सभामुख, निर्वाचन आयोगसहित तीनवटा मुद्दा लिएर एमाले अदालत जाँदै

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभाका सभामुख, निर्वाचन आयोगसहित तीनवटा मुद्दा लिएर अदालत जाने भएको छ ।

आज अपराह्नसम्ममा अदालत पुग्ने गरी तयारी भइरहेको एमाले नेता अग्नि खरेलले जानकारी दिनुभयो । एमालेको केन्द्रीय कमिटी बैठकले नै सभामुख र निर्वाचन आयोगविरुद्ध कानुनी उपचार खोज्ने निर्णय गरेको थियो । एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरी संसद् सचिवालयमा बुझाएको थियो । तर, सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुलाई पदमुक्त गर्ने निर्णय नगरेको भन्दै एमाले अदालत जान लागेको हो । संविधान र कानुनमा भएको व्यवस्था भन्दा बाहिर गएर सभामुखले जे गनुपथ्यो त्यो नगरेर, जे नगर्नुपर्ने त्यो गरेका कारण एमाले अदालत जानुपरेको नेता खरेलले चक्रपथलाई बताउनुभयो । सभामुखको काम कर्तव्य र अधिकारभित्र दलहरुले गरेको निर्णयमा सुचना टाँस्नुपर्ने भएपनि नटाँसेर गलत गरेको एमालेको ठहर छ । केपी ओलीले कारबाही गरेकै कारण सभामुखले रोकेको र सभामुखले राजनीति गरेको एमालेको आरोप छ । 

त्यस्तै, निर्वाचन आयोगले कारबाहीमा परेका १४ सांसदसहितका आधारमा नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको थियो । उक्त निर्णय विवादास्पद भन्दै एमाले अदालत जाँदै छ । एमालेले साउन २५ गतेको केन्द्रीय कमिटी बैठकबाट माधव नेपालसहित १४ जना सांसदलाई निष्कासन गरेको थियो । सो निर्णयको जानकारी संसद सचिवालयलाई र निर्वाचन आयोगलाई भदौ १ गते दिइएको थियो ।  कानूनबमोजिम पार्टीले निष्कासन गरेर सूचना दिइसकेपछि सभामुखले १४ सांसदका पद रिक्त भएको सूचना टाँस्नु पर्नेमा पार्टीमा विभाजनमा नियतवश लागेको भन्दै एमालेले सभामुखविरुद्ध अदालत जाने निर्णय लिएको हो।

त्यस्तै एमालेले लुम्बिनीका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध पनि मुद्दा लैजाने भएको छ । एमालेबाट निर्वाचित अजय शाही र नेकपाबाट निर्वाचित भएर एमाले रोजेकी विमला वलीलाई पार्टीले कारवाही गरेपछि पदमुक्त गर्नुपर्नेमा सभामुखले नगरेको भन्दै उनीविरुद्ध मुद्दा दर्ता हुने भएको छ ।
 

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  २ : ०८ बजे