नेकपा (एस)ले अझै भेटाएन पार्टी अफिस : सिंहदरबारमा दलको कार्यलय भने पायो 

काठमाडौं । नेकपा एकीकृत (समाजवादी)लाई संघीय संसद सचिवालयले कार्यालय उपलब्ध गराएको छ ।  नेकपा एमालेबाट विभाजित भई हालै नेपालले गठन गरेको नेकपा (एस)लाई संघीय संसद भवन सिंहदरबारमा कार्यालय उपलब्ध गराएको हो । संघीय संसद भवन नम्बर १ को दोस्रो तल्लामा नेता माधव नेपालका लागि अलग्गै कार्यालयको पनि व्यवस्था गरिएको छ ।  

पार्टीको चुनाव चिन्ह निक्र्यौल गर्न नसकेको नेकपा (एस(को पार्टी कार्यालय भने अझै पनि टुंगो लागिसकेको छैन । पार्टी गठन भएको एक सातासम्म पनि नेकपा (एस)ले पार्टीको केन्द्रीय कार्यालय राख्ने स्थान नभेटेको हो ।  
निर्वाचन आयोगमा दल दर्ता गर्दा नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको विवरण बुझाइए पनि बानेश्वरको अर्याल होटल र होटल छेउको एउटा स्कुलबाट पार्टी सम्पर्कको काम हुँदै आएको छ । 

बानेश्वर आसपास कार्यालय नभेटेपछि यतिवेला बबरमहल र बिजुलीबजारबीचको आर्कब्रिज नजिकै रहेको एउटा कम्पाउन्डसहितको तीनतले घरमा कार्यालय राख्ने विषयमा कुराकानी भइरहेको सो पार्टीका नेताहरूले बताउँदै आइरहेका छन्  । सो घर बबरमहलतर्फ किंग्स कलेजको छेउमै पर्छ ।
नेताहरूका अनुसार मिनभवनमा पनि एउटा घर भेटिएको छ तर टुंगो भने लागेको छैन । 
 

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ३ : १९ बजे