गठबन्धनको गाडी भिरैभिर कुदिरहेको छ, ढुंगामा बजारिएपछि थाहा हुन्छ : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार सही बाटोमा नहिँडिरहेको बताउनुभएको छ । आज काठमाडौंमा झापा –काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

‘गठबन्धनको गाडी भिरैभिर कुद्दैछ। एकछिन त रमाइलो होला तर ढुंगामा बजारिएपछि थाहा हुन्छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।

त्यस्तै, उहाँले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो कर्तव्य बिर्सनुभएको दोहोर्‍याउनुभयो । ‘सभामुख मूलबाटो छोडेर कान्लाकान्ला हिँड्नुभयो । अदालतमा पुगेपछि जे गरे पनि भयो,’ अध्यक्ष ओलीले भन्नुभयो । अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धनले अलोकतान्त्रिक अभ्यास गरिरहेको भन्दै आगामी चुनावमा वर्तमान सत्तारुढ गठबन्धन भत्किने दावी गर्नुभयो ।

अध्यक्ष ओलीले खेल क्षेत्रलाई महत्व दिनुपर्ने तथा प्रोत्साहन गर्नुपर्ने पनि बताउनुभयो । खेलले मानिसलाई चुस्त, दुरुस्त, सक्षम र अनुशासित बनाउने पनि उहाँले उल्लेख गर्नुभयो । अनुशासित भएर खेल्नसके सफलता प्राप्त गर्न सकिने भन्दै अध्यक्ष ओलीले खेलाडीहरूलाई अनुशासित भएर खेल्न सुझाव दिनुभयो ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ८ : ३१ बजे