कांग्रेस सभापतिका लागि कल्याण गुरुङले गरे उम्मेदवारीको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले पार्टीको सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएका छ । बुधवार पत्रकार सम्मेलन गरेर नेता गुरुङले पार्टीको आसन्न १४ औ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने औपचारिक घोषणा गर्नुभएको हो ।
नेविसंघका पूर्वअध्यक्षसमेत रहनुभएका  ५१ वर्षीय गुरुङले युवाहरुको प्रतिनिधित्व गर्दै आफूले उम्मेदवारी दिएको र जित्ने दाबी गर्नुभयो ।
२०४८ सालमा जो नेतृत्वमा थिए ३० वर्षपछि पनि उनीहरु नै नेतृत्वमा बसिरहेको भन्दै गुरुङले नयाँ पुस्ताको नेतृत्व गर्दै आफू अघि सरेको बताउनुभयो  । ुशासन व्यवस्थामा परिवर्तन आयो । तर नेतृत्वको सोंचमा परिवर्तन आएन । ६० वर्ष माथिको २० जना पार्टी नेतृत्वका आकांक्षी छन् । कम्तिमा पनि १० जना युवा आकांक्षी हुनुपर्छ,ु उहाँले भन्नुभयोे, ‘बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहले युवा अवस्थामा पार्टी र सरकारको नेतृत्व गरेको कांग्रेसमा अहिले पनि पुरानै पुस्ता नेतृत्व गरिरहेको छ । नयाँ पुस्ता पार्टी र देशको नेतृत्व गर्न सक्षम छ त्यसैले मेरो उम्मेदवारी हो।’

गुरुङले नयाँ पुस्ताले नेतृत्व लिनुपर्छ भन्ने आम मानिसको माग रहेको र ८० प्रतिशत क्रियाशील सदस्य युवा भएकाले आफूले उम्मेदवारी दिएको दोर्होयाए ।  

उनले आफू सभापति भएमा सबै समुदायलाई समेटेर समावेशी पार्टी बनाउने दाबी गर्नुभयो  । 
गुरुङले एक व्यक्तिमात्रै पटक पटक मन्त्री, सांसद र पार्टी पदमा रहिरहने व्यवस्था पनि फेर्ने बताउनुभयो  । ‘समानुपातिक सांसद एकपटक मात्र बन्न पाउने, दुई पटकमात्र मन्त्री हुन पाउने, दुई पटकमात्र प्रधानमन्त्री बन्न पाउने संवैधानिक व्यवस्था पार्टीको विधानमा व्यवस्था गर्छु । एक व्यक्ति पार्टीको वडा सभापतिदेखि केन्द्रीय सदस्यसम्म दुई पटकमात्र पदमा बस्न पाउने विधानमै व्यवस्था गर्छु,’उहाँले भन्नभयो ।
सभापति बनेर सरकारको नेतृत्व गर्ने अवसर पाए ६ महिनाभित्र भ्रष्टाचारमुक्त देश बनाउन पहल गर्ने गुरुङले बताउनुभयो । 
गुरुङ पार्टीमा रामचन्द्र पौडेलनिकट मानिनुहुन्छ । उहाँले चाँडै आफ्नो टिम सार्वजनिक गर्ने पनि बताउनुभये ।

यसअघि कांग्रेस सभापतिमा लड्न उपसभापति विमलेन्द्र निधिले सम्पर्क कार्यालय खोलिसम्नुभएको छ  । महामन्त्रीमा गगन थापाले उम्मेदवारी घोषणा गरेका छन् ।

वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नै फेरि नेतृत्वमा दोहोरिन उम्मेदवारी दिने मनस्थितिमा हुनुहुन्छ महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा धमाधम उम्मेदवारी घोषणा गर्ने क्रम बढेको  छ ।

कांग्रेस केन्द्रीय महाधिवेशन मंसि ९–१३ मा  हुनेछ ।
 

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ४ : १८ बजे