अमेरिकी सहायताको एमसीसी सम्झौता संसदबाट अनुमोदन हुन्छ : डा.महत

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं पूर्व  अर्थमन्त्री रामशरण महतले अमेरिका सहायताको एमसीसी सम्झौता संसदबाट अनुमोदन हुने बताउनुभएको छ । महतले अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी देशको हितमा रहेको दावि गर्दै अनुमोदन हुने बताउनुभयो। उहाँले भन्नुभयो,‘यस्ले देशको आर्थिक विकासमा  सहयोग पुरयाउँछ, एमसीसीलाई व्यक्ति विशेषको सम्बन्धभन्दा पनि राष्ट्र हितको पक्षसँग जोडेर हेर्नुपर्छ।’ काँग्रेस नेतृत्वको संयुक्त सरकारको पालामा भएको सम्झौता अहिले फेरि माओवादी केन्द्र सम्मिलित सरकार रहेकाले सम्झौता अघि बढ्ने महतले विश्वास व्यक्त गर्नुभयो ।उहाँले एमसीसी सम्झौता अनुमोदन नहुँदा अनुदान रकम र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको विश्वसनीयता पनि गुम्दै गएको बताउनुभयो। अमेरिका, चीन र भारतसँगको सम्बन्ध नेपालको हितमा हुनुपर्ने र एमसीसी सम्झौता कुनैपनि हालतमा कार्यान्वयनमा लगिनुपर्ने उहाँको जोड थियो । 

सुशील सुवेदी

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  १ : ०० बजे