सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौंको फोहोर भोलिबाट उठ्ने

काठमाडौं । काठमाडौं महानगर र उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलिबाट उठ्ने भएको छ । 
अवरुद्घ भएको फोहोर उठाउने काम बुधबार विहान ६ बजेबाट उठ्ने भएको हो । काठमाडौंका मेयर विद्यासुन्दर शाक्य, प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको मंगलवारको बैठकले फोहोर उठाउने निर्णय गरेको हो ।

‘उपत्यकाको फोहोर  व्यवस्थापनको काम ०६२ सालदेखि  सिसडोलमा हुँदै आएको छ । त्यसको सबै जिम्मेवारी शहरी विकास मन्त्रालयको हो । काठमाडौं महानगरपालिकाको जिम्मेवारी भनेको त्यहाँ लगेर फोहोर व्यवस्थापन गर्ने मात्रै हो ।  

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले स्थानीयहरुलाई कुनै पनि असर नपर्ने गरी फोहोर व्यवस्थापन गर्ने गरी निरन्तर लागेको बताउनुभयो । ‘महानगरपालिकाले विगतका दिनमा पनि सिसडोलबासीका विभिन्न माग सम्बोधन गर्दै आएको छ,’ शाक्यले भन्नुभयो , ‘अहिले पनि उहाँहरुका जायज र महानगरपालिकाले सम्बोधन गर्न सक्ने माग पूरा गर्न हामी सकारात्मक छौं ।’

उहाँले फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी महानगरपालिकाको मात्रै नभई सम्पूर्णको समस्या हो भन्दै सबैतिरबाट सकारात्मक सहयोगको अपेक्षा गरेको बताउनुभयो । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले फोहोर उठाउने निर्णय भएको र सडक विभागले महानगरपालिकासँग समन्वय गरेर बाटोको तत्काल व्यवस्थापन गर्ने निर्णय गरिएको बताउनुभयो  । ‘फोहोर उठाउन र त्यहाँ व्यवस्थापन गर्ने सन्दर्भमा सुरक्षा चुनौती देखियो भने शान्ति–सुरक्षाको व्यवस्था गृह प्रशासनले मिलाउने भन्ने भएको छ,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोट र काठमाडौँबीच समन्वय गरेर सुरक्षाको प्रबन्ध मिलाउने र तत्काल फोहोर व्यवस्थापन गर्ने भन्ने भएको छ ।’

पराजुलीले स्थानीय अवरोध भए बल प्रयोग गरेर भए पनि फोहोर व्यवस्थापन गरिने बताउनुभयो ।  ‘फोहोर नगरपालिकाले उठाउँछ । स्थानीयका स–साना विषय भए त्यो महानगरपालिकाले समन्वय गर्छ,’ पराजुलीले भन्नुभयो, ‘मैले प्रहरीलाई स्पष्ट आदेश दिएको छु । उहाँहरुको स्थानीय समस्या भए लेखेर दिनुहोला । कसले सम्बोधन गर्ने हो छलफल गरेर अघि बढ्छौँ । तर, अवरोध गर्ने भन्ने हुन्न । हामी सकेम्म सम्झाइ–बुझाई गरेर शान्तिसुरक्षा कायम गर्दै फोहोर व्यवस्थापन गर्छौ । भएन भने बल प्रयोगको नियम प्रयोग गरेर भए पनि व्यवस्थापन गर्छौ ।’

काठमाडौँका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले पनि सकेसम्म शान्तिसुरक्षा कायम गर्दै फोहोर व्यवस्थापन गर्ने र नभए बल प्रयोग गर्ने बताउनुभयो । ‘स्थानीय व्यक्तिका समस्या छन् भने त्यसको सुनुवाई गर्ने प्रयास हुन्छ,’ सिंहले भन्नुभयो , ‘त्यति गर्दा पनि अवरोध कायम भए कारवाहीको दायरामा ल्याएर भए पनि फोहोर व्यवस्थापन गर्छौं ।’

बैठकमा सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले महानगरपालिकासँग समन्वय गरेर अघि बढ्ने बताउनुभयो  । मेयर शाक्यले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । 

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ३ : ०० बजे