्कामा पृथक् तरिकाले हेर्ने रहेछन्’, उनले भने । 

पछिल्लो समय अस्पतालमा कोरोनाको आशङ्कामा भर्ना हुने बिरामीको सङ्ख्या उल्लेख्य बढेपनि अधिकांशमा भाइरल ज्वरो हुने गरेको चिकित्सकहरू बताउँछन् । 

रुघाखोकीसँगै नाकबाट पानी बगिराख्ने ,शरीर धेरै थाक्ने, ढाड दुख्ने, जिउ गलेको महसुस हुने, टाउको  र आँखा दुख्ने, बान्ता हुने र पखाला लाग्ने भाइरल ज्वरोका मुख्य लक्षणहरू भएको चिकित्सकहरू बताउँछन् । 

चक्रपथ डटकमसँगको कुराकानीमा शंकरापुर अस्पतालका अध्यक्ष डा.रमेश ढकाल अस्पतालमा कोरोनाका आशङ्कामा भर्ना भएका सबै बिरामीहरू कोभिड ग्रस्त नै हुन भन्न नसकिने बताउनुहुन्छ  । उहाँ अझै पनि कोरोनाको भने जोखिम नघटेको बताउनुहुन्छ ।  ‘पहिलाको जस्तै प्रकृतिका कोरोनाका बिरामी त अहिले छैनन् तर पनि अझै ८० प्रतिशत बिरामी कोभिडकै छन्’ ढकालले भन्नुभयो ।  

अक्सिजनको सहज आपूर्ति भइरहेकाले उपचारमा खासै समस्या नभएको उहाँ बताउनुहुन्छ । कोरोना आशङ्कामा अस्पताल आएका  बिरामीहरूमा डर चिन्ता, बेचैनी, अत्यास, डिप्रेसन, मनोग्रसित बाध्यता विकार जस्ता समस्या बढेको उहाँ बताउनुहुन्छ । 

डा.ढकाल रोगको चिन्ताले गर्दा शरीर तातो हुने, टाउको दुखे जस्तो लाग्ने र खोकी लागे लागे जस्तो हुने बताउनुहुन्छ । 

मौसम परिवर्तनका कारण लाग्ने नियमित रुघाखोकीलाई पनि अधिकांशले कोरोना नै  भएको जस्तो लाग्ने, कहिले काहीँ खोकी नै नलाग्दा पनि त्रासले गर्दा खोकी लागे जस्तो हुने गरेको उहाँ बताउनुहुन्छ । 

डा.ढकाल भन्नुहुन्छ, ‘विश्वभरी फैलिएको कोरोनाबाट जोगिन सावधानी र सतर्कता अपनाउनु सही हो, तर तनाव लिनु भने सरासर गलत हो ।’ भाइरल ज्वरोलाई पनि सामान्य ठानेर हेलच्याँक्री भने गर्न नहुने ढकाल बताउनुहुन्छ । 

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  ३ : ०३ बजे