माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

नेपालमा एक करोड ९२ हजारले लगाए खोप, विश्व स्वास्थ्य सङ्गठनद्वारा बधाई

काठमाडौँ –  हालसम्म नेपालमा कोरोना भाइरसविरुद्धको खोप एक करोडभन्दा बढी मात्रामा लगाएको छ । 

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा भारत पछि दक्षिण एसियाकै दोश्रो मुलुक बन्दै नेपालले कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियानको सुरुवात गरिएको थियो । तत्कालिन ओली सरकारले १४ माघ २०७७ देखि देशव्यापी रुपमा निशुल्क खोप अभियान संचालन गरेको  थियो। नेपालले भारतको सेरम इन्स्टिच्युटद्वारा निर्मित कोभिशिल्डको खोप  लगाउन सुरु गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले समेत चीन, अमेरिका,  बेलायत, रसिया, भारतसहित विभिन्न मुलुकका राष्ट्र प्रमुखलाई खोप सहयोग गर्नका लागि पत्र लेख्नु भएको थियो । नेपालमा पहिलो पटक खोप लगाउनेमा स्वास्थ्य तथा सफाइमा संलग्न अग्रपङ्तिका मानिसहरू, प्रहरी, सेना, पत्रकार, सरकारी कर्मचारी र ब्याङ्क कर्मचारीलाई लगाइएको थियो ।

स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबारसम्ममा एक करोड ९२ हजार १०६ मात्रा खोप लगाइसकिएको छ ।  हालसम्ममा १७ दशमलव नौ प्रतिशतले खोपको पहिलो मात्रा र १५ दशमलव चार प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् । 

मन्त्रालयको तथ्याङ्कअनुसार ५४ लाख २४ हजार ८३६ जनाले पहिलो मात्रा र ६४ लाख ६७ हजार ३२८ जनाले पूर्ण खोप मात्रा लगाएका छन् । हालसम्म नेपालमा भोरोसेल, ‘जे एण्ड जे’, कोभिसिल्ड, जापानमा निर्मित अस्ट्राजेनेका र स्वीडिस् अस्ट्राजेनेका खोप आएको छ । मन्त्रालयले असोजसम्म ३० प्रतिशत नागरिकलाई खोप लगाउने अभियान देशभर तीव्र रुपमा अघि बढाएको छ ।

यसैबीच विश्व स्वास्थ्य सङ्गठनका दक्षिण–पूर्वी एशियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले नेपालले १० मिलियन खोपको मात्रा व्यवस्थापन गर्नुका साथै छोटो समयमै कोरोनाविरुद्धको खोप लगाउनयोग्य नागरिकमध्ये १५ प्रतिशतलाई पूर्ण खोप लगाउन सफल भएकामा बधाईसमेत दिनुभएको छ ।
 

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  १ : ०६ बजे