नेकपा एमालेले हाल्यो निर्वाचन आयोग र सभामुखविरुद्ध मुद्दा, तीन वटा रिट निवेदन दर्ता

काठमाडौं, भदों १६ । नेकपा एमालेले सभामुख अग्नि सापकोटा र निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालतमा रिट हालेको छ ।

बुधबार तीन वटा रिट लिएर सर्वोच्च अदालत पुगेका एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध मुद्दा हालेको हो। अध्यक्ष ओलीको तर्फबाट सुमित्रा पाण्डले  सर्वोच्च अदालतमा दायर गरेको रिटमा एमालेबाट निष्कासनमा परिसकेका १४ जना सांसद र ९ जना केन्द्रीय सदस्यलाई सनाखत गराएर भएको नेकपा एकीकृत समाजवादी दर्ता बदर माग गरिएको छ ।

निर्वाचन आयोगले बदनियतपूर्ण र अनाधिकृत व्यक्तिहरुलाई हस्ताक्षर गरेर एमाले फुटाउन गरेको हस्ताक्षरलाई मान्यता दिएको आरोप लगाइएको छ । रिटमा झलनाथ खनालसहित १४ जना सांसदले वैशाख २७ गते आफ्नै प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेला ह्वीप उल्लंघन गरी अनुपस्थित भएको आधारमा निष्कासन गरिएकोले उनीहरूलाई सांसद पदबाट पदमुक्त गर्नसमेत माग गरिएको छ ।

सभामुख अग्नि सापकोटाविरुद्ध भने एमालेले कारवाही गरेका सांसदहरुको सूचना नटाँसेको आरोप लगाइएको छ । रिटमा नेकपा (एकीकृत समाजवादी) पार्टी खोलेका माधवकुमार नेपालसहित १४ सांसदलाई पनि विपक्षी बनाइएको छ ।

यसैगरी, लुम्बिनी प्रदेशका सभामुखले पनि प्रदेश सांसदहरुलाई कारवाही गरेको सूचना नटाँसेकाले रिट निवेदन दर्ता गर्नुपरेको एमालेको जिकीर छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ४ : ४८ बजे