गैरसांसद नातेदारलाई कानुनमन्त्री बनाउँदै माधव  

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले गैर सांसदलाई पनि मन्त्री बनाउने कसरथ गरेको छ । नेकपा (एस)ले  आफ्नो भागमा परेको मन्त्रालयमा अधिवक्ता गोविन्द  बन्दी (शर्मा)लाई मन्त्री बनाउन लागेको हो ।   

बन्दीलाई कानुन मन्त्री बनाउने तयारी छ । बन्दी मन्त्री बनेको खण्डमा उनको कार्यकाल गैरसांसदका रुपमा ६ महिनाको हुनेछ। 

माधव नेपालसँग पारिवारिक नातासमेत रहेका बन्दीलाई मन्त्री बनाएर शान्ति प्रक्रियाका कामहरु टुंग्याउन सत्ता गठबन्धनका नेताहरु सहमत भएको बताइन्छ । माधव नेपालका सम्धी सोमप्रसाद पाण्डे र गोविन्द बन्दी साँढु दाइ साँढु भाइ हुन् । 

बन्दीले प्रतिनिधि सभा विघटन मुद्दामा रिट निवेदकको तर्फबाट बहस गरेका थिए । दैलेख स्थायी ठेगाना भएका उनलाई यसअघि सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष बनाउन खोजिएको थियो।

बन्दीलाई यसअघि केपी ओली सरकारका पालामा सत्य निरुपण आयोगको अध्यक्ष बनाउन खोजिएको थियो । तर तत्कालीन नेकपाका अध्यक्ष प्रचण्डले नमानेका कारण गणेशदत्त भट्टको नाममा सहमति जुटेको थियो ।

बन्दीले माओवादी नेताहरुलाई अप्ठेरो पर्ने खालका द्धन्द्धकालीन मुद्दाहरु अदालतमा लगेका कारण प्रचण्ड त्यतीबेला बनदीसँग डराएका थिए । पछिल्लो समय दुवै संसद विघटनका मुद्दामा बन्दीले ओलीविरुद्ध अदालतभित्र र बाहिर माहौल सिर्जना गरेकाले यसपटक भने प्रचण्ड पनि बन्दीसँग प्रभावित छन् ।

नेकपा एमाले विभाजन हुनुभन्दा अगाडि नै माधवकुमार नेपालले सत्तारुढ गठबन्धनका नेताहरुलाई  बन्दीलाई कानून मन्त्री बनाउन आग्रह गरेको कांग्रेस पदाधिकारीको अनौपचारिक छलफलमा प्रधानमन्त्री शेरवहादुर देउवाले खुलासा गरेका थिए  ।
 

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  २ : ०० बजे