बाग्मती प्रदेश सभामा एमाले अल्पमतमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाग्मती प्रदेशका ११ जना प्रदेश सभाका सदस्यहरुले एमाले विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका छन् ।

निर्वाचन आयोगले पार्टी विभाजन भएपछि दल रोज्न दिएको समय सीमाभन्दा अगावै प्रदेश निर्वाचन कार्यालय, बागमती प्रदेश, हेटौँडामा पुगेर मङ्गलवार प्रदेश सभाका ११ जना प्रदेश सभा सदस्यहरुले एमाले छाडेर एकीकृत समाजवादी रोजेका हुन् ।

प्रदेश सभाका सदस्यहरु राजेन्द्र पाण्डे, माधव पौडेल, राजेन्द्रमान श्रेष्ठ, वसन्तप्रसाद मानन्धर, लक्ष्मण लम्साल, रमा आले मगर, इन्द्रमाया गुरुङ, मुनु सिग्देल, कुसुमकुमार कार्की, वसुन्धरा हुमागाईँ र पार्वती सिलवालले एमाले छाडेर एकीकृत समाजवादी रोज्दै सनाखत गर्नुभएको हो ।

यसअघि एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता भएकै दिन प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले सनाखत गर्नुभएको थियो । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू मुख्यमन्त्री भएकै दिन भदौ २ गते खनाललाई मन्त्रीमा नियुक्त गर्नुभएको थियो । खनालसहित १२ जना प्रदेश सभाका सदस्यहरुले एकीकृत समाजवादीमा सनाखत गरेसँगै मुख्यमन्त्री शाक्य अल्पमतमा पर्नुभएको छ । प्रदेश सभामा एमालेका ५५ जना प्रदेश सभा सदस्य छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ५ : ०३ बजे