विवेकशील साझामा फेरि बिभाजन हुने संकेत, अध्यक्ष मिश्र र संयोजक पाण्डेले बोलाए छुट्टाछुट्टै बैठक

काठमाडौं । विवेकशील साझा पार्टी फेरि फुटको संघारमा पुगेको छ ।

अध्यक्ष रवीन्द्र मिश्रले एकताको भावना र विधानको व्यवस्थाविपरीत बैठक बोलाएको भन्दै मिलन पाण्डे पक्षले बैठक रोक्न र समझदारीमा बैठक डाक्न आग्रह गरेको थियो । तर, उनीहरूको आग्रहलाई बेवास्ता गर्दै मिश्रले बैठक बोलाएपछि बुधबार पत्र नै काटेर पाण्डेले छुट्टै बैठक डाकेका हुन् । समानान्तर बैठक सुरु भएसँगै विवेकशील साझा पार्टी पुनः फुटको नजिक पुगेको आंकलन गर्न थालिएको छ । अध्यक्ष मिश्रले बिहीबार साढे १२ बजेका लागि बैठक बोलाएका थिए । उनले मंगलबार नै सबै केन्द्रीय सदस्यलाई इमेलमार्फत बैठकको सूचना पठाएका थिए । तर, अध्यक्षले एकतर्फीरूपमा बैठक बोलाएको भन्दै असन्तुष्ट बनेका संयोजक मिलन पाण्डेले त्यही दिन समानान्तर वैठक बोलाएका हुन् ।

विवेकशील साझा पार्टीका संयोजक पाण्डेले भने मिश्रले विधान उल्लंघन गरेको र सच्याउने प्रयास गर्दा पनि अटेर गरेको भन्दै छुट्टै बैठक बोलाइसकेका छन् ।

‘सम्झौतापत्रमा एकताको महाधिवेशन नहुँदासम्म अध्यक्ष र महासचिवले संयुक्तरूपमा बैठक बोलाउने भनिएको थियो,’ पाण्डे पक्षका केन्द्रीय सदस्य हरिश भट्टले भने, ‘तर, उहाँले एकतर्फीरूपमा बैठक बोलाएपछि समस्या आयो । संयोजकले इमेल गरेर वैठक रोक्न आग्रह गरे पनि सुनवाइ भएन ।’

कोरोना महामारीको जोखिमका कारण भन्दै भर्चुअल बैठक आह्वान गरेका पाण्डेले बैठकका लागि ११ बुँदे एजेन्डा तय गरेका छन् । बैठक सञ्चालन कार्यविधि पारित गर्ने, विधान कार्यदलले पेस गरेको पार्टीको विधान मस्यौदामाथि छलफल गरी पारित गर्ने, न्याय तथा सुशासन आयोगको गठन, वैकल्पिक पाठशालाको स्थापनासहितका एजेन्डा बनाएका पाण्डेले पार्टीमा देखिएको वैचारिक विचलन र आगामी कार्यदिशाबारेको छलफललाई मुख्य मुद्दा बनाउन लागेका छन् ।

विवेकशील नेपाली र साझा पार्टी मिलेर विवेकशील साझा पार्टी बनेको हो । तर, विवेकशील साझा पार्टी बनेको केही समयमा फुटेर दुई टुक्रा भएको थियो । फुटपछि साझा पार्टीका केही व्यक्तिले विवेकशील नेपालीका संस्थापक उज्ज्वल थापाको चरित्र हत्या गर्ने प्रयास गरेको विवेकशील नेपाली पक्षका नेताहरू बताउँछन् । बीचमै फुटे पनि शुभेच्छुकहरूबाट तीव्र आलोचना भएपछि दुवै दलका नेताहरूले शुभेच्छुकसँग माफी माग्दै गत वर्ष पुनः एकता गरेका थिए । 
 

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  १ : ३७ बजे